चुरे क्षेत्रको दोहन, कयौं पुस्तालाई संकट

चुरे क्षेत्रको दोहन, कयौं पुस्तालाई संकट तरुण खबर २३ जेष्ठ २०७८, आईतवार ११:३९
चुरे क्षेत्रको दोहन, कयौं पुस्तालाई संकट

के हो चुरे क्षेत्र ?
काठमाडौं । यस पटको बजेटले ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन गरेर निकासी गर्न प्रस्ताव गरे लगत्तै देशका वातावरणविद् तथा नागरिकले त्यसको चर्को विरोध गरिरहेका छन् । पूर्वराष्ट्रपतिदेखि पूर्व प्रधानमन्त्रीहरू सहित धेरैले यो प्रस्तावको सोझो असर चुरे क्षेत्रको संरक्षणमा पर्ने चिन्ता व्यक्त गरेका छन् । २०७१ साउन ४ गतेदेखि चुरे क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवाजस्ता सामग्री उत्खनन गर्न बन्द गरिएको थियो । तर नेपालको परिप्रेक्ष्यमा असाध्यै कमजोर रहेको चुरे क्षेत्रमा अहिले कुनै घाउ नकोट्ट्याउनु नै बुद्धिमानी हुने विज्ञहरुको सुझाव छ ।

चुरे यस्तो क्षेत्र हो जहाँ कुनै डाँडामा अलिकति खोस्रिने हो भने त्यसले दशकौँसम्म त्यहाँको जमिन अस्थिर बनाइदिन्छ । चुरे क्षेत्रमा मात्रै दश हजारभन्दा धेरै पहिरो जान सक्ने स्थल पहिचान भएको बतान्छ । सरकारले २०६६ सालदेखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु भएपनि २०७१ सालको असारमा मात्र सरकारले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति गठन गरेको हो । उक्त विकास समितिकै अग्रसरतामा चुरे तराई–मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ सालमा बनेको थियो । मन्त्रिपरिषद्बाट समेत पारित भएको उक्त गुरुयोजनाले सो क्षेत्रको बहुआयामिक संरक्षण र विकासको रणनीति बनाएको थियो ।

उक्त गुरुयोजनाले २० वर्षसम्मका लागि चुरे क्षेत्रको सर्वाङ्गीण विकासका लागि अढाई खर्ब रुपैयाँ लाग्ने खाका पनि तयार पारेको थियो । जसमा पहिलो पाँच वर्षमा झन्डै ८१ अर्ब, त्यसपछिको पाँच वर्षमा ६७ अर्ब, अनि ५१ र ४९ अर्ब गरी विभिन्न क्षेत्रमा लगानी गर्न सुझाइएको छ । यो गुरुयोजना सरकारले स्वीकृत गरिसकेको छ । तर यसले प्रस्ताव गरेजस्तो लगानी फिटिक्कै भएको छैन । यसपालिको बजेटमा पनि केवल एक अर्ब ५३ करोड रुपैयाँ मात्र छुट्ट्याइएको छ । जबकि औसत वार्षिक १०–१२ अर्ब रुपैयाँ नछुट्ट्याईकन हुँदैन राष्ट्रपति चुरे संरक्षण समितिले जानकारी दिएको छ ।

वरिष्ठ पत्रकार चन्द्रकिशोरका अनुसार खासमा पूर्व–पश्चिम राजमार्ग, जसलाई देशको ‘लाइफलाइन’ भनिन्छ, त्यसको निर्माण नै चुरेमाथिको संगठित हस्तक्षेप हो ।  राजमार्ग बनेपछि चुरेको छेउमै बस्ती बसे । तीव्र र अव्यवस्थित रूपमा बस्ती फैलियो । अहिले पूर्वमा काँकडभिट्टादेखि, बिर्तामोड, धरान, इनरुवा, रूपनगर, लहान, बर्दिवास, हेटौँडा, बुटवल, र गड्डाचौकीसम्मका बस्ती सबै चुरे क्षेत्रमै बने । पूर्वदेखि पश्चिमसम्म घरले घर नै जोडिने अवस्था आयो, यो तीव्र रूपमा तर अव्यवस्थित रूपमा सहरीकरण भयो । ती बस्तीले चुरेलाई दोहन गरिरहेका छन् । हो, तराईको सीमान्तकृत समुदाय बिस्तारै चुरे उक्लिन थालेको थियो ।
के हो चुरे क्षेत्र ?
चुरे क्षेत्र भनेको हिमालय पर्वत श्रृखंलाको सबभन्दा दक्षिणमा रहेको माथिबाट बगेर आएका सामग्रीले बनेको सबभन्दा कान्छो, सबभन्दा कमलो र सबभन्दा कमजोर पर्वत श्रृंखला क्षेत्र हो । चुरे क्षेत्रका विज्ञ एवं यसको व्यवस्थापनको गुरुयोजना निर्माण कार्यदलका टोली नेता डा. विनोद भट्टका अनुसार चुरे क्षेत्रले देशको करीब १३ प्रतिशत भूभाग ओगटेको छ । पूर्वमा इलामदेखि पश्चिममा डडेलधुरासम्म ३६ वटा जिल्लाहरूमा यो क्षेत्र फैलिएको छ । पूर्वदेखि पश्चिमसम्म यो देशभित्र ८ सय किलोमिटर तन्किएको छ । यसको चौडाइ १० देखि ५० किलोमिटर रहेको छ ।

करीब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे श्रृंखला हो । यो क्षेत्रमा राम्ररी नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रूपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको बताइन्छ । चुरेको अत्यधिक महत्व खासगरी तीन वटा कारणले भएको देखिन्छ । तराईलाई हामी अन्नभण्डार भन्छौँ । नेपालको कुल जनसंख्यामध्ये यो समग्र क्षेत्रमा ५० प्रतिशत जनसंख्याको बसोबास रहेको बताइन्छ । हाम्रो अन्नभण्डारका निम्ति यही चुरे क्षेत्रमा परेको पानी बगेर भूमिगत भण्डारमा जम्मा हुन्छ ।

जीवजन्तु विविधताको हिसाबले नेपालमा पाइने १ हजार ९१८ प्रजातिमध्ये १ हजार ३०८ चुरे तथा तराई मधेस क्षेत्रमा पाइन्छ । चुरेको पहाड सकिने बित्तिकै रहेको क्षेत्रलाई हामी भावर भन्छौँ । त्यहाँको जमिन अचम्मको छ, त्यसले पानी सोस्छ र तल भण्डारण गर्छ । अब हाम्रो अन्नभण्डार अनि ५० प्रतिशत जनसंख्याको बसोबास भएको क्षेत्र जोगाउन चुरे महत्वपूर्ण हुने बताइन्छ । चुरेका कारण प्राप्त हुने प्राकृतिक स्रोतले गर्दा नै तराई रहन सक्ने नत्र त्यसको विनाश अनि साथै त्यहाँ रहने मानिसहरूको जनधन जोखिममा पर्ने चुरेका अर्का जानकार डा. विजयकुमार सिंहले बताएका छन् । जथाभाबी दोहन वा अव्यवस्थापनका कारण बाढी र पहिरो दुवै जोखिम उच्च हुने विज्ञहरू बताउँछन् ।