भारतको १३ राज्यमा संक्रमित बढे, केरलामा लकडाउन

तरुण खबर ७ श्रावण २०७८, बिहीबार १०:०६
भारतको १३ राज्यमा संक्रमित बढे, केरलामा लकडाउन

२१, जूलाईमा भारतमा ४१ हजार ६९७ जनाभन्दा बढी संक्रमित

काठमाडौं । कोरोनाभाइरसका संक्रमण बढेपछि भारतको केरलामा २३ र २४ जुलाई (साउन ८ र ९) मा पूर्ण लकडाउन हुने भएको छ । केरलाका पी विजयनले लकडाउनको समयमा कसैले छुट पाउने छैनन् भनेका थिए । पछिल्लो तीनमा केरलामा कोरोनाभाइरसको संक्रमण दर १०.८ प्रतिशतले बढेको छ । कोरोनाविरुद्धको खोप अभियान चलिरहेको बेला बेलायत, रुस, अमेरिका, भारतलगायत केही मुलुकमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

भारतमा दैनिक ४० हजार संक्रमित देखिएका छन् । भारतका १३ राज्यमा कोरोनाभाइरसको संक्रमण बढिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ती राज्यहरुमा केरला, आन्ध्र, उडिशा, दिल्ली र पूर्वोत्तरका आठ राज्यहरुमा संक्रमण बढिरहेको छ । वर्धमान महावीर मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका निर्देशक प्रोफेसर जुगल किशोरले भनेका छन्– कोरोनाभाइरसको दोस्रो लहरजस्तो तेस्रो लहर भयावह हुने छैन । कोरोनाभाइरसको तेस्रो लहर आउँछ, तर दोस्रो लहरले जस्तो नोक्सान नगरि जान्छ उनले भनेका छन् । हैदरावाद युनिभर्सिटीले दावी गरेको छ कि जुलाई अन्तिम सातामा कोरोनाभाइरसको तेस्रो लहर शुरु हुने अनुमान गरेको छ ।

संसारभरको कोरोना संक्रमणको रेकर्ड राखिरहेको वर्डमिटर्सका अनुसार भारतमा पछिल्लो २४ घण्टा (२१, जुलाई) मा १८ लाख ५२ हजार १४० जनाको नमुना परीक्षण गर्दा ४१ हजार ६९७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । २०, जुलाईमा १९ लाख १८ हजार ८७७ जनाको नमुना परीक्षण गर्दा ४२ हजार १२३ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२१, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ५१० जनाको निधन भएको छ । २०, जुलाई) मा कोरोनाभाइरसको संक्रमणबाट ४८९ जनाको निधन भएको थियो ।

नेपाली समय अनुसार साउन ७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड १२ लाख ५६ हजार ८३९ जना छन् । २०७८, साउन ७ गतेसम्ममा भारतले ४४ करोड ९१ लाख ९३ हजार २७३ जनाको नमुना परीक्षण गरिसकेको छ । २०७८, साउन ७ गते बिहान ७.३० बजेसम्ममा भारतमा ३ करोड ४ लाख २१ हजार ८१३ जनालाई कोरोना भाइरसको संक्रमण निको भैसकेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख १६ हजार ५ जना छन्, यो संख्यामा तल–माथि भैरहेको छ । पछिल्लो २४ घण्टा (बुधबार) मा ३८ हजार ८१२ जना कोरोना मुक्त भएका छन् । साउन ७ गते बिहीबार बिहान ७.३० बजेसम्ममा भारतमा कुल संक्रमितमध्ये ४ लाख १९ हजार २१ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।