पोखरी खन्दा सिम्रौनगढमा विष्णुको मूर्ति फेला

पोखरी खन्दा सिम्रौनगढमा विष्णुको मूर्ति फेला तरुण खबर १६ फाल्गुन २०७७, आईतवार १४:३५
पोखरी खन्दा सिम्रौनगढमा विष्णुको मूर्ति फेला

बारा, सिम्रौनढ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नमबर ४ हरिहरपुरमा कुसुन्दर कुसवाहको ४ कठ्ठा जग्गामा पोखरी खन्ने क्रममा भगवान विष्णुको ६ फिट लामो कालो ढुंगाको मूर्ति फेला परेको छ । मूर्ति फागुन १५ गते शनिबार फेला परेको हो । मूर्ति हेर्न गाउँलेहरुको भीड लागेको थियो । सिम्रौनगढ नगरपालिकाको कोलस्टोरभन्दा पश्चिम नहरभन्दा दक्षिण रहेको जग्गामा पाइएको हो । पोखरी खन्ने ठेकेदार अजित कुमार महतो थिए । दुई वर्षअघि पनि विष्णुको ६ फिटकै मूर्ति पाइएको थियो ।

आजभन्दा करिब एक हजार वर्षअघि दक्षिण एसियामा धेरै राज्यहरू अस्तित्वमा थिए । जसमध्ये ज्यादै सम्पन्न र वैभवशाली राज्यहरू करिब एक दर्जन थिए । तिनै एक दर्जन वैभावशाली राज्यहरूमध्ये एक राज्यको राजधानी सिम्रौनगढमा थियो भन्ने कुरा पुरतात्वविद्हरूले प्रमाणित गरिसकेका छन् । तिरुहत राज्यको राजधानी सिम्रौनगढ राज्यको भूगोल कति थियो (?) भन्ने कुरा प्रमाणित भइसकेको छैन, तर राजधानी सिम्रौनगढ भने करिब ५० वर्गकिलोमटिर क्षेत्रफलमा फैलिएको र राजदरबार करिब चार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको पुरातत्वविद्हरूको भनाइ छ ।

इतिहासमा उल्लेख भएअनुसार १३औं शताब्दीमा मुस्लिम साम्राज्यको आक्रमणपछि सिम्रौनगढ राज्य समाप्त भयो । राजधानी तथा दरबारलाई मुसलमानी सेनाहरूले आगो लगाएर ध्वस्त बनाए । त्यहाँको राजपरिवार  बचेखुचेको सेना, सम्पत्ति तथा सुसारेसहित शरणका लागि नेपाल प्रवेश ग-यो । त्यतिबेला नेपालको राजधानी भक्तपुर थियो । भक्तपुरका राजाकी एक्लीछोरी राजल्यदेवीको विवाह सिम्रौनगढका राजकुमार जगतसिंह देवसँग भयो । त्यसपछि गोरखाका राजा पृथ्वीनारयण शाहले नेपाल एकीकरण नगर्दासम्म सिम्रौनगढको राजवंशले मल्ल राजाका रूपमा नेपालमा निरन्तरता पायो । सिम्रौनगढ राज्यकै कला, सीप र शैलीबाट नेपाल उपत्यका समृद्ध भयो । तर नेपाल उपत्यकाको सभ्यताको जननी सिम्रौनगढ भने सदाका लागि समाप्त भयो ।

नेपालमा प्रशासनिक संरचना निर्माणका क्रममा ऐतिहासिक स्थलहरूको पहिचान दिने प्रयास नभएको होइन । उदाहरणका लागि महाभारतकालीन विराट राजाको नामबाट विराटनगर, रामायणकालनी जनक सभ्यताको नामबाट जनकपुर अञ्चल, भगवान गौतमबुद्ध जन्मस्थलको नामबाट लुम्बिनी अञ्चल, प्राचीन कपिलवस्तु राज्यको नामबाट कपिलवस्तु, थारु राजा दंगीशरणको नामबाट दाङ जिल्ला नामाकरण भयो । २२ से २४ से राज्यका नामबाट पनि थुप्रै जिल्लाको नामाकरण भयो ।

तर सिम्रौनगढलाई  कसैले सम्झेनन् । अञ्चल र जिल्लाको मात्रै होइन, गाउँ पञ्चायतको नामाकरण गर्दासमेत सिम्रौनगढलाई विगतमा कसैले सम्झेन । तर नयाँ संविधान निर्माणपछि स्थानीय तहको पुनर्संरचना गर्ने क्रममा भने ऐतिहासिक महत्वलाई ध्यान दिँदै सिम्रौनगढ नगरपालिका कायम गरिएको छ । यो ऐतिहासिक राज्य सिम्रौनगढकै नामबाट प्रदेश २ को नामाकरण हुनुपर्ने आवाज अहिले पनि उठिरहेको छ ।

– संजय यादव