नेपाली काँग्रेस नेपाली राजनीतिमा सात दशकभन्दा पुरानो पार्टी हो । ७५ वर्षपछि काँग्रेसको शाखमाथि प्रश्न उठाउँन थलिएको छ । नेपाली राजनीतिको समकालीन नेताहरूमा उमेरले सबैभन्दा पाका, पुराना र विचार, व्यवहारले खारिएका नेताहरु पनि नेपाली काँग्रेसमै छन् । राजनीतिक रुपमा सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसमा क्रियाशील सदस्यको विवाद मिलाउँन नसक्नु नेतृत्वको नालायकीपन हो भन्न सकिन्छ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको निकट रहेकाबेला क्रियाशील सदस्यहरूको अन्तिम नामावली तयार गर्ने क्रममा पौडेल समूहले माथापच्ची खेलिरहेको छ । काँग्रेसभित्र जहिले पनि महाधिवेशनअघि सक्रिय सदस्यताको विषयलाई लिएर मारमुंग्री चल्ने गर्छ । अनशन, विवाद, बहिष्कार र हात हालाहालको स्थितिसम्म आउने गरेको छ ।
काँग्रेसको महधिवेशन हुन्छ भन्ने थाहा छ तर कहिले हुन्छ भन्ने काँग्रेसका नेतादेखि कार्यकर्ता र शुभचिन्तकहरुलाई कुनै जानकारी छैन । नेपाली काँग्रेसका १४औं महाधिवेन सम्भवतः आगामी मंसिरमा हुने तयारी गर्न लागिएको बुझिएको छ । तर रामचन्द्र पौडेल समूहले असमति जनाएका कारण पार्टी सभापति शेरबहादुर देउवा अन्यौलमा परेका छन् । पौडेल समूहले आज सोमबार जिल्ला सभापतिहरुको भेला बोलाएका छन्, त्यसले के–कस्तो निश्कर्ष निकाल्छ भन्ने अनुमान लगाउँनु हतार हुनेछ । पार्टीको केन्द्रीय समितिको बैठक दुई दिनपछि अर्थात २८ गते २.०० बजे बस्ने नेपाली काँग्रेसले विज्ञप्ति नै जारी गरि सार्वजनिक गरेको थियो । त्यो पनि कर्मकाण्डिय हुने अनुमान गरिएको छ, अर्थात कुनै नयाँ निर्णय लिन सक्ने सक्दैन भन्ने तरुणको पनि धारणा हो ।
२००७ सालको क्रन्तिमा लडेका नेताहरुको अधिकांशको निधन भएकाले पूर्व विद्यार्थी नेताहरू नै पार्टीमा निर्णायक भएका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवादेखि विमलेन्द्र, प्रकाशमान, मिनेन्द्र रिजाल, बालकृष्ण खाँड, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कल्याण गुरुङ, किरण पौडेल, गगन थापा, विश्वप्रकाश शर्माजस्ता नेतासम्म आइपुग्दा चौथो पुस्ताको विद्यार्थी नेतृत्वले पार्टीमा अगुवाई गरिरहेको छ । पछिल्लो समय युवाहरूमा राजनीतिप्रति वितृष्णा बढेको भनिएको अवस्थामा समेत युवाहरूको उल्लेख्य संख्या देखिनु काँग्रेसका लागि उत्साहजनक नै हो । तर, काँग्रेस मूलतः बाहुन, क्षेत्री पुरुषहरूको दलजस्तो देखिएको छ । महिला, दलित, मधेसीलगायत समुदायको नेतृत्वमा उपस्थिति अत्यन्त न्यून देखिनुले काँग्रेस नेपाली समाजको वास्तविक प्रतिबिम्ब बन्न नसकेको एक थरीको दावीलाई अन्यथा भन्न मिल्ने अबस्था छैन । यो केवल संख्याको प्रश्न मात्र होइन, हामी कस्तो राजनीतिक भविष्य निर्माण गर्न चाहन्छौँ भन्ने प्रश्न पनि हो । काँग्रेस, एमाले र माओवादीजस्ता राजनीतिक दलहरूले पनि आफूलाई समावेशी बनाउन सकेनन् भने त्यसले समाजमा विद्यमान विभेद र असमानताको शक्ति सम्बन्ध बदल्न होइन, निरन्तरता दिन मात्र सहयोग गर्छ भन्नेतिर यी दलको ध्यान जानुपर्ने देखिन्छ ।
प्रतिनिधिसभा सदस्यबाटै राजीनामाका धम्कीमाझ काँग्रेस आफ्नो सक्रिय सदस्यतासम्बन्धी विवादलाई अभैm किनारा लगाउँन सकिरहेको छैन । गत असारभित्रै क्रियाशील विवाद टुंग्याउँने रमेश लेखक समितिले साउन १२ गते मंगलबार मात्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लगाउन गठित समितिले प्रतिवेदन बुझाएको छ । यो प्रतिवेदनले समेटेको सदस्यतासम्बन्धी विवरणले काँग्रेसलाई आफ्नै अनुहार हेर्ने अवसर पनि दिएको छ । युवा सदस्यको संख्या उल्लेख्य देखिनु सकारात्मक भए पनि महिला, दलित, मधेसीलगायत समुदायको उपस्थिति न्यून देखिनुले काँग्रेस नेपाली समाजको वास्तविक प्रतिबिम्ब बन्न नसकेको संकेत गरेको छ ।
नेपाली काँग्रेसमा नयाँ थप र समायोजन गरेर ८ लाख ५२ हजारभन्दा बढी क्रियाशील सदस्य पुगेका छन्, जसमा नयाँ चार लाख ४३ हजार ६७८ र नवीकरण गरिएका ४ लाख ९ हजार ३३ जना छन् । काँग्रेसको आगामी महाधिवेशनका लागि १७६ जना तेस्रो लिंगीले पनि क्रियाशील सदस्यता पाएका छन्, यो नै खुशीको कुरा पनि हो । क्रियाशील सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष र एक लाख ९९ हजार ९७ जना महिला छन् । उमेर समूह अनुसार, सबैभन्दा बढी ४१ देखि ६० वर्षका छन् । प्रतिवेदनका अनुसार यो उमेर समूहका ३७.३० प्रतिशत अर्थात् तीन लाख २८ हजार २३४ जनाले क्रियाशील सदस्यता पाएका छन् । यस्तै, १६ देखि २५ वर्षसम्मका ४.५९ प्रतिशत अर्थात् ४० हजार ४२७ जना र २६ देखि ४० वर्षसम्मका २८.३७ प्रतिशत अर्थात् दुई लाख ४९ हजार ७७४ जना सदस्य बनेका छन् । २६ वर्षदेखि ४० वर्षसम्मकाले २८.३७ प्रतिशत नागरिकले क्रियाशील सदस्यता पाउँनु भावी नेतृत्वको स्पष्ट संकेत हो । काँग्रेसको सदस्यता विवरणले देखाएको आशालाग्दो पक्ष भनेको युवाहरूको अझै पनि काँग्रेसमा देखिएको आकर्षण हो । क्रियाशील सदस्य प्रतिवेदन अनुसार काँग्रेसमा १६ देखि २५ वर्ष उमेर समूहका सदस्यहरूको संख्या ४.९ प्रतिशत रहेको छ । त्यसैगरी, २६ देखि ४० वर्ष उमेर समूहका सदस्यको संख्या दुई लाख २९ हजार रहनु नै शुभ संकेत हो । यसले काँग्रेसमा युवापुस्ताको उपस्थिति प्रभावशाली रहेको देखाएको छ । काँग्रेसको केन्द्रीय नेतृत्वमा ६० कटेकाहरूको बाहुल्य रहे पनि काँग्रेसको निर्णायक शक्ति भने ६० वर्षमुनिका सदस्यहरूकै रहेको हाम्रो पनि ठम्याई छ ।
केही दिनअघि सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा अन्य पार्टीबाट प्रवेश गरेका नेता, कार्यकर्ताहरूलाई कसरी क्रियाशील सदस्यता वितरण गर्ने ? भन्ने सम्बन्धमा केन्द्रित भएर छलफल शुरु मात्रै भएको छ । अन्त भएको छैन । ६१ वर्षमाथिका सदस्यको संख्या १० प्रतिशतभन्दा पनि कम छ । एउटा राजनीतिक दलको भविष्य त्यसमा नयाँ र युवा उमेर समूहका सदस्यको भर्ती कति हुन्छ भन्नेमा धेरै हदसम्म निर्भर रहन्छ । जुन दलमा नयाँ पुस्ताको आकर्षण रहँदैन, त्यसको भविष्य पनि हुँदैन । नेपाली राजनीतिमा लामो समयसम्म विद्यार्थीबाटै पार्टी राजनीतिमा प्रवेश गर्ने परम्परा रहेको छ । पञ्चायत ढलेको पनि विद्यार्थी, कर्मचारी आन्दोलनले नै हो । पार्टीहरुले त नीति निर्माण गर्ने र अगुवाई मात्रै गर्ने हो । यो देशको निर्णायक शक्ति त युवा नै हुन् । नेपालको राजनीति, आगे हेर्दै जाउँ ।