अफगानिस्तानका महिलाहरुलाई तत्काल काम नजान तालिवानको उर्दी

अफगानिस्तानका महिलाहरुलाई तत्काल काम नजान तालिवानको उर्दी तरुण खबर २८ भाद्र २०७८, सोमबार ०९:५५
अफगानिस्तानका महिलाहरुलाई तत्काल काम नजान तालिवानको उर्दी

काठमाडौं । अफगानिस्तानका विश्वविद्यालयहरूलाई लिङ्गका आधारमा विभाजित गरी पोसाक सम्बन्धी नयाँ नियम लागु गरिने तालिबानले जनाएको छ । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन् । उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन् । सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो ।

तालिबानले महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । तर गत अगस्ट १५ तारिखमा सत्ता आफ्नो हातमा लिएसँगै उसले सुरक्षा अवस्थामा सुधार नआएसम्म जनस्वास्थ्यकर्मी बाहेक अन्य महिलाहरूलाई कामबाट टाढै रहन भनेका छन् । आफ्नो शासनको सुरुवातको सङ्केत गर्नका लागि तालिबानले राष्ट्रपति भवनमा आफ्नो झन्डा फहराएको भोलिपल्ट तालिबानको उच्च शिक्षा सम्बन्धी नीति घोषणा गरिएको थियो । तालिबानले एक महिनाअघि निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता हालमा लिएको थियो ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु ग¥यो बीबीसीको आजको समाचारमा छ । तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार ग¥यो । त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो । यद्यपि उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो ।

अन्तर्राष्ट्रिय गठबन्धनले सन् २०१४ मा आफ्नो सैन्य अभियानअन्त्य ग¥यो र अफगान फौजलाई तालिम दिनमा मात्रै आफूलाई सीमित राख्यो । त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्न खोजेको थियो । आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू फेरि कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरे । तर अमेरिका भने एक्लैले हवाई हमलालगायत युद्ध कारबाही चलाएर निरन्तर सक्रिय रह्यो । तालिबानले पनि आफ्नो गतिविधि कायमै राख्यो ।

के हो तालिबानको शक्ति ?
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो । अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए । साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ । पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो । तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो । चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो । तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो । टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो । अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन ।

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार ग¥यो । सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो । त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो । राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो । सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो । सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो ।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो । डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो । तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ । तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ । तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो । त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए । दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो ।