नेकपा एमाले वारपारको लडायीमा लागेपछि नेपालको राजनीति अन्यौलग्रस्त बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एउटा समूहको नेतृत्व गरेका छन् भने अर्को समूहको नेतृत्व माधवकुमार नेपाल र झलनाथ खनालले गरेका छन् । यतिखेर राष्ट्रिय कार्यकर्ता भेला, संसदीय दलको बैठक र प्रधानमन्त्रीले आयोजना गरेको चीयापान कार्यक्रम बहिस्कार सम्बन्धी विवाद चुलिएको छ । राष्ट्रिय कार्यकर्ता भेला हिजो बुधबारदेखि शुरु भैसकेको छ । भेला बिहीबार पनि चल्ने भएकैले दलका नेता ओलीले आज बिहीबार संसदीय दलको बैठक ११ बजेका लागि बोलाएका छन् ।
खनाल–नेपाल पक्षले पुराना वामपन्थी नेताहरुलाई समेत मञ्चमा उभ्याइएको भेलामा सहभागीहरुले ओली स्वेच्छचारी, गुटवादी र अंहकारी भएको निष्कर्ष निकालेका छन् । त्यसमा सबैभन्दा धेरै आक्रमक माधवकुमार नेपाल नै देखिएका छन् । अर्का नेता झलनाथ खनाल पनि ओलीविरुद्ध खनिएका थिए । तर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले कारबाही गर्ने हिम्मत देखाएका छैनन्, प्रकृय शुरु गरिसकेका छन् । जवकि ओलीले खनाल–नेपाल समूहलाई गुटबन्दी छाड्न वा भिन्दै पार्टी बनाउनसमेत चेतावनी दिएका थिए ।
यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा आफ्नो आधिकारिकताको दाबी पेस गर्दै अध्यक्ष ऋषिराम कट्टेलले दिएको निवेदनमाथि फैसला गर्दै सर्वोच्चले निवेदकको हक कायम गरिदिएको थियो । कतिपयले त निर्वाचन आयोगले गरेको त्रुटिलाई सच्याउने अवसर र जिम्मेवारी अदालतसामु थियो, तर अदालतको फैसलाले नाम सच्याउने होइन, पूरै प्रक्रियालाई नै खारेज गरेको बताएका छन् । यो फैसलामा कानुनभन्दा पनि राजनीति हाबी भएको बताइन्छ ।
यो विषयले नेपालको राजनीतिक यात्राको बाटो नै परिवर्तन गरिदिएको थियो । यससँगै ०७५ जेठ ३ गते औपचारिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच भएको एकीकरण दर्ता खारेज भएको छ । अब संसदमा माओवादी केन्द्र र एमालेका रूपमा दुई अलग–अलग राजनीतिक दल पूर्ववत् रूपमा अस्तित्वमा आएका छन्, दुबै दल क्रियाशील भैसकेका छन् । सर्वोच्च अदालतको फैसलाले दुई पार्टी एमाले र माओवादी केन्द्र पुरानै रुपमा आएका छन् ।
सबैभन्दा जटिल समश्या एमाले पार्टीभित्र देखिएको छ । फागुन २८ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटी विस्तार, विधान संशोधन र महाधिवेशन मिति तोकेपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह राजनीतिक, वैचारिक र सांगठनिक प्रतिवादमा उत्रिएको छ । त्यसपछि दुवै पक्ष लकच हुनुको सट्टा आ–आफ्नो गुटगत भेलाको तयारीमा लागेपछि एमालेको एकीकृत भविष्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको हो । मंगलबार त खनाल–नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीले आयोजना गरेको चियापान बहिस्कार गरेर बढ्दो दूरीको संकेत मात्र दिएनन्, राष्ट्रिय कार्यकर्ता भेला नै चलिरहेको छ ।
सर्वोच्च अदालतले दिएको आदेशले नेकपा एमालेलाई ब्युँतिएपछि माधव नेपाल र झलनाथ खनालसहितका नेताहरू पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्य छोड्न बाध्य भएका थिए । एमाले र माओवादी केन्द्र अलगअलग पार्टीका रूपमा कायमा भएपछि दुई पक्ष (प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल) बीचको सम्बन्धमा कुनै सुधार आएको छैन । यसर्थ, जुन आशाका साथ जनताले उक्त दल या मोर्चालाई सहज बहुमत दिएका थिए, त्यसको सम्मान गर्न नजान्दा उनीहरूले जनतामा निराशाको भाव सिर्जना गरिदिएका छन् ।
यस्तै, अस्ती मंगलबार साँझ नै एमाले महासचिव ईश्वर पोखरेलले पनि एक विज्ञप्ति जारी गरेर ४ र ५ गतेको भेला नगर्न भनेका थिए । र, भेलामा सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिएका थिए । ‘अनाधिकृत गुटगत भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन एमाले सबै नेता, कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ । अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा छ । यो एक किसिमको खनाल–नेपाल पक्षलाई धम्की नै हो ।
यसअघि गत कात्तिक २८ मा नेकपामा पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यले ओलीविरुद्ध विभिन्न गम्भीर आरोपसहित १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । त्यहाँबाट सुरु भएको विवाद संसद् विघटन र एमाले विभाजनसम्म पुगेको छ ।