हामीलाई तालीभन्दा पनि गालीको आबस्यकता छ

हामीलाई तालीभन्दा पनि गालीको आबस्यकता छ तरुण खबर ३० जेष्ठ २०७८, आईतवार ११:४३
हामीलाई तालीभन्दा पनि गालीको आबस्यकता छ

भुपेन्द्र राई
भुपेन्द्र राई, अध्यक्ष दिप्रुङ चुइचुम्मा गाउँपालिका
नेविसंघको राजनीतिबाट आएका उदीयमान युवा नेता हुन् भुपेन्द्र राई । खोटाङ जिल्लाका ८ गाउँपालिकामध्ये एक दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष हुन् उनी । कोरोना संक्रमित विरामीलाई पिठ्यूमा बोकेका कारण अत्याधिक चर्चामा आएका अध्यक्ष राई आफै ड्रइभिङ गरेर अस्पताल पु-याउँछन् । खोटाङले कुनै समय माझकिरात वा खम्बुवान नामबाट प्रसिद्धि पाएको थियो । यही जिल्लामा पर्ने चौदण्डी गढीबाट सेनवंशी राजाहरुद्वारा साशित थिए जनता ।  ईश्वीको सोह्रौं शताब्दीतिर पाल्पाका सेनवंशी राजाहरुको यस क्षेत्रमा चकचकी थियो । यही धर्तीमा जन्मेका हुन् भुपेन्द्र राई । कोरोना महामारीको अबस्था, राजनीति घटनाक्रम र विकास निर्माण सन्दर्भमा अध्यक्ष राईसँग कालिका महतले गरेको कुराकानीको सम्पादित अंश–
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कोरोनाले कत्तिको पिरोलेको छ ?
कोरोना अहिले गाउँघरमा भूसको आगोझैं  सल्किरहेको अवस्था छ । पहिले यसको प्रभाव शहर केन्द्रित थियो । यो पटक गाउँघर पनि अछुतो रहन सकेन, गाउँका नागरिक पनि कोरोना संक्रमणले आक्रन्त छन् । जब राज्यले उपत्यकाका तीन जिल्लामा लकडाउनको तीन दिन अगाडि घोषणा गरेर तीन दिनपछाडि मात्रै निशेधाज्ञा जारी ग¥यो । त्यो चाहीं काठमाडौंलगायत उपत्यका खाली गर्ने नियत रहेछ भन्ने देखिन्छ । त्यो तीन दिनको बीचमा काठमाडौंलगायत उपत्यकामा बसोबास गर्ने धेरै नागरिकहरु गाउँगाउँ छिर्नुभएको छ । भारतलगायत तराई–मधेश क्षेत्रतिर बसोबास गर्ने पनि धेरै नागरिकहरु पहाडतिर उकालो लाग्नुभयो । त्यसकारण पहिलोको भन्दा बढी कोरोना अहिले गाउँघरमा फैलिएको छ ।

काठमाडौंलगायत शहरतिरबाट धेरै मान्छे गाउँ प्रवेश गरेकाले कोरोना बढी फैलिएको हो ?
शहरबाट गाउँ आएपछि उनीहरु आफन्त, इष्टमित्र भेटघाटको लागि गाउँ घुम्ने नै भए । आफ्ना नातागोतालाई ढोगभेट गर्ने भए त्यसले सबैसँग हेलमेल भयो । सँगै खाना खाने, बस्ने गर्नाले कोरोना त फैलिने नै भयो । त्यसकारण पनि गाउँघरमा यसपालि भयावह अवस्था सिर्जना भयो ।

गाउँघरका सबैं ठाउँमा एम्बुलेन्सको व्यवस्था पनि छैन कसरी संक्रमितहरुलाई व्यवस्थापन गर्नुभएको छ ?
ंकच्ची सडकहरु दिप्रुङ चुइचुम्मा गाउँपालिकाका लगभग सबै ठाउँमा पुगिसकेको छ । ंकच्ची भएपनि बाह्रै महिना सदरमुकामसम्म गाडी चल्ने केही सडकहरु छन् । त्यसकारण हामीले सुरुसुरुमा टोलटोलमा गएर एन्टीजेन परीक्षण ग¥यौं । त्यसपछि पुराना साबिकका घरघरमा गएर पनि हामीले परीक्षणहरु ग¥यौं । त्यसमा २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ९३ जना संक्रमितहरु भेटिनुभएको थियो । त्यसपछि हामीले १५० जनाको पीसीआर परीक्षण ग-यौं । त्यो पीसीआर परीक्षणबाट पनि ६७ जनालाई पोजेटिभ देखियो । त्यसरी पोजेटिभ देखिएका नागरिकहरुलाई सुरक्षित ढंगले होमआइसोलेसनमा बस्न आग्रह गरेका छौं । त्यो पनि उहाँहरुले हामी क्वारेन्टाइनमा होइन, आफ्नै घरमा बस्छौं भन्ने इच्छा देखाएपछि त्यो व्यवस्था मिलाएका हौं । त्यसरी होम आइसोलेसनमा बसेका संक्रमितहरु गाह्रो भएपछि हामीलाई उहाँहरुले खबर गर्नुहुन्थ्यो । त्यो खबर आएपछि उहाँहरुलाई घरबाटै रेस्क्यु गरेर गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पताल हाम्रो गाउँपालिकाको वडा नं. १ एम्खामा छ । त्यो अस्पतालमा लगेर उपचार गर्ने काम हामीले गरिरहेका छौं ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा आवश्यक स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीको व्यवस्था कस्तो छ ?
आवश्यक स्वास्थ्य सामाग्री हामी आफैंले जुटाएका छौं । हामीसँग स्वास्थ्यकर्मीहरु पनि हुनुहुन्छ । अहिले हामीसँग एमबीबीएस डाक्टर हुनुहुन्छ । दुई जना स्टाफ नर्स हुनुहुन्छ । त्यसैगरी ल्याबको साथीहरु पनि हुनुहुन्छ । अहेबहरु पनि हामीले राखेका छौं । यसैगरी ठाउँको भौगोलिक अवस्थालाई मध्येनजर गरी उपलब्ध, साधन, स्रोत परिचालन गरेर स्वास्थ्य परीक्षण र संक्रमितको उपचारहरु भइरहेका छन् ।

अहिलेसम्म कतिमा संक्रमण देखियो, सिकिस्त विरामी कति भए ?
अहिलेसम्म १०९ जनाजति संक्रमित देखिए । त्यसमा १५ जनता जति चाहीं अत्यन्तै सिकिस्त विरामी हुनुभयो । त्यसरी संक्रमित र सिकिस्त विरामीहरुमध्ये धेरैजसो स्वास्थ्यलाभ गरेर घर फर्किइसक्नुभएको छ । अहिले पनि ६ जना संक्रमित चाहीं अस्पतालमै हुनुहुन्छ ।

अक्सिजनको आवश्यकता पर्ने विरामी पनि भेटिनुभयो ?
केही संक्रमितहरुमा अक्सिजनको मात्र घटेर ५५ सम्म पुगेका बिरामी पनि भेटिनुभयो । उहाँहरुलाई हामीले अस्पतालमा अक्सिजनको व्यवस्था गरेर उपचार गरायौं । त्यसमा केही घर फर्किनुभयो । केही बिरामीहरु अहिले पनि अस्पतालमा उपचार गरेर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ ।

एम्बुलेन्स नभएर बिरामीको लागि आफ्नै गाडी प्रयोग गर्नुभएको हो ?
हाम्रो गाउँपालिकामा एम्बुलेन्स नै नभएको होइन । हामी निर्वाचित भएर आउनुभन्दा ४÷५ वर्ष अगाडिदेखि चलेको एउटा एम्बुलेन्स छ । त्यो चलिरहेको थियो, त्यसैले हामीले अर्को खरिद गर्ने प्रक्रियामा गएनौं । पहिलापहिला गाउँगाउँमा गएर एन्टिजेन परीक्षण गर्ने बेलामा त्यही एम्बुलेन्स प्रयोग गरेर गएका थियांै । त्यही क्रममा वडा नं. ७ मा पुग्दा त्यो एम्बुलेन्स बिग्रियो । यसरी बिग्रिएपछि अहिले त्यो एम्बुलेन्सलाई सञ्चालनमा ल्याउन सम्भव भएन । त्यसपछि मैले आफै चढ्ने गाडी कोरोना बिरामीका लागि प्रयोगमा ल्याएँ । त्यो गाडी म आफैं ड्रभिङ गर्छु । अहिले आपतमा परेका बिरामीहरुलाई घरघरमा गएर उठाएर अस्पताल ल्याउने काम गरिरहेको छु ।

संक्रमितहरुलाई आफैले बोकेर गाडीसम्म पु¥याउनुहुन्छ रोगको डर लागेन ?
डर लाग्यो वा लागेन भन्ने कुरा एकातिर रह्यो । तर, हामी जनप्रतिनिधिले यतिबेला घरभित्र बसेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कोरोना नियन्त्रण गर्न यो गर, त्यो गर भनेर आदेश गर्ने परिस्थिति छैन, होइन । यो बेलामा हामी आफै कमाण्डरको रुपमा बाहिर ननिस्किने हो भने यस क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको काम गर्ने मनोबल बढ्दैन । कोरनोबाट विश्व डराइरहेको बेलामा हामी नडराउने भन्ने कुरै हुँदैन । तर, हामी जनप्रतिनिधिहरु यतिबेला डराएर लुक्ने बेला होइन । हिजो चुनावका बेला नागरिकहरुलाई जस्तोसुकै समस्या पर्दा पनि हामी पछाडि हट्दैनौं भनेर जुन बाचा गरेका छौ, त्यसलाई इमानदारीताका साथ पूरा गर्नुपर्छ । त्यसकारण हामीले डरका कारण कर्तव्य र जिम्मेवारीबाट पछि हट्न मिल्दैन । नागरिकहरुलाई समस्या पर्दा काम गर्न नसक्ने हो भने राजनीति नगर्दा हुन्छ । होइन भने नागरिकहरुलाई परेको समस्या समाधान गर्न जस्तोसुकै बेलामा पनि डटेर काम गर्नुपर्छ, त्यो मात्रै इमानदार नेता हुन्छ ।

जनता चाहीं रोग र भोकले मरिरहेको बेला आफू  घरभित्र बसेर रमिते बन्न सकिँदैन । त्यसैले म सुरक्षा र स्वास्थ्यकर्मीसँगसँगै डटेर काम गरिरहेको छु । यस्तो बेलामा जनप्रतिनिधि रमिते भएर घरमा बस्ने हो भने सुरक्षा र स्वास्थ्यकर्मीले किन काम गर्ने ? गाउँपालिका अध्यक्ष नै डराएर घरमा बस्ने हो भने मैले अह्राएको ठाउँमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी किन जाने ? उसले किन काम गर्ने भन्ने हुन्छ । त्यसकारण यस्तो बेलामा म मात्रै होइन सबै जनप्रतिनिधिहरुले आफै अग्रपंतिमा गएर काम गर्नुपर्छ । अध्यक्ष नै डराइरहेको ठाउँमा एकजना डाक्टर र स्टाफ नर्स कसरी जान्छन् । यस्तो बेलामा पीपीई सेट लगाएर नेपाली सेनाले मृतकको दाह संस्कार गरिरहेको अवस्था छ ।

स्वास्थ्यकर्मीले आफ्नो ज्यानको प्रवाह नगरी हजारौंको ज्यान बँचाइरहनुभएको छ । अनि हामी जनताप्रतिनिधिले त्यहीं पीपीई सेट लगाएर आफ्नो नागरिकको उद्दार गर्न किन नसक्ने ? जनप्रतिनिधि भएर यस्तो बेलामा आफ्नो जिम्मेवारीबाट पन्छिन् मिल्दैन । म गाडी चलाउन जान्ने भएकाले आफै ड्राभिङ् गर्छु, समस्यामा परेका नागरिकको घरमै पुगेर उद्दार गरिरहेको छु । यो बेलामा मैले आफ्नो क्षमता र सीप देखाउने मौका पाइरहेको छु । आउँदादिनमा पनि यो दायित्वबाट कहिल्यै पछि हट्ने छैन । फेरि यो धेरै ठूलो काम पनि होइन । हामीले चुनावका बेला यिनै नागरिकलाई डोकोमा बोकाएर भोट हाल्न लगाएका हौं । अनि आज उनीहरु बिरामी पर्दा जनप्रतिनिधिले किन नबोक्ने ? भोट हाल्ने बेलामा डोकामा बोकाएर पनि ल्याउने र उनीहरुलाई समस्या परेका बेला आफूले बोक्न नसक्ने हो भने नागरिकको मन जित्न सकिँदैन ।

अहिले यो पार्टी, ऊ पार्टीभन्दा पनि सबैले जनहितमा काम गर्नुपर्छ भन्न खोज्नुभएको हो ?
यतिबेला पार्टीको कुरै छैन नि । पार्टीको त नागरिक बाँच्यो भने राजनीति गरौंला नि । नागरिक नै नरहे कोसँग राजनीति गर्ने ? त्यसैले अहिले पार्टी र राजनीतिको कुरै छैन । मानवताको भावनाले काम गर्नुपर्छ । आज नागरिकलाई बँचाउने हो भोलि राजनीति गरौं । जनता नै बाँचेनन् भने कोसँग राजनीति गर्ने ? त्यसकारण यतिबेला नागरिक बँचाउनतिर लाग्नुपर्छ ।
कोही नेता ‘घरमा पाहुना आएका छन्, म काम गर्न भ्याउँदिन’ भन्छन्,

तपाईंले त कोरोना संक्रमितलाई पिठ्युमा बोकेर उदाहरणीय काम गर्नुभयो नि ?
मलाई त त्यस्तो लाग्दैन । त्यो त हाम्रो दायित्व हो । त्यसलाई एकदमै उदाहरणीय काम गरेँजस्तो लाग्दैन । हिजो जसरीमलाई रातदिन खटेर मलाई भोट हालेर निर्वाचित गर्नुभएको थियो । उहाँहरु आज रोगी, संक्रमित हुनुहुन्छ । यो अवस्थामा साधन, स्रोतको अभाव देखाएर मैले रमिते भएर बस्न सकिँन । अनि आफै फन्र्टलाइन गएर काम गरेको हुँ । राजनीति भनेको समाजसेवा हो । समाजसेवा गर्ने जस्तोसुकै परिस्थितिमा पनि डटेर नागरिकको काम गर्नुपर्छ । हिजो जसरी असारको हिलोमा लड्दै आएर हामीलाई भोट हाल्नुभएको थियो । त्यसैगरी हामीले पनि उहाँहरुको सेवामा जुट्नुपर्छ । त्यही दायित्वबोधका साथ दत्तचित्त भएर नागरिक बँचाउने काममा लागिपरेको छु ।

विकास निर्माणका काममा जनतामा कत्तिको सन्तुष्टि पाउँनुभएको छ ?
विकास निर्माणको कामबाट पनि हाम्रो गाउँपालिकाका नागरिकहरु सन्तुष्ट हुनुहुन्छ । बरु हामी चाहीं हिजो भनेजति काम गर्न नपाएर असन्तुष्ट छौं । हामीले नागरिकसामु जति गछौं भनेका थियौं, त्यो परिपूर्ति गर्न सकिएको छैन । नागरिकहरु चाहीं सन्तुष्टै हुनुहुन्छ । किन भने हिजो हामी निर्वाचित भएर आउँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका कस्तो थियो ? आज कस्तो भएको छ भन्ने कुरा यहाँका नागरिकहरुलाई राम्रोसँग थाहा छ । हामी निर्वाचित भएर आएकोदेखि विकास निर्माणका धेरै काम भएका छन् । यो हामी जनप्रतिनिधिलाई भन्दा पनि जनतालाई सोध्दा राम्रो हुन्छ । हामी निर्वाचन जितेर आउँदा वर्षाको समयमा एउटा ठाउँबाट अर्को गाउँमा जाने अवस्था थिएन । त्यस्ता खोलाहरुमा आज हामीले पुल निर्माण गरिसकेका छौं । कच्ची सडकहरु पनि प्रायः सबै गाउँटोलहरुमा पु-याइसकेका छौं । घरघरमा पु¥याउने अवस्था हुँदैन । गाउँको प्रत्येक वस्ती र टोलमा सडक पुगिसकेको अवस्था छ । खानेपानीको समस्या पनि हल गरिसकेको अवस्था छ । शिक्षाको क्षेत्रमा पनि धेरै कामहरु भएका छन् । त्यसकारण नागरिकहरु असन्तुष्ट हुनुहुन्छ भन्ने मलाई लाग्दैन । काम गर्दै जाँदा केही सन्तुष्टी त भइहाल्छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कृषिबाहेक टुरिजमको क्षेत्रमा सम्भावना देख्नुहुन्छ ?
कृषिको क्षेत्रमा त दिप्रुङ चुइचुम्मा खोटाङकै अब्बल गाउँपालिका हो भन्ने लाग्छ । त्यसपछि पर्यटनको क्षेत्रमा पनि त्यत्तिकै सम्भावना भएको गाउँपालिका हो । यहाँको भौगोलिक अवस्थाअनुसार प्याराग्लाइडिङको परीक्षण उडाउनलाई व्यवसायिक बनाउने कोसिस गरिराखेका छौं । त्यसको लागि १ करोड २५ लाख बजेटको व्यवस्था गरेका छौं । त्यसको लागि यो वर्ष पर्यटन मन्त्रालयले नै ३ करोड हाराहारी बजेट छुट्याएको अवस्था छ । हाम्रो गाउँपालिकाको १ करोड ५० लाख गरेर ५ करोड हाराहारी बजेटको लागतमा प्याराग्लाइडिङ उडानलाई व्यवसायिक बनाउन लागिपरेका छौं । हाम्रो गाउँपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएकाले अन्य पर्यटकीय दृष्टिकोणले पनि त्यत्तिकै महत्वपूर्ण मानिन्छ । त्यसकारण यस गाउँपालिकाको विकास निर्माणका लागि कुनै कसर बाँकी नराखी काम गर्न लागिपरेका छौं ।

अन्त्यमा त्यहाँका जनतालाई के भन्नुहुन्छ ?
यहाँका जनतासँग म अनुरोध गर्दछु । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा हामी निर्वाचित भएर आइसकेपछि यहाँका नागरिकको लागि अहोरात्र खटेका छौं । काम गर्ने क्रममा हामीबाट भएका कमीकमजोरीहरु औल्याइदिनु होला । यसबाट हाम्रो घोषणापत्र अनुसार सजग हुने मौका पाउँछौं । हामीलाई अहिले जनताबाट ‘तालीको भन्दा पनि गाली’को आवश्यकता छ । कमीकमजोरीहरु खुट्याइदिनुभयो भने हामी सच्चिने मौका पाउँछौं भन्न चाहन्छु ।