तामाङ जाति, संस्कृति, परम्परा र संस्कार

तामाङ जाति, संस्कृति, परम्परा र संस्कार तरुण खबर १७ श्रावण २०७८, आईतवार १०:००
तामाङ जाति, संस्कृति, परम्परा र संस्कार

गुणराज मोक्तान

रोशी गाउँपालिकामा ६२ प्रतिशतभन्दा बढी तामाङ समुदायको बस्ती भएकाले उनीहरूको धर्म, संस्कृति, सस्कार र परम्पराबारे अन्य समुदायले पनि जानकारी राख्नै पर्ने हुन्छ । नेपाली समाजले आधुनिकीकरणको नाममा आफ्नो परम्परागत रीतिरिवाज, धर्म, संस्कृतिप्रति सचेत रहन नसक्नु देशका लागि गम्भीर संकट निम्त्याउनु हो । यसर्थ, तामाङ समुदायको परम्परा, संस्कृति र सस्कारबारे संक्षिप्तमा चर्चा गरिएको छ । सर्वप्रथम तामाङ को हुन् भन्ने जान्न जरुरी छ । तामाङ जाति नेपालका विभिन्न आदिवासी जनजातिहरूमध्ये एक हो । आफ्नै साझा भूगोल भएको जाति हो तामाङ । तामाङहरूको साझा भूगोललाई ताम्सालिङ भन्ने गरिन्छ । तामाङ जाति नेपालका प्राचीन जातिहरूमध्ये एक हो । यो जातिले काठमाडौं उपत्यकालाई आफ्नो प्राचीन मूलथलो मान्दछ । नेपाल सरकारले सूचीकृत गरेका विभिन्न ५९ आदिवासी जनजातिहरूमध्ये तामाङ पनि एक हो । यस जातिको आफ्नै भूगोल, धर्म, इतिहास, भाषा, भेषभूषा, रहनसहन, सामाजिक संरचना, संस्कार एवं सांस्कृतिक मान्यता रहेका छन् । तामाङ जातिको मुख्य बसोबास क्षेत्र काठमाडौं उपत्यका र यसको आसपासका जिल्लाहरू रसुवा, मकवानपुर, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली हो । यसका साथै मुलुकका विभिन्न क्षेत्रमा तामाङहरूको बसोबास रहेको छ । तामाङहरू नेपालबाहेक भारतको सिक्किम, दार्जिलिङ, आसाम, नागाल्यान्डका साथै भुटान र बर्मालगायत मुलुकमा बसोबास गर्दछन् ।

वि.सं. २०६८ सालको जनगणनाअनुसार नेपालमा तामाङहरूकोे जनसंख्या १५,३९,८३० रहेको देखाइएको छ । तर, तामाङहरूले आफ्नो जातिको जनसंख्या २० लाखभन्दा बढी रहेको दाबी गर्दै आएका छन् । २०६८ सालको जनगणनाअनुसार यस जाति पाँचौं स्थानमा पर्दछ । तामाङ जातिलाई चिनाउने सशक्त माध्यम भाषा नै हो । नेपालको विभिन्न जीवित भाषाहरूमध्ये तामाङ भाषा अन्य भाषाको तुलनामा निकै अगाडि छ । तामाङ भाषा भोट–बर्मेली भाषा परिवारअन्तर्गत पर्दछ । तामाङ जाति बौद्ध धर्म मान्दछन्, त्यसैले तामाङ जातिको जन्मदेखि मृत्युसम्मको सम्पूर्ण कर्म बौद्ध दर्शनबाट निर्देशित भएको छ ।

तामाङ समाजमा जन्म
गर्भधारणदेखि विवाह हुनुअघिसम्म गरिने सबै संस्कारहरूलाई जन्मसंस्कार अन्तर्गत समावेश गरिएको छ । तामाङ समुदायमा सामान्यतः बालक जन्मेको तीन दिनपछि नै न्वारन गरिन्छ । ठाउँ विशेष यसमा केही परिवर्तन भए पनि सामान्यतः ९ वा ११ दिन भित्र न्वारन गर्ने चलन छ । कतै बच्चाको बाबुले न्वारन गर्ने चलन छ भने अधिकांश तामाङले लामागुरुबाट बौद्ध धर्मशास्त्रअनुसार नै न्वारान गरि बच्चाको नामकरण गराउने चलन छ । छैठीको दिन सुत्केरी आमा र बच्चालाई नुवाइधुवाइ गराएर कोठामा चोखो पानी छर्किने र दियो बाल्ने चलन पनि छ ।

छोरीलाई ५ महिनामा र छोरालाई ६ महिनामा पास्नी गराइन्छ । जेठो छोरा वा छोरीको भात खुवाई मैना चराको चुच्चोबाट गराउन सके चराजस्तै मीठो बोली बोल्ने विश्वास अभैm पनि छ । तामाङहरूमा भात खुवाइको अवसरमा आफ्ना नातागोता र छिमेकीले बच्चालाई उपहारको साथै रुपैयाँ, पैसा दिने र मीठोमीठो पकवान बनाई लगिदिने प्रथा पनि चलनचल्तीमा छ । तामाङहरूको छेवर मामाबाट गराइन्छ । छेवर ३ वर्षदेखि १३ वर्षसम्म जुनबेला गरे पनि हुन्छ । यो अवसरमा चेलीबेटीले दही, खसी, रक्सी, सेलरोटी, कुखुरा आदि कोसेली ल्याएर सघाउने चलन छ । बच्चाका आमाबाबुले आप्mना चेलीबेटीलाई गच्छेअनुसार दक्षिणा दिन्छन् र निम्तालुहरू नाचगान गरी रमाइलो गर्दछन् ।
तामाङहरूको परम्परागत गाउँ संगठनमा सात सदस्य हुन्छन्, जस्तो चोहो (अध्यक्ष), मुल्मी (गाउँको मुखिया), ङाप्ता (लामा, पुरोहित), डोप्ता (साधु) आला (ठालु), ताम्बा (वंशावली जान्ने व्यक्ति) अनि गुरमी गोडाई अर्थात् सचिव ।

तामाङहरूलाई मुर्मी पनि भन्ने चलन छ । तर, यो शब्द मुल्मीको अपभ्रंश भएको हुन सक्ने एकथरीको तर्क छ । गाउँको ठालुलाई मुखिया भनेभैm तामाङहरूको सामाजिक जीवनमा मुल्मी एक महत्वपूर्ण पद हो । मुल्मीको स्थान एक व्यक्तिले लिएपछि अर्को व्यक्तिको पालो आउँछ । साधारणतः हरेक वर्षको संसारी वा भूमि पूजाको निमित्त मुल्मी चुनिन्छन् । पहिलेपहिले सरकारी मालपोत उठाउने काम पनि मुल्मीको जिम्मामै हुन्थ्यो । स–साना भैmझगडा मिलाउने र पुर्पक्ष गर्ने काम मुल्मीले नै गर्थे । काठका फल्याक, चेप्टो खरी ढुंगा, खर र छ्वालीले छाएका घरहरू साधारणतया दुईतले हुन्थे । माथिल्लो तलाले भकारी अर्थात् भण्डारको काम दिन्थ्यो भने भान्छाघर र सुत्ने कोठा भुइँतलामै हुन्थ्यो । गहनाहरूमध्ये कर्ण पूmल, ढुंग्री र शिरपूmल तामाङहरूबीच लोकप्रिय थिए । शिरपूmललाई तामाङ भाषामा म्हारम्हेन्दो र शिरबन्दीलाई रिङा भनिन्छ । विवाहित महिलाहरूले पोते लगाउने चलन पछि मात्र सुरु भएको हो । सुँगुरको मासु, लसुन, पाहा र सिस्नु घरभित्र ल्याएर पकाउनु हुँदैन भन्ने मान्यता अधिकांश तामाङहरूमा छ ।

न्वारन : लामाद्वारा जन्मेको ७ दिनदेखि १३ दिनसम्म गरिने विधि,
अन्नप्राशन : जन्मेको ६ महिनादेखि ९ महिनासम्म गरिन्छ,
छेवर : जन्मेको ३ वर्षदेखि ९ वर्षसम्म,
बूढो अन्नप्राशन : वृद्ध भएर दाँत झरेर फेरि उम्रेमा गर्ने अन्न प्राशन ।

तामाङ समुदायमा विवाह (ब्रेल्साङ)
तामाङ जातिमा आफ्नै मौलिक वैवाहिक संस्कार रहेको छ । विवाह समारोहमा दाम्पत्य जीवन सुखद एवम् सफल होस् भनेर लामा गुरुहरूलाई अनिवार्यरूपमा टाशीघेपा र टाशीछेक्पा अर्थात् शुभ मोलम पाठ गर्ने प्रचलन छ । तामाङ जातिमा फुपूचेली र मामाचेलाको छोरोछोरी बीचमा पनि विवाह चल्ने प्रचलन छ । हिजोआज भने त्यो प्रचलनलाई निरुत्साहित गर्दै गएको पाइन्छ । आफ्नो स्वाँगैभाई (सहगोत्री) बाहेक अन्य थर, जातिबीचमा ठाउँ विशेषको संस्कारअनुसार विहेबारी हुने गर्दछ । तामाङ जातिमा मागी बिहे र भागी बिहे दुवै स्वीकार्य छन् । मागी बिहेमा केटापट्टिबाट लमी जान्छन्, लमीको भूमिका ताम्बले गर्दछन् । किनभने तामाङ समाजमा प्राचीन रीतिरिवाज र वंशावलीसम्बन्धी जानकारी ताम्बलाई धेरै हुन्छ । लमीले कुरा छिनेपछि केटापट्टिबाट सगुन लानुपर्छ । जसमा कुखुरा वा खसी, सेलरोटी र रक्सी हुन्छन् । सगुन लगे पछि मात्र विवाहको दिन, रीत (कोसेली) जन्तीको संख्या र अन्य तयारीको कुराहरू तोक्ने गरिन्छ । जन्ती जाँदा तामाङहरू मौलिक लोकबाजा डम्फु बजाउँछन् । डम्फुवालाहरू नाच्दै जान्छन् । जन्ती आइपुग्दा केटीपट्टिकाले गर्ने प्रथम स्वागतमा बाटोमा सगुन (रक्सी, पूmल, चारवटा रोटी) आदि राख्दछन् । उक्त सगुन दुलाहले छ्योतो गर्ने अर्थात् जन्ती जाने र स्वागत गर्ने सबैलाई अर्पण गर्ने गर्छन् । जन्ती केटीको घरआँगनमा पुगे पछि केटीको बुवा वा अभिभावकले जन्ती पर्सने चलन छ । स्वयंवर गर्ने चलन पनि तामाङ जातिमा प्रचलित छ । जन्तीहरूलाई सगुन खुवाएर दुलहालाई आसनमा राखेपछि दुलहीको दाजु वा भाइले दुलहीलाई बोकेर ल्याई सँगै बसाउँछन् ।

फेरि एकपटक सगुन खुवाएपछि कार्यक्रम सुरु हुन्छ । दुवैपट्टिका ताम्बहरूले आ–आफ्ना पक्षका पुख्र्यौलीसम्बन्धी कुरा एकअर्काको परिवारलाई बताउँछन् । डम्फुवालाहरू एकअर्कालाई सवालजवाफ गर्दै नाच सुरु गर्दछन् । ताम्बा गीतपछि रात्रिभोज सुरु हुन्छ । यसमा केटा र केटी पक्षका व्यक्तिहरू सामेल हुन्छन् । आफ्नो छोरीचेली कुटुम्बलाई सुम्पने बेलामा तपसिलका चार प्रकारका वस्तुहरू साक्षी राख्ने गरिन्छ । १. विवाह हुने स्थानका अलौकिक ज्योहो ज्योमो (देवी देवता)हरू, २. हिमालमा हुने डाँफे अनि तराईमा पाइने मयूरको प्रतीकस्वरूप कुखुराको भाले, ३. नदीमा पाइने गोही र कछुवा आदिको सम्झनास्वरूप जिउँदो माछा र ४. विवाहस्थलमा भएका सम्पूर्ण सज्जन महानुभावहरू । यिनै चार प्रकारका साक्षीहरूको रोहवरमा मात्रै तामाङ जातिले आफ्नो छोरीचेली कुटुम्बलाई जिम्मा लगाउँछन् । यही तामाङ संस्कृतिलाई तामाङ जातिमा छोंगोर, घासा वा चारदाम भनिन्छ । यही चारदाम गर्ने समयमा तामाङ जातिको ताम्बाले हाम्रो छोरीबेटी तपाईं कुटुम्बलाई सुम्पिए तापनि हाम्रो ह्रुई अर्थात् थर चाहिँ हजुरहरूलाई सुम्पेका छैनौं भनी माइतीकै थर रहने कुरा बताउँछ, तसर्थ यही कारणले तामाङ चेलीको थर परिवर्तन हुँदैन । चारदामको समयमा ताम्बा र गान्बाले तामाङ लोकशैलीमा आज सुपुत्री पूर्ण स्कन्धले बाँधिएको कायस्वरूप ……(केटीको नाम ठेगाना)……….नामले परिचित चेली …………(केटाको नाम ठेगाना) साथ जीवनसाथीका रूपमा सुम्पिँदैछौं । यो सन्देश यस गाउँका अलौकिक ज्यहोज्योमो (देवीदेवता)लगायत सजीव रूपमा रहेको यस भेगका हिमालय पर्वतका डाँफे र समथर तराईका घना जंगलका मयूर अनि मुनाल चराले सुनोस् भनी प्रतिनिधिका रूपमा सञ्चार संवाहक परेवा वा सुनपंगी कुखुराको भाले राखिएको छ । नदीनालामा रमाउने जलचर माछा, गोही र कछुवा आदिले थाहा पाओस् भनी प्रतिनिधिका रूपमा माछालाई ल्याएका छौं भने यस विवाहमण्डपमा विराजमान सम्पूर्ण सज्जनवृन्दहरूलाई साक्षी राखी आजको मितिदेखि हाम्री चेली सुश्री ………..(केटीको नाम)….लाई तपाईंहरूको छोरा ………..(केटाको नाम)….को हातमा जिम्मा लगाएका छौं । पाले पुण्य मारे पाप भनेर हामीले हाम्री चेली दिएका छौं, हाम्री चेली तपाईं ..(केटाको नाम)….रेम्बोर्छेको जीवनसाथी अथवा पत्नीको रूपमा रहेता पनि हाम्रै थर नै जीवनपर्यन्त रहिरहनेछ ।

हाम्रो चेली आजदेखि ज्वाइँलाई सुम्पे पनि हड्डी चाहिँ होइन’ भन्ने चलन छ । त्यसको अर्थ जीवनको अन्तिम घडीसम्म माइतीको पनि हक लाग्छ भन्ने हो र तामाङ चेलीको बिहेपश्चात् पनि थर (हुई) फेरिन्न भन्ने हो । यही कारणले गर्दा कुनै पनि तामाङ चेलीको मृत्यु संस्कार (घेवा) को बेला माइती खलकलाई अस्तु बुझाउनुपर्ने परम्परा छ । यसरी विधिवत् तरिकाले समारोह अन्त्य भइसकेपश्चात् ती साक्षीको रूपमा ल्याइएको डाँफे र मुनाल पंक्षीको प्रतिनिधि परेवा वा कखुराको भाले, गोही र कछुवाको प्रतिनिधि माछालाई आ–आफ्नो ठाउँमा जिउँदै छोडिदिनु पर्दछ अनि मात्रै दुलहा–दुलहीको दाम्पत्य जीवन सुखमय हुनेछ भनिन्छ । त्यसपछि टीकाटालोमा दुलहीका कुल कुटुम्बले दम्पतीलाई टीका लगाउने र गच्छेअनुसार उपहार दिने चलन पनि छ । भोलिपल्ट बिदा हुनुभन्दा अघि सम्धी भोज हुन्छ ।

दुलही लिएर फिरेका जन्तीलाई दुलाहको घरमा जितौरी खुवाउने चलन छ, जसबाट धेरै वर्षपहिले दुलहीलाई जितेर ल्याउनुपर्ने रीतिरिवाज भएको अनुमान गर्न सकिन्छ । यो जितापत्रको खाजापछि इष्टमित्र, कुलकुटुम्ब र चेलीबेटीले रक्सी, रोटी, फूल, माछा, मासु आदिले सत्कार गरी दुलहा–दुलहीलाई भित्र्याउँछन् । यो बेला ताम्बले दुलहीलाई दुःख दिने छैनौं भन्ने वाचा दुलहाकी आमा र दुलहाबाट गराउँछन् । हिजोआज कुनै गाउँ ठाउँमा सिन्दूर हाल्ने चलन पनि छ तर त्यो तामाङ जातिको मौलिक संस्कृतिभित्र पर्दैन । टीका लगाउँदा पनि रातो नभई सेतो टीका लागउने चलन छ । ताम्बले वाचा बँधाएपछि दुलहा–दुलहीको टाउको एक–अर्कासँग तीन पटक ठोक्ने र एकअर्कालाई जुठो खुवाउनुपर्ने, ठाउँ सारेर बस्नुपर्ने चलन छ । समाजका ठूलाबडाले टीका लगाएर सगुन खुवाएपछि बिहेको कार्यक्रम सकिन्छ ।

सामान्यतः तीन दिनपछि दुलही फर्काउने चलनलाई दोवरी–निवरी भनिन्छ । यो समुदाय सरल र सोझो हुने भएकाले सबै झन्झटपट्टि लाग्नुभन्दा वनपाखामा जुवारी खेलेको बखत एकअर्कासँग मायाप्रीति गाँसेर सुटुक्क भाग्ने पुरानो चलनलाई आधुनिकीकरण गर्दै लगिएको छ । परम्पराअनुसार दुई परिवारलाई चित्त बुझेको बेला एक सिसी रक्सी राखेर केटीका आमाबाबुको शिर उठाएपछि टीकोटालो र ढोगभेट गर्नासाथ उनीहरूको सम्बन्ध स्वीकार्य हुन्छ ।

तामाङ समुदायमा चौरासी
तामाङ समुदायमा पनि चौरासी वर्ष पुगेका बूढाबूढीलाई फेरि भात खुवाइ गर्ने चलन छ । ६ महिने बच्चाको पास्नी जस्तै कार्यक्रम राखिन्छ ।

तामाङ समुदायमा मृत्यु संस्कार
तामाङ जातिमा अन्य जातिमा जस्तै मृत्यु संस्कारलाई महत्वपूर्ण संस्कारको रूपमा लिएको पाइन्छ । यिनीहरू बौद्ध धर्मावलम्वी भएका हुनाले यिनीहरू पूर्वजन्म र पुनःजन्ममा विश्वास गर्दछन् । मृत आत्मालाई मोक्ष दिन बौद्ध धर्मग्रन्थअनुसार लामाको विधिले यो कार्य सम्पन्न गरिन्छ । तामाङ जातिमा मृत्यु संस्कार भित्र पर्ने विधिहरूलाई यहाँ राखिएको छ ।

क) शव उठाउने र शवयात्रा
यो समुदायमा मानिस मरेपछि लासको शिरको छेउमा दियो बालिन्छ । बौद्ध परम्पराअनुसार लामाहरूलाई खबर गरी बौद्ध धर्मशास्त्रको विधिअनुसार फुवा गर्ने लगायतका कर्महरू घरैमा गरिन्छ । लामाले साइत हेरेर मात्र शवयात्रासहित घाटमा लाने गरिन्छ । कुनैकुनै बेला दुई, तीन दिनपछिको साइत निस्किन्छ । यसो भएको खण्डमा छरछिमेकका मान्छे आएर पालैपालोसँग कुर्ने गर्दछन् । राता–पहेँला र सेता कपडाबाहेक अन्य परम्परागत शृंगारका वस्तुले सिंगारेर लास लैजाँदा घ्याङलिङ (धार्मिक सनाई) तथा ढ्यांग्रो, झ्याम्टा बजाउँँदै अघि लाग्छन् । मूल लामा लासको ठीक अघिल्तिर रहन्छन् र घण्टी बजाउँदै, मन्त्र पढ्दै अघि बढ्छन् । उनले हातमा लिएको लामो कपडाको ध्वजाको अर्को छेउ लासको खटसम्म तानिएको हुन्छ । स्वास्नीमानिसहरू मलामी जान यो समुदायमा रोकतोक छैन ।

ख) दाहसंस्कार
तामाङ जातिमा शवयात्रापछिको संस्कारमा दाहसंस्कारको क्रम आउँछ । तामाङहरू दाहसंस्कारको लागि प्रायजसो डाँडामा लाने चलन छ । यो समुदायमा नुन, तेल बार्ने चलन शास्त्रानुसार अनिवार्य नभए पनि कसैकसैले केही दिनसम्म बार्ने गर्दछन् । कसैकसैले ७ देखि १३ दिनभित्र स्यार्कतिङ्सी गर्छन् । तर, वास्तविक सुध्याइ (घेवा) धेरैजसोले ४९ दिनपछि गरेको देखिन्छ ।

ग) पञ्चशीलको पालना
तामाङ जाति बौद्ध धर्मको महायान सम्प्रदायका हुन् । महायानी बुद्धधर्मअनुसार आफन्तको मृत्यु भएको ४९औं दिनसम्म पञ्चशीलको पालना गर्नु पर्दछ । हिन्दु समुदायमा जस्तो कपाल खौरिने, नुन बार्ने, सेतो लुगा लगाउने आदि गर्नु पर्दैन ।

घ) तामाङ समुदायमा घेवा परम्परा
तामाङहरूको अन्तिम संस्कार (समग्रमा) उनन्चास गर्ने, जुठो फुकाउने आदि सबै कार्यलाई घेवा भनिन्छ । घेवा तामाङहरूको अन्त्येष्टि प्रक्रिया हो । यो साधारणतः चार किसिमको हुन्छ ।. (१) बिहाने घेवा, (२) एक राते घेवा (३) तीन दिने घेवा र, (४) सो घेवा ।
१. बिहाने वा एक दिने घेवा : लामाको विधिअनुसार पहिलो दिनको घेवाको नाम एक दिने घेवा वा एक बिहाने घेवा भनिन्छ । एकदिने गर्न पनि दिनभरि लाग्दछ ।

२. एकराते घेवा : लामाकै विधि विधानअनुसार एक राते घेवा बिहान सुरु भएर दिन र रातभर गरेर त्यसको भोलिपल्टको बिहान सकिन्छ । जसको सन्तान छैन त्यस्ताले जीवित अवस्थामा आफैंले पनि यस किसिमको घेवा गर्दछन् ।

३. तीनदिने घेवा : तामाङहरूले मृतकको नाममा तीन दिनसम्म लामाको शास्त्रमा भएको सबै विधि विधान गरेर गरिने घेवा हो यो । पहिलो दिन थाल्ने, दोस्रो दिन फाल्ने, तेस्रो दिन वाङ र टिकाम्हेन्दोको काम हुन्छ ।

४. सो घेवा : सो घेवा कुनै व्यक्तिले आप्mनो जीवनकालमै गर्ने घेवालाई सो घेवा भनिन्छ । प्रायः सन्तान नहुनेहरूले आफू मर्नुअघि नै सो घेवा गर्ने परम्परा छ ।

घेवामा भाग लिने व्यक्तिहरूको आ–आप्mनै भूमिका हुन्छ । मूल पुरोहित लामालगायत उम्जे (बाजा बजाउने), लाइवा (खानपिनको हेरचाह गर्ने), कतुवाके (संयोजक), च्याङ्ला (सगुन वितरणको हेरचाह गर्ने), च्युवा (भाँडाकुँडाको रेखदेख गर्ने), बान्डिल्बा (भण्डारे) छ्याङ्बा (भाँडा माझ्ने) वातिबा (पँधेर्नी) ताम्बा (वंशावलीलगायत ऐतिहासिक कुरा जान्ने) गान्बा (भद्र भलाद्मी)ले तोकिएबमोजिम जिम्मेवारी पूरा गरिरहेका हुन्छन् । घेवामा आउने छरछिमेकी सबैले खाद्यान्न, तरकारी आदि बनाई–तुल्याई ल्याउने चलन पनि छ । अहिले नगद रकम दिएर सघाउने वा मृतकका परिवारलाई सहयोग गर्ने प्रथा बढ्दै गएको छ । मृत्यु संस्कारको बेलामा पनि तामाङ समुदायमा गीत गाउने चलन छ । थुन्दा सोर्बा (मृतकलाई बाटो खर्च दिने) काम सकेपछि मृतकले बाँच्दाको दैनिक जीवनचर्याको विषयमा ज्वाइँ (माक्पा) ले गीत गाउनुपर्दछ । यस्तो गीतलाई ‘कल्पला व्हाई’ भनिन्छ । यसरी ज्वाइँले गीत गाएमा मृतकले जीवनमा पापै गरेको रहेछ भने पनि मुक्ति मिल्छ भन्ने मत पाइन्छ ।

परदेश गएर कुनै व्यक्ति मरेको खबर प्राप्त भयो भने उसको परिवारले घेवा गरिसकेको रहेछ, तर मृतक भनिएको व्यक्ति गाउँ फर्कियो भने उसलाई सोझै घर फर्कन दिइँदैन । एक–दुई दिन बाहिर बस्न लगाएर विधिपूर्वक एउटा ठूलो घ्याम्पोमा पसाएर घ्याम्पो फोरी निकालेपछि मात्र घरभित्र हुल्ने चलन छ ।

तामाङ समुदायमा चाडबाड तथा उत्सव
तामाङहरूले आफ्नो विभिन्न चाडपर्वमा बौद्ध धर्म र परम्पराअनुसार गुम्बा, माने र छ्योर्तेनमा पूजाआज गर्दछन् । तामाङहरू बौद्ध धर्मको महायानी सम्प्रदायभित्र पर्दछन् । उनीहरूकोे विभिन्न महत्वपूर्ण धार्मिक चाडपर्वहरूमध्ये बुद्धजयन्ती, सांस्कृतिक एवं धार्मिक पर्व अर्थात् नयाँवर्ष ल्होछारलाई प्रमुख चाडको रूपमा मान्दछन् । माघेसंक्रान्तिको चाड मनाउँदा घ्याङमा गएर पूजा गरिन्छ । जनै पूर्णिमालाई यो समुदायले गुरुपूर्णे भन्ने गरेको पाइन्छ । सो दिन नारा पूजा र भोज चल्ने गर्छ । घ्याङ चलाउन गुठीको झै सामूहिक जग्गा राख्ने चलन पनि छ । तामाङहरू चैते दसैं, वैशाखी वा बुद्ध पूर्णिमा, साउने संक्रान्ति, दसैं–तिहारजस्ता चाडहरू पनि मनाउने गर्छन् । तामाङ समुदायमा संसारी पूजा अर्थात् भूमि पूजा गर्नेहरू पनि छन्, जसलाई सिद्धस्थान भनिन्छ । आफ्नो थरअनुसारको फरकफरक कुलदेवता (फोला)को पूजा गर्ने प्रचलन पनि छ । कुलदेवताअनुसार फरकफरक प्रक्रियाले पूजा गर्छन् । कसैको लामाले कुलदेवताको पूजा गर्दछन् भने कतै बोन्बो (झाँक्री) ले कुलदेवताको पूजा गर्ने चलन छ । तामाङ जीवन, दर्शन र संस्कारमा मुख्यतया तीन सांस्कृतिक निकाय लामो समयदेखि प्रचलनमा छ । बोन्बो, लामा र ताम्बा । बौद्ध सम्प्रदायमा बदलिनुअघि तामाङहरू प्राकृत बोन थिए  अर्थात् बोन्बोबाट सबै कर्म गर्दथे । पछि लामावाद पनि मिसियो । त्यसअघि नै मौखिक इतिहासविद्, संस्कृतिविद्को रूपमा ताम्बा (कथा भन्ने मान्छे) तामाङ समुदायमा अस्तित्वमा आए । तामाङ संस्कृतिको तीन खम्बा मानिने यी सांस्कृतिक धरोहरहरू अझै अस्तित्वमा छन् ।

नाच र परम्परा
तामाङ समुदायमा तेमाल जात्रा अत्यन्त प्रसिद्ध छ । यो जात्रामा तेमाल क्षेत्रका अन्तिम राजा रिञ्जेन दोर्जे (१८१९ सम्म) आफैं उपस्थित भई तामाङ संस्कृति र परम्परा संरक्षण गर्न हौसला दिने गर्थे । चैतपूर्णिमाको दिन लाग्ने यो जात्राका लागि मानिसहरू हिँडेरै काठमाडौं स्वयम्भू बौद्ध स्तूपामा अघिल्लो दिनै आउथेँ । रातभर स्वयम्भू बौद्ध स्तूपामा बत्ती बालेर स्तूपाको प्रदक्षिणा गरी मानेहरू घुमाउँदा आफूलाई धर्म हुने र मृतक आफन्तले मुक्ति पाउने विश्वास गरिन्छ ।

नेपाली समाजमा तामाङ सेलो अत्यन्तै लोकप्रिय छ । तामाङ सेलो भन्नासाथ हामी डम्फुको तालमा गाइएका चुट्किला, छोटा–मीठा गीत सम्झन्छौं । बिहे तथा चाडपर्वमा हातमा डम्फु लिएर फनफनी घुम्दै, कहिले बस्दै, कहिले उठ्दै हुल बाँधेर आमैले हो… आमैले.. भन्दै नाच्न गाउन रुचाउने रोशे तामाङहरूको निमित्त गीत र नाच जीवनको अभिन्न अंग डम्फु बनेको छ । डम्फु घोरलको छाला र कोइराला–काठबाट घेरा बनाई बाँसका किला प्रयोग गरी बनाइन्छ । यसरी बनाइएको डम्फुको आवाजमा सरस्वतीको स्वरजस्तो दिव्य हुन्छ भन्ने आमधारणा छ । नाचहरूमा डम्फु नाच, दोरा नाच, सरस्वती नाच र देउता नाच प्रमुख छन् । यी सबै नाचमा डम्फु प्रयोग गरिन्छ । धार्मिक जात्राहरूमा व्हाई गीत, फावर गीत, ताम्बा काइतेन गीत र देउता गीत गाइन्छ । दैनिक जीवनमा आधारित वा मायाप्रीतिको गीतलाई फापर गीत भनिन्छ, यी गीतहरू मेलापात, जात्रामा तरुण–तरुणीहरूबीच गाइने चुट्किला हुन् । बिहे, भोजभतेरमा गाइने धार्मिक अर्थपूर्ण लोकगीतलाई ताम्बा काइतेनको गीत भनिन्छ । सरस्वती नाच उत्सवहरूमा, देउता नाच पूजाआजामा र दोरा नाच मृत संस्कारको समयका नाच हुन् ।

तामाङ समुदायमा चन्द्र पात्रोको आधारमा निर्धारण गरिने माघशुक्ल पक्ष प्रतिपदा परेवा अर्थात् प्रथम चन्द्र महिनाको प्रथम दिन (ल्होकोर च्युङनी, १२ जीवहरूको वर्ष चक्रको आधारमा फेरिने) सोनाम ल्होछार वा लोसार, नयाँ वर्ष रमाइलो गरी मनाउने गर्छन् ।
(लेखक मोक्तान काभ्रे, रोशी गाउँपालिका बासिन्दा हुनुको साथै नेपाली काँग्रेस काभ्रेका जिल्लाका नेता पनि हुन् । रोशीबाट )