रोशी गाउँपालिका–१ वडाअध्यक्ष हुँ म श्रीदास लामा । मेरो वडा कार्यालयबाट गाउँपालिकाको कार्यालय आउन–जान मोटरसाइकलमा करिब दुई घण्टाजति लाग्छ । हिँडेर चार घण्टा जति लाग्छ । वर्षायाममा गाडी चल्दैन । बीपी राजमार्गबाट वडा कार्यालयसम्म १२ किलोमिटर कच्ची सडक छ । त्यसैगरी, खोपासी हुँदै पनि वडा कार्यालयसम्म कच्ची सडक पुगेको छ । खोपासीबाट करिब २० किलोमिटर कच्ची सडक जोडिएकाले पनौती, धुलिखेल तथा राजधानी काठमाडौं आवत्जावत सहज बनेको छ । वडाका सबै गाउँहरूमा कच्ची सडक पुगेको छ ।
पनौती–सुन्थान हुँदै कटुञ्जेबेंसीसम्म रोशीको किनारैकिनार वैकल्पिक राजमार्ग निर्माण हुँदैछ, बन्यो भने हामी सुगमका बासिन्दा हुनेछौं । यो राजमार्ग पक्की हुनासाथ हाम्रो वडा धेरै नै सुगम हुन्छ । करिब डेढ घण्टामा राजधानी काठमाडौं पुग्न सकिन्छ भने एकाध घण्टामा गाउँपालिकाको कार्यालय कटुञ्जेबेंसी तथा जिल्ला सदरमुकाम धुलिखेल पुग्न सकिन्छ । यो सडकका लागि रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिका दुवैले बजेट विनियोजन गरेका छन् । धमाधम काम भइरहेको छ । बाटो निर्माणका लागि कोभिड–१९ ले असर पारेको छ ।
तीन प्रावि र एक मावि छन् । माविमा तीन सय १३ विद्यार्थी छन् । प्राविमा भने १५–२० जनाको दरले विद्यार्थी छन् । आधारभूत तहसम्मको एउटा बोर्डिङ पनि छ । रोशी गाउँपालिकाको सबैभन्दा सुन्दर पक्ष भन्नु नै मुलुकका प्रायः सबै राजनीतिक पार्टीको प्रतिनिधित्व हो । नेपाली कांग्रेस, राप्रपा, एमाले, माओवादी, मोहन वैद्य नेतृत्वको माओवादी, फोरम गरी ६ वटा पार्टीको प्रतिनिधित्व गाउँपालिकामा छ, तर पनि कुनै विवाद छैन । मुलुकका ७५३ पालिकामध्ये सबैभन्दा धेरै पार्टीको प्रतिनिधित्व भएको र विवादरहित ढंगबाट काम अघि बढेको सायद रोशी गाउँपालिका नै होला ।
पहिलो कुरा त, हामी जनप्रतिनिधिहरू प्रायः एउटै उमेर समूहका छौं, अर्थात् युवाहरू छौं । रोशी गाउँपालिकालाई कस्तो बनाउने ? भन्ने एजेन्डामा हामी सबै चिन्तित छौं । संविधानले पनि स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्षको कल्पना गरेको छैन । निर्वाचित हुने सबै जनप्रतिनिधिहरूको साझा सत्ता हो स्थानीय तह भनेको । यो मर्म हामीले बुझेका छौं, त्यसैले हाम्रो पालिकामा कुनै विवाद छैन ।
हामीले आधाभन्दा बढी कार्यकाल काम गरिसक्यौं । अन्तिम वर्ष त चुनावी वर्ष भइहाल्यो । त्यसैले हामीले काम गरेर देखाउने समय अब एक वर्ष मात्रै बाँकी छ । त्यो अवधिसम्म धेरै काम गर्नुपर्नेछ । यो साढे दुई वर्षको अवधिमा देखिने उपलब्धिहरू रोशी गाउँपालिकामा के के भए त ? भन्ने प्रश्न अब जनताले गर्ने बेला भइसकेको छ ।
गाउँपालिकाबाटै वडा नम्बर ३ मा महागुरु रिम्पोछेको र वडा नम्बर ९ मा बुद्धको मूर्ति स्थापना गरेका छौं । वडा नम्बर १२ को बीपी राजमार्गमा काभ्रेपलाञ्चोक जिल्ला प्रवेशद्वारको निर्माण भएको छ । सबै गाउँहरूमा कच्ची सडक र बिजुलीको सुविधा पुगिसकेको छ । खानेपानीको सुविधा पनि धेरैजसो गाउँमा पुगिसकेको छ । सबै घरमा शौचालयहरू छन् । तर दुई–तीनवटा घर मात्रै भएका दुर्गम गाउँमा विद्युतीकरण, सडक निर्माण तथा खानेपानी पु¥याउन समस्या देखिएको छ । खर्च धेरै ठूलो, तर उपलब्धि थोरै भएका कारण समस्या परेको हो । यो समस्याका विषयमा जिल्ला समन्वय समिति, प्रदेश सरकार र संघीय सरकारलाई अवगत गराएका छौं ।
वडा नम्बर २ र ३ मा भेटिएका अवशेषहरू महाभारतकालीन हुन् भन्ने किंवदन्ती छ । यसको अनुसन्धानका लागि पुरातत्वविद्हरूलाई झिकाउने प्रक्रिया सुरु गरेका छौं । लामो फलामे साँघु हुँदै बेथानचोकसम्म टे«किङ रुट निर्माणका लागि त्यस क्षेत्रमा जोडिएका विभिन्न पालिकाहरूसँग छलफल भइरहेको छ ।
सडक मात्रै निर्माण भएर हुँदो रहेनछ । नियमित गाडी चल्नका लागि रुट चाहिने रहेछ । त्यसैले कटुञ्जेबेंसीदेखि रोशीको किनारै किनार खोपासी जोड्ने वैकल्पिक राजमार्गको अवधारणा अघि बढाएका हौं । यो सडक बन्नासाथ रोशी गाउँपालिकाको अधिकांश क्षेत्र धेरै नै सुगम हुनेछ । काभ्रेभन्ज्याङदेखि दाप्चासम्मको सडक पिच भयो भने अझ सुगम हुनेछ ।
खेतीपाती र पशुपालन हाम्रो वडाको मुख्य पेसा हो । कृषियोग्य भूमि प्रचुर छ, जुन भूमिमा खेती गर्न सकिन्न त्यो भूमिमा पशुपालनको सम्भावना प्रचुर छ । तर अहिलेसम्म पनि निर्वाहमुखी मात्रै छ । व्यावसायिक हुन सकेको छैन ।
यस क्षेत्र विगतमा प्याज खेतीका लागि कहलिएको थियो । राजधानी काठमाडौंको बजारको निकै ठूलो हिस्सा यस क्षेत्रको प्याजले लिएको थियो । तर किसानहरूले अहिले प्याज खेती गर्न छाडेका छन्, भारतमा समेत प्याजको अभाव भएपछि चीनबाट नेपाल ल्याइएको छ । यो हाम्रो लागि मात्र होइन, देशकै लागि चिन्ताको विषय हो । प्रश्तोता ः परशु घिमिरे
(रोशी गाउँपालिका–१ का वडाअध्यक्ष श्रीदास लामा (घिसिङ) केही समयअघि कुराकानी गरेको थिएँ । उनीसँग भएको कुराका आधारमा परशु घिमिरेले यो लेख तयार गरेका हुन् ।)