श्यामलाल श्रेष्ठ
(२०७३ साल पुषको अन्तिम साता नेपाली काँग्रेसका नेता श्यामलाल श्रेष्ठसँग मैले कुरा गरेको थिएँ । २०१७ साल पुष १ गतेदेखि २०२५ सम्मको नेपाली काँग्रेसको इतिहास कोट्याउने मेरो उद्देश्य थियो । कतिपय कुराको पोयो उहाँले खोल्नु पनि भएको छ । उहाँसँग भएको कुराकानी करीब ७ महिनासम्म क्रमशः तरुण साप्ताहिकमा प्रकाशित भएको छ । त्यसलाई पुस्तकाकार दिने उहाँको र मेरो पनि तिब्र इच्छा थियो । तर आर्थिक अभावका कारण त्यो सम्भव भएन । १४ वर्ष जेलजीवन विताउनु भएका उहाँ बेलाबखत फोनमा सम्पर्क गर्नु हुने श्यामलाल दाइको ८० वर्षको उमेरमा दुःखद् निधन भएको खबर सुनेर म स्तब्ध भएँ । नेपाली काँग्रेसको इतिहास बोक्नु भएका श्यामलाल दाइ हामीबीच रहनु भएन, उहाँले प्रजातान्त्रिक आन्दोलन उठाएको जोखिम इतिहास बनेर बसिरहने छ । उहाँले आप्mनै शब्दमा उल्लेख गर्नु भएको र तरुणमा माघ ४ गते छापिएको पहिलो कुराकानी सान्दर्भिक हुने ठानेर पुनः प्रकाशित गरिएको छ ।)
मेरा जिजुबाजे रामप्रसादलाई जंगबहादुर राणाकी श्रीमती भगाएर ल्याएका कारण फाँसीको सजाय भएको रहेछ । फाँसीबाट बच्न उहाँ भूमिगत भएर बस्नु भएछ । धेरैपछि जंगबहादुर राणा कोलकाता गएको बेलामा उहाँ पनि त्यही गएर जंगबहादुरलाई भेटेर कुरा मिलाउनु भएछ । जंगबहादुर राणाले माफी दिएछन् । मेरा जिजुबाजे रामप्रसादकी छोरीको विवाह राजा पृथ्वी वीरविक्रमसँग भएको रहेछ । त्यो नाताले मेरो बाजेले पनि दरबारमै काम गर्ने मौका पाउनुभयो । म सानो छँदा बज्यैले दरबारमा मलाई पनि लैजानु हुन्थ्यो । बाजेको निधनपछि पनि बज्यैले दरबारबाट भत्ता पाइराख्नुहुन्थ्यो । कुन हिसाबले भत्ता दिइएको थियो ? मलाई थाहा भएन ।
त्रिभुवन राजा थिए । टीका लगाउन पनि गइन्थ्यो । टीका थापेपछि डबल (पैसा)ं राखेर राजाको वरिपरि घुम्नु पथ्र्यो । म त सानो मान्छे भएकाले केही गर्नुपर्दैनथ्यो । राजदरबारमा काम गर्ने भएकाले मेरो बाजे हेमप्रसाद श्रेष्ठ किलागल क्षेत्रमा गन्यमान्य हुनुहुन्थ्यो । मेरा पिताजीको नाम रत्नप्रसाद श्रेष्ठ हो भने आमाको नाम मिश्री श्रेष्ठ । मेरो बुबाका दाजुभाइ धेरै हुनुहुन्थ्यो । मेरो बुबाले पनि दरबारमै काम गर्नुभयो । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि उहाँले छोड्नु भयो । मेरो दाजुले पनि दरबारमै काम पाउनु भएको थियोे । हजुरआमा ज्यादै हक्की र निडर हुनुहुन्थ्यो । उहाँले राजा त्रिभुवनसँग भन्नु भएछ, सरकार मलाई दुःख भयो, मैले नाति पढाउन सकिनँ, जागिर लगाइदिनुप¥यो । त्यही बेला राजा त्रिभुवन भारतमा शरण लिन गए । राजा त्रिभुवन स्वदेश फर्केपछि मेरी हजुरआमालाई सोधेछन्, अहिलेसम्म तिम्रो व्यवस्था भएको छैन ? भनेर । उहाँले छैन भन्नु भएछ । केही दिनपछि आठपहरियाहरू आएर पाँच हजार रुपैयाँ दिएर गएछन् । त्यो बेलाको पाँच हजार भनेको निकै ठूलो रकम हो । दरबारमा हाम्रो घरको राम्रो सम्बन्ध थियो । हाम्रो घरमा नियमित भजन हुन्थ्यो । भजनमा दरबारका मान्छेहरू पनि खुब आउँथे ।
एकजना बुबा जुलुमप्रसाद श्रेष्ठ शान्त शमशेर कहाँ काम गर्नु हुन्थ्यो । शान्तशमशेरले राजा त्रिभुवनकी बहिनी विवाह गरेका थिए । राजा त्रिभुवनले पठाइदिएको त्यो पाँच हजार रुपैयाँ हजुरआमाले सदुपयोग गर्नुभयो । ऋण तिरेर बाँकी बचेको रकमले केही जग्गा पनि किन्नु भएको रहेछ, बचेको पैसा छोराछोरी पढाउन खर्च गर्नु भएछ ।
२००८ सालमा मेरो पिताजी बित्नु भयो । २००९ सालमा मेरो दाजु पनि बित्नुभयो । त्यसबेला कलेरा रोगको निकै ठूलो महामारी फैलिएको थियो । मंगला भाउजूले कलेराविरुद्धको भ्याक्सिन दिने अभियान नै चलाउनु भएको थियो । उहाँ हाम्रो घरमा बरोबर आउनु हुन्थ्यो । यस्तो आपत विपत पर्दा पनि बज्यैले हरेस खानु भएन । ठूलाले कुरा बुझ्छन् सम्झाउन सकिन्छ । सानाले कुरा बुझ्दैनन्, सम्झाउन गाह्रो हुन्छ, यसर्थ धैर्य गर बुहारी भनेर हजुरआमाले मेरी आमालाई पनि सम्झाउनुभयो ।
त्यतिबेला म ५ कक्षामा पढ्थेँ । २००७ सालअघि गणेशमानजीको बसोबास पनि यही किलागलमा थियो । तर उहाँ जेलमा हुनुहुन्थ्यो । नाम मात्रै सुनिन्थ्यो, कसैले हिराकाजी भन्थे कसैले गणेशमान भन्थे, तर देखेको थिइनँ । किनभने उहाँ जेल पर्दा म जन्मेकै थिइनँ । उहाँ १९९७ सालमा जेल पर्नुभयो, म १९९८ सालमा जन्मे । बज्यैसँग गणेशमानजीको घर जान्थें, दिनभरि बसेर आउँथे, सधैं रुवावासी भएको देख्थेँ, तर किन रुवावासी भएको हो बुझ्दैनथेँ । कफर्यु लागिरहन्थ्यो । झ्यालबाट समेत हेर्न पाइन्नथ्यो ।
२००७ सालको क्रान्तिपछि गणेशमानजीलाई मान्छेहरूले काँधमा बोकेर हिराकाजी जिन्दावाद, जिन्दावाद भन्दै सहर घुमाए । त्यसबेला मात्रै मैले पहिलो पटक गणेशमानजीलाई देखेको हुँ । केही महिना किलागलकै घरमा बस्नुभयो । मन्त्री भएपछि ठाउँ नपुगेर उहाँ चाक्सीबारी सर्नुभयो । पहिलेदेखिकै पारिवारिक सम्बन्ध भएको हुनाले हामी बरोबर गणेशमानजी कहाँ गइरहन्थ्यौं ।
म पहिले महाबौद्धतिरकै स्कुलमा पढ्थें । प्रारम्भिक शिक्षा घरमै दाजु रामलालबाट लिएँ । पछि दरबार हाइस्कुलमा पढेँ । एक वर्षको फरकमा बुबा र दाजु बितेपछि शिक्षामा मैले राम्रोसँग ध्यान दिन सकिनँ । पढाइ छोडेर जुलुसतिर लाग्न थालेँ । नेपाली कांग्रेसको जुलुस भयो भने गइहाल्थेँ । नेपाली कांग्रेसको जुलुस भनेकै गणेशमानजीको जुलुस हो भन्ने मलाई लाग्थ्यो । घरमा पनि मलाई मार्गदर्शन गर्ने कोही भएन । एक हिसाबले छोडुवा जस्तै भएँ म । २०१४ सालको भद्र अवज्ञा आन्दोलन हुँदा बिहानै उठेर गणेशमानजीको निवास चाक्सीबारी जान्थें, त्यहीँ भात खाएर फूलमाला लगाएर धर्नामा जान्थें । त्यसबेला अहिले जस्तो सरकारी कार्यालय धेरै थिएनन् । मुख्य रूपमा तीनवटा थिए । रत्नपार्कमा अहिले प्रहरीको कार्यालय राखिएको ठाउँमा सर्वोच्च अदालत थियो । अर्को चारखाल अड्डा थियो, अर्को सिंहदरबार थियो ।
धर्ना दिन जाने मान्छेहरू थुप्रै हुन्थे त्यो बेलामा । २०४२ सालको सत्याग्रह र २०१४ सालको भद्र अवज्ञा आन्दोलन त्यही फरक थियो । २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा जेलमा लैजाउ भन्दा पनि नलाने अवस्था थियो । टियर ग्याँस, पानीको फोहोरा छाडेर लखेट्ने गरिन्थ्यो । थानकोट, फर्पिङ, दक्षिणकालीमा लगेर छोडिन्थ्यो । राति हिँडेर आउनुपथ्र्यो । हामीलाई जहाँबाट पक्रेर ल्याएको हो, त्यहीँ छोड भन्दै कसैकसले जबर्जस्ती पनि गर्थे । यस्ता साथीहरूलाई नख्खु जेलमा पनि लगेर राखिन्थ्यो ।
त्यतिबेला भद्रकालीको अगाडि ठूलो गेट थियो । त्यही गेटमा हामी सुत्न गएका थियौं, पानीको फोहोराले हामीलाई हान्थ्यौं । हामी दक्षिण ढोकामा बस्न गयौं । पुलिसले समातेर ट्रकमा राख्यो । थापाथलीनिर अहिले धान गोदाम रहेको त्यो ठाउँमा मुनलाइट सिनेमा हल थियो । त्यहाँ ट्रक दुर्घटना भयो । त्यसमा मंगलमान घाइते भए । मंगलमान भनेको २०१५ सालको आमनिर्वाचनमा गणेशमानजीसँग चुनाव लड्ने मान्छे हो । ब्याक टु मंगलमान भन्ने उखान छ नि अहिले, त्यही साथीको नामबाट जन्मेको उखान हो त्यो । घाइते मंगलमानलाई वीर अस्पताल लैजाँदै गर्दा प्रहरी ज्यादती मुर्दावाद भनेर हामीले नारा लगायौं । अहिले भद्रकालीबाट माइतीघर मण्डलासम्म नयाँ सडक खोलिएको छ, त्यो ठाउँमा त्यतिबेला गोरेटोबाटो मात्र थियो । बीपी र गणेशमानजी थापाथलीबाट त्यही बाटो हुँदै घाइते साथीहरूलाई भेट्न वीर अस्पताल आउनुभयो ।
भद्र अवज्ञा आन्दोलन सफल भएपछि २०१५ सालमा आमनिर्वाचन भयो । आमनिर्वाचनमा गणेशमानजीलाई जिताउन म खुब खटेँ । त्यो बेला म प्रचार कमिटीमा त थिइनँ । त्यो बेलाको चुनाव प्रचार प्रसार शैली बडो गज्जबको हुन्थ्यो । प्रायः होटेलवालाहरू गणेशमानजीका नातेदार थिए । बडाकाजी रत्नमानकै सन्तान भएकाले त्यो स्वभाविक पनि थियो । उहाँहरुसँग पैसा पनि प्रशस्त थियो । पोष्टर माइकहरूको व्यवस्था उनीहरूले नै गरे । पोष्टर छाप्ने प्रेस प्रशस्त थिएनन् । हातैले पनि लेखिन्थ्यो ।
त्योेबेला ठूला सभाभन्दा पनि गणेशमानजीले कोणसभा धेरै ठाउँमा राख्नुहुन्थ्योे । कोणसभामा दुई–तीन सय मान्छेको जमघट हुन्थ्यो । गणेशमानजीका प्रतिस्पर्धी पुष्पलालजी डा.जिवागोको किताब लिएर हिँड्नुहुन्थ्यो । उहाँ भाषण गर्दा रुसको खुब तारिफ गर्नुहुन्थ्यो । त्योबेला विजयबहादुर मल्ल (गोविन्द गोठाले) हरू राजनीतिमा सक्रिय थिए ।
(परशु घिमिरेसँगको कुराकारीमा आधारित )