श्रीस्वस्थानीको ब्रतकथा आज समापन हुँदै

श्रीस्वस्थानीको ब्रतकथा आज समापन हुँदै तरुण खबर १५ फाल्गुन २०७७, शनिबार १३:३२
श्रीस्वस्थानीको ब्रतकथा आज समापन हुँदै

काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज शनिबार समापन हुँदैछ । पौष शुक्ल पूर्णिमादेखि महिलाहरुले एक महिनासम्म गर्ने कठिन ब्रत हो श्रीस्वस्थानी व्रतकथा । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी देवीको व्रत माघ १५ गते देखि सुरु भएको थियो । आज फागुन १५ गते साँखुको सालिनदीमा समापन गरिदै छ । यस व्रतकथाका आराध्यदेबल शिव र पार्वती हुन् । पौराणिक ग्रन्थहरुका अनुसार हिमालयपुत्री पार्वतीको पवित्र भूमि नेपाल हो । भगवान शिवकी शक्तिस्वरुपा माता पार्वतीले बाल्यकालदेखि नै भागवान शिवलाई वरका रुपमा प्राप्त गर्ने मनोकांक्षा सिद्ध गर्ने आकांक्षा राखेकी थिइन । यही मनोकांक्षा सिद्ध गर्न माता भगवतीले गरेको कठिन ब्रत नै श्रीस्वस्थानी ब्रत हो ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत गर्ने परम्परा छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रतकथा सुन्ने सुनाउने परम्परा छ ।

महिनाभर शालीनदीको कुण्डमा नुहाई धुवाइ गरी सन्तोषी माताको दर्शन गर्दा मनले चिताएको पूरा हुने विश्वासले भक्तालुहरु शालीनदी आई पुग्ने चलन अहिलेसम्म चलिरहेको छ । पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसी महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको भन्ने प्रसंग स्वस्थानी कथामा छ । कथामा एक समय सतीदेवीका पिता दक्ष प्रजापतिले ब्रम्हा, विष्णु, इन्द्रादी तेत्तिसकोटी देवताहरुलाई निम्ता दिए । तर आफ्नै छोरी सतिदेवी र शिवजीलाई निम्तो दिएनन् भनिएको छ ।

व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने परम्परा छ ।