सितार लामाको नाच र राजा महेन्द्रको स्कूल बक्सिस्

सितार लामाको नाच र राजा महेन्द्रको स्कूल बक्सिस् तरुण खबर २४ चैत्र २०७७, मंगलवार १२:०४
सितार लामाको नाच र राजा महेन्द्रको स्कूल बक्सिस्

बीपी कोइरालाको नेतृत्वमा सरकार बनेको छ–सात महिना मात्र के बितेको थियो, ०१६ मंसिर २६ गतेदेखि राजा महेन्द्रले पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गर्ने तय भयो । त्यस क्रममा राजनीतिक पार्टीहरूले पनि आफ्नो वर्चस्व देखाउन अनेक प्रयास गरे । भ्रमणस्थलहरूमा आफ्नो पहिचान खुल्ने झन्डा र ब्यानरका साथ कोभन्दा को कमको शैलीमा प्रजापरिषददेखि नेपाली कांग्रेसका कार्यकर्तासम्मको तँछाडमछाड नै चलेको थियो । राजा महेन्द्र पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाको भ्रमण गरी २०१६ माघ १७ गते बेलुकी राजधानी फर्किए ।०१६ सालतिर राजा महेन्द्रको पश्चिमाञ्चल भ्रमण हुँदा हेलम्बु गाउँपालिकाका सितार लामा १४–१५ वर्षका थिए ।

अहिले उनी ७९ वर्षका भए । उनी राजा महेन्द्रसँगै एक महिने पश्चिमाञ्चल भ्रमणमा थिए । भ्रमण दलका हामी नुवाकोटको समुन्द्रटार र धादिङको ज्याम्रुङ हुँदै गएका थियांै । कसैले घोडा चढेका थिए, हामी केटाकेटी चाहिं हिड्दै गएका थियौं । गाउँमै हुर्किएका सितार लामाको नाचले राजा महेन्द्रलाई मोहित बनायो । नृत्यमा नाम कमाइसकेका उनले बन्दीपुरमा राजाको अगाडि नृत्य देखाउने अवसर पाउँदा उनी दंग परेका थिए, औधी खुशी । बुढेसकालमा पनि रातोपीरो र उज्यालो अनुहार भएका सितार लामा यो उमेरमा पनि दप्ची नाच्छन्, लोसारमा सिमेभूमेलाई मन्सिएपछि गाइने गीत पनि लय हालेर गाउँछन् । ह्योल्मो भाषामा लोसारमा नाचिने नाचलाई दप्ची भनिन्छ । त्यसबेला तनहुँको सदरमुकाम बन्दीपुरमा थियो, दमौली त धेरैपछि सारिएको हो ।

कुनैबेला हेलम्बु गाउँ (सायद यसअघि तिम्बुघ्याङयुल पञ्चायत थियो) पञ्चायतका उपप्रधानपञ्च समेत भएका सितार लामाको बन्दीपुरको नाचबाट प्रभावित राजा महेन्द्रले प्रधानसेनापति तोरण शंशेर राणालाई सोध्न भनेछन्– के चाहन्छ यो केटाले ? सितार लामाकी दिदी तोरण शंशेरको घरमा काम गर्ने भएकाले लामाको सम्बन्ध तोरण शंशेरसँग राम्रो मात्र होइन, धेरै राम्रो थियो । काठमाडौं जादा तोरण शंशेरकै घरमा बस्थे, सितार लामा । कहिले त एक महिना नै बस्थें । तोरणले नै सिकाए– राजासँग स्कूल माग्नु है । लामाले त्यसै भने राजा महेन्द्रसँग । उनलाई अहिले पनि सम्झना छ– त्यो चिठी पदमबहादुर खत्रीले टाइप गरेका हुन् । उनीसँग त्यो चिठी अझै सुरक्षित नै छ, सीसाको फ्रेम हालेर काठमाडौंको घरको भित्तामा झुण्ड्याएका छन् उनले ।

तर उनी हेलम्बु गाउँपालिकाको वडा नम्बर १ मै बस्छन् । किन भने सितार लामाका जजमान धेरै छन् ।त्यसबेला राजा महेन्द्रको भ्रमण टोलीमा उनी पनि थिए । टाइप राइटर बोकाएर लगिन्थ्यो । केही महिनापछि शिक्षा मन्त्रालयले स्कूल स्वीकृति भएको चिठी दियो । म काठमाडौंमै थिएँ, उबेला काठमाडौंबाट हेलम्बु आउँन दुई दिन लाग्थ्यो । अहिले त बढीमा तीन घण्टामै पुगिन्छ । काठमाडौंबाट सुन्दरीजल, चीसापानी, पाटीभञ्ज्याङ हुँदै हिडेर हेलम्बु आउँनु पथ्र्यो सितार लामाले  बुढ्यौंली अनुभव सुनाए । हिडेर आउँदा चीसापानीमा एक जना नयाँ मान्छे भेटियो । उसैले बोलायो– तपाईहरु कता पुग्ने हो ? उसलाई जवाफ फर्काउनु भन्दाअघि नै हामीले पनि सोध्यौं– तपाई कता पुग्ने हो त ? उनले जवाफ दिए– हेलम्बु नुर्वु गाउँका एक जनाले राजा (महेन्द्र) सँग स्कूल पाउँ भनी विन्ती हालेका रहेछन् । स्कूल स्वीकृति भएको पत्रसँगै लिएर आएको छु, म त्यही (नुर्वु) गाउँमा पढाउने शिक्षक हुँ । त्यतै जान लागेको हुँ । उनको नाम श्याम न्यौपाने हो । त्यतिबेला उनले मासिक १५ रुपैयाँ पाउथें । सितार लामाले भने– नुर्वु गाउँमा विद्यार्थीको अभाव भयो, केही वर्षपछि स्कूल तार्केघ्याङमा गयो ।

लामाले सुनाउँदै भने– राजासँग विन्तीपत्र हाल्ने मै हुँ भन्ने कुरा भएन, पत्याउनु पनि कसरी ? म १५–१६ वर्षको अनपढ ठिटो, अनि हामी सँगसँगै आयौं । शिक्षक न्यौपानेले हेलम्बु आउने बाटो नदेखेकाले हाम्रो साथ लागेर उनी हेलम्बु आएका हुन् अँ, म त तोरण शंशेर जंगबहादुर राणासँग दिल्ली भ्रमणमा पनि गएको थिएँ नि बाबु । सितार लामाले सम्झेझै गर्दै उनले भने– हैदरावाद हाउसमा दुई रात बसेर प्रधानसेनापति तोरण शंशेर अमृतशहर जानु भयो, हामी भने हैदरावाद हाउसमै बस्यौं । केही दिनपछि उहाँ हैदरावाद हाउसमै फर्कनु भयो र हामी देहरादुन गयौं, त्यहाँ गोरखाली फौजले प्रधानसेनापति तोरण शंशेरलाई सलामी दियो ।तोरणशंशेर बढो महत्वकांक्षी थिए । उनी आफ्ना पूर्ववर्ती झैं श्रीपेच लगाउन चाहन्थे तर मातृकाप्रसाद कोइरालाले दिएनन् ।

राजा त्रिभुवनले उनको लागि विशेष टोपीको व्यवस्था गरेका थिए तर असन्तुष्ट रहेका तोरणले टोपी लगाउन मानेनन् । आफ्नो मुडुलो टाउको नै लिएर हिड्ने गर्थे उनी । तोरण शंशेर राणा २०१३ साल जेष्ठ ७ गतेदेखि २०१७ जेष्ठ ७ गतेसम्म प्रधानसेनापति भएका थिए । तोरण शम्शेर कान्ति राज पथ निर्माण समितिका अध्यक्ष पनि थिए । कान्ति राजपथको उद्घाटन समारोहमा उनले राजा महेन्द्रबाट ॐ राम पट्ट तक्मा पाएका थिए । उनी पूर्व पश्चिम राजमार्ग निर्माण समितिको समेत सदस्य थिए ।

प्रस्तुतीः परशु घिमिरे,तस्बिरः सञ्जिव अधिकारी