काठमाडौं । सम्पत्ति तथा दायित्व व्यवस्थापनमा ध्यान नदिँदा एनआइसी एशिया, मेगा, सानिमा, बैंक अफ काठमाण्डू र प्राइम बैंक थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । यी बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसीयो) सीमामा पुगेका कारण थप कर्जा दिन नसक्ने भएका हुन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सीसीडी रेसियोमा सहज गर्दै ८० प्रतिशतबाट सीमा बढाएर ८५ तोकेको छ । यसको अर्थ बैंकले सय रुपैयाँ निक्षेप संकलन गर्दा ८५ रुपैयाँसम्म कर्जा लगानी गर्न पाउँछन् ।
मौद्रिक नीतिले सीमा बढाएर ८० प्रतिशतमाथि सीसीडी कट्नु भनेको बैंकहरुले स्रोत संकलन नगरी थप कर्जा दिन नसक्ने अवस्थामा पुग्नु हो । बैंकर्स संघद्वारा प्राप्त तथ्यांक हेर्दा गत चैत २० गतेसम्म एनआइसी एशियाले ८४ दशमलब २१ प्रतिशत, मेगाले ८३ दशमलब ०६ प्रतिशत, मेगाले ८३ दशमलब ०६ प्रतिशत, सानिमाले ८२ दशमलब ९१ प्रतिशत, बैंक अफ काठमाण्डूले ८२ दशमलब ९१ प्रतिशत र प्राइम ८२ दशमलब ०१ प्रतिशत सीसीडी कायम गरी कारोबार गरिरहेका पाइन्छ ।
सो अवधिमा एनआइसी एशिया बैंकले २ अर्ब ८४ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ खर्ब ५६ अर्ब ८२ रुपैयाँ कर्जा लगानी गरी सकेको छ । राष्ट्र बैंकले तोकेको सीसीडी गणाना विधिअनुसार बैंकको सीसीडी अनुपात ० दशमलब ०१ प्रतिशतमात्र सहजतामा छ । अर्थात् बैंकले संकलन गर्ने निक्षेपको ० दशमलब ०१ प्रतिशतमात्र रकम कर्जा लगानी गर्न पाउँछ । यस्तै, मेगा बैंकले गत चैत २० गते १ खर्ब ४० अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३२ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा बैंकको सीसीडी रेसीयो ८३ दशमलब ०६ प्रतिशत कायम छ । राष्ट्र बैंकको सीसीडी गणना विधिअनुसार बैंकले अब ४ अर्ब ३ करोड रुपैयाँमात्र थप नयाँ कर्जा प्रवाह गर्न सक्ने अवस्था छ । यसैगरी, सानिमा बैंकले गत चैत २० गतेसम्म १ खर्ब २२ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको सीसीडी रेसीयो ८२.९१ प्रतिशत छ । राष्ट्र बैंकको सीसीडी गणना विधिअनुसार बैंकले २ अर्ब ५५ करोड रुपैयाँसम्म मात्र थप कर्जा दिनसक्ने अवस्था देखिन्छ ।
बैंक अफ काठमाण्डूले गत चैत २० गते ९६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकको सीसीडी रेसीयो ८२.२६ प्रतिशत छ । सीसीडी गणाना विधि अनुसार बैंकले अब ४ अर्ब ६४ करोड रुपैयाँसम्म मात्र थप कर्जा दिन सक्ने अवस्था देखिन्छ । यस्तै, सो अवधिमा प्राइम बैंकले सीसीडी रेसीयो ८२.०१ प्रतिशत कायम गरी कारोबार गरी रहेको छ । गत चैत २० गतेसम्म बैंकले १ खर्ब ३९ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३१ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सीसीडी गणाना विधि अनुसार अब बैंकले ६२ करोड रुपैयाँसम्म मात्र कर्जा प्रवाह गर्न सक्ने अवस्था देखिन्छ ।