अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका ६० देशमा पुगेको दाबी गरेका छन् ।
कोरोना भाइरसको खोप, कुन देशमा कुन खोप ?
वर्षेनी ३० लाख मानिसको मृत्यु रोक्न खोप
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम सुरु भएको छ । विश्वभरका ९ करोड ९३ लाख २१ भन्दा बढी कोरोना भाइरसका संक्रमित छन् भने कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २१ लाख ३० हजार नाघिसकेको छ । त्यसमा पनि सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ अमेरिका । त्यहाँ ४ लाख २७ हजार ६३५ भन्दा बढी मान्छे संक्रमणबाट मरेका छन् भने कोरोना भाइरसका संक्रमित २ करोड ५५ लाखभन्दा बढी छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले कोरोनाको नयाँ स्वरूपको भाइरस विश्वका ६० देशमा पुगेको दाबी गरेका छन् । । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले गत बुधबार दिएको जानकारीअनुसार सो भाइरस यो सातामा मात्रै विश्वका १० देशमा पुगेको छ । संगठनले महामारीको नयाँ स्वरूप दिन प्रतिदिन नयाँ–नयाँ देशमा पुगिरहेको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार २० वटा रोगहरूबाट जोगाउन र बर्सेनि २० देखि ३० लाख मानिसको मृत्यु रोक्न खोपलाई आधुनिक विश्वको एउटा महान् उपलब्धिको रूपमा लिइएको छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीले खोप निकै शक्तिशाली हुने बताएको छ । किनकि त्यसले बिरामी निको पार्न र उपचार गर्न प्रयोग हुने अधिकांश औषधिहरूभन्दा खोपले धेरै जीवन बचाउँछ । प्रारम्भिक चरणमा १० औँ शताब्दीमा चिनियाँले खोपको अवधारणा पत्ता लगाएका थिए । तर त्यो सन् १७९६ मा एडवार्ड जेनेरले तुलनात्मक रूपमा सामान्य काउपोक्सको सङ्क्रमणले बिफरबाट जोगाउने कुराको भेउ नपाउँदासम्म सम्भव भएन ।
६५ देखि ७० प्रतिशत मानिसहरूलाई खोपको खाँचो
डब्ल्यूएचओले ६५ देखि ७० प्रतिशत मानिसहरूलाई खोपको खाँचो पर्ने अनुमान गरेको छ । जसको अर्थ धेरै मानिसलाई त्यसको निम्ति प्रेरित गर्ने देखिन्छ । केही मानिसले कोभिड खोपको उत्पादनको गतिलाई लिएर चिन्ता व्यक्त गरेको पाइन्छ । वैज्ञानिकहरूले खोपको परीक्षण र योजनामा वर्षौँ बिताउँछन् र विश्वव्यापी स्वार्थको निम्ति समाधान खोज्न कामलाई गति दिएका छन् । त्यसैका निम्ति डब्ल्यूएचओले वैज्ञानिक, व्यापारी र स्वास्थ्य सङ्गठनहरूसँग संयोजन गरिरहेको छ । संक्षेपमा अर्बौँ मानिसलाई खोप दिँदा कोभिड–१९ को सङ्क्रमण रोक्छ र प्रतिरोध क्षमता विकास भएको अवस्था अर्थात् हर्ड इम्यूनिटीको बाटो खुला गर्छ । त्यसरी खोप दिइएपछि हामी छिट्टै सामान्य जनजीवनमा फर्किन सक्छौँ ।
शरीरमा एन्टीबडी उत्पादन
ब्याक्टेरिया, भाइरस, प्यारासाइट वा फङ्गसजस्ता रोगका कारक शरीरभित्र प्रवेश गरेपछि शरीरले त्योसँग लड्न एन्टीबडी उत्पादन गर्न थाल्छ । परम्परागत खोपले दैनिक क्रियाकलापमा किटाणुहरूसँग लड्नुअघि एन्टीजेनको कमजोर वा निष्क्रिय अंश मानिसको शरीरमा उत्पादन गरेर सहयोग गर्छ । त्यसले प्रतिरक्षा प्रणालीलाई वास्तविक किटाणुसँग लडेको जस्तो कार्य गर्न प्रेरित गर्छ । तर कतिपय कोरोनाभाइरस खोप बनाउन नयाँ तरिका अपनाइएका छन् । कमजोर वा निष्क्रिय एन्टीजेनलाई प्रयोग गर्नुको बदला तीनले एन्टीबडी बनाउन आवश्यक पर्ने प्रतिरोधी क्षमता सक्रिय तुल्याउन कोभिड–१९ को भाइरसको सतहमा भेटिने प्रोटिन तीव्र वृद्धि कसरी गर्ने भन्ने सिकाउँछ ।
कुन देशमा कुन भ्याक्सिन ?
यस्तै, अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले नेपाललाई अनुदानमा दिएको छ । उक्त खोप गत बिहीबार काठमाडौं आइपुगेको थियो । नेपालमा खोप लगाउन सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जोखिमयुक्त क्षेत्रमा काम गर्ने चार लाख ३० हजार कर्मचारीको सूची तयार गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मीलाई राखिएको छ । उनीहरूको संख्या दुई लाख २५ हजार सात सय ८२ छ ।
ब्राजिल सरकारले अक्सफोर्ड र सिनोभ्याक खोपलाई अनुमति दिने सङ्केत दिएको छ । बेइजिङस्थित सिनोभ्याकले विकास गरेको कोरोनाभ्याक खोप पनि चीन, सिंगापुर, मलेशिया, इन्डोनेसिया र फिलिपिन्समा लगाइँदै छ र त्यसमा मृत भाइरसको अंशको प्रयोगको परम्परागत विधि अपनाइएको छ । टर्की र इन्डोनेसियामा गरिएको पछिल्लो परीक्षणबाट प्राप्त अन्तरिम तथ्याङ्कलाई लिएर त्यसको वास्तविक प्रभावकारितामाथि प्रश्न उठाइएको वीवीसीले उल्लेख गरेको छ । ब्रजिलमा अनुसन्धानकर्ताहरूले ५०.४ प्रतिशत मात्र प्रभावकारी देखिएको बताएका छन् । भारतमा अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर एक्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड र स्थानीय भारत बायोटेकको कोभ्याक्सिन खोप लगाउन थालिएको छ । रुसले भाइरसको परिवर्तित संस्करण प्रयोग गरिएको आफ्नै खोप स्पुतनिक भी प्रयोग गरिरहेको छ ।
यी खोपहरु बजारमा पठाउनुअघि खोपहरूको व्यापक रूपमा परीक्षण गरिन्छ । मानिसहरूमा क्लिनिकल परीक्षण गर्नुअघि त्यसको ल्याब र जनावरमा परीक्षण गरिन्छ । जोखिमहरू पनि हुन्छन् तर सबै औषधिहरू जस्तै जोखिमको तुलनामा खोपको लाभको निकै धेरै हुन्छ । उदाहरणका लागि बाल्यकालको रोग करिब एक पुस्ता अघिसम्म आम रूपमा थियो जुन खोपकै कारण निकै कम हुँदै गएको हो ।