कुन समूदायले कसरी मनाउँछन् नयाँ वर्ष ?
काठमाडौं । प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भलाई नयाँ वर्ष भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन नयाँ वर्ष मनाइन्छ भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । विक्रम सम्वत् पात्रो अनुसार सौर्यमानक हिसाबले बैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो । यो पात्रो नेपाल, भारत जस्ता देशहरूमा चलनचल्तीमा रहेको छ ।
यो नेपालमा औपचारिक कामकाजको पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयांकनमा आधारित सौर्य पात्रो हो । यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रो अनुसार वर्षको आरम्भ नेपालमा बैशाख महिनाको पहिलो दिनबाट हुन्छ भने भारतमा चैत्र महिनाको पहिलो दिन । विक्रम सम्वत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्वत्लाई सौर्य पात्रोमा आधारित पात्रो भनिएको हो । यस सम्वत् सूर्यसँग सम्बन्धित भएकाले यस पात्रोमा सूर्य ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । राजा विक्रमादित्यले आरम्भ गरेको विक्रम सम्वतको नेपालमा आधिकारिक रूपमा चन्द्र शमशेरको कार्यकालदेखि प्रचलनमा आएको हो ।
नेपाल सम्वत्को प्रारम्भ
नेपाल सम्बतको आरम्भ शंखधर साख्वाले गरेका थिए । नेपाल सम्बत विसं ९३६ र ईसं २० अक्टोबर ८७९ का दिन भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरूमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो । यो सम्बतको चन्द्रमासमा आधारित पात्र अनुसार पहिलो दिन म्ह पूजा कार्तिक शुक्ल पक्ष प्रतिपदा (कछलाथ्व पारु)को दिनमा हुन्छ । सौर्यमासमा आधारित पात्र अनुसार पहिलो दिन कछला १ (अक्टोबर २०) को दिनमा हुन्छ । यस दिन विशेषतः नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रूपमा मनाउने गर्दछन् ।
ल्होसार शुरुवात
ल्होसार तामाङ, शेर्पा, गुरुङ, थकाली आदि जातीले नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ’ल्होछार’ शब्दमा ’ल्हो’ को अर्थ वर्ष वा साल हुन्छ भने ’छार’ वा ’सार’को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ’नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले यस्तो ’ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तो ः मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहो¥याएर वर्ष गनिन्छ । यसरी यस समुदायले बाह्र वर्षे एक युगको परिकल्पना गरेको हुनसक्छ ।
नेपालीको परम्परा
सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने र शुभकामना लिने–दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।