नयाँ सोचसहितको नेतृव आजको आवश्यकता

नयाँ सोचसहितको नेतृव आजको आवश्यकता तरुण खबर ९ आश्विन २०७८, शनिबार १०:२७
नयाँ सोचसहितको नेतृव आजको आवश्यकता

नेपाल विद्यार्थी संघबाट राजनीतिमा खरिएकी युवा नेतृ हुन् कमला न्यौपाने । स्याङ्जाको गल्याङमा जन्मिएकी उनले त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तर उत्र्तीण गरेकी छन् । निष्ठाको राजनीतिमा विश्वास गर्ने न्यौपाने पार्टीमा विचार र सिद्धान्त खुम्चिँदै गएको ठान्छिन् । कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीत रहेर युवा नेतृ न्यौपानेसँग कालिका महतले गरेको कुराकानी :

तपाईंको थातथलो कहाँ हो ?
स्याङ्जा जिल्ला संघीय निर्वाचन क्षेत्र नं. २, गल्याङ नगरपालिका वडा नं. ३ मा मेरो घर हो । त्यहाँबाट नेपाली काँग्रेसको वडास्तरको निर्वाचनमा क्षेत्रीय प्रतिनिधि चुनिएकी छु ।

स्याङ्जामा काँग्रेस महाधिवेशनको चहलपहल कस्तो छ ?
यतिबेला काँग्रेस १४औं महाधिवेशनमा होमिएको छ । त्यसैले देशैभर काँग्रेसको लहर र चहलपहल बढेको छ । त्यसैगरी स्याङ्जा जिल्लामा पनि काँग्रेसको लहर र चहलपहल ह्वात्तै बढेको छ ।

क्षेत्रीय प्रतिनिधि चयन हुनुभयो, अब तपाईंको उम्मेदवारी केमा हो ?
म स्याङ्जा जिल्ला संघीय निर्वाचन क्षेत्र नं. २ बाट काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी छु । क्षेत्रीय प्रतिनिधि बन्दा त्यहाँका क्रियाशील सदस्यहरु, अग्रज नेता, कार्यकर्ताबाट राम्रो साथ, सहयोग र समर्थन पाएकी छु ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि जित्छु भन्ने लाग्छ ?
जसरी क्षेत्रीय प्रतिनिधि बन्दा त्यहाँका अग्रज नेता, कार्यकर्ताहरुबाट साथ, सहयोग पाएँ । त्यहीं आडमा केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएकी छु । त्यसैगरी उहाँहरुको साथ, सहयोग र समर्थन पाउने छु भन्ने विश्वासमा छु । चुनाव भनेको दाजु, भाइ, दिदीबहिनी, आमा, बुबाको साथ, सहयोग र समर्थनमा जित्ने हो । त्यसकारण केन्द्रीय प्रतिनिधि छानिन्छु भन्नेमा ढुक्क छु ।

विद्यार्थी राजनीति कहाँबाट सुरु गर्नुभयो ?
मैले पद्मकन्य क्याम्पस बागबजारबाट नेपाल विद्यार्थी संघको राजनीति सुरु गरेकी हुँ । पद्मकन्य क्याम्पसमा भर्ना भएपछि नेविसंघमा आबद्ध भएँ । त्यसबाट संघर्ष गर्दै गएर नेविसंघको केन्द्रीय सह–महामन्त्री निर्वाचित हुन भ्याएँ ।

त्यसपछि काँग्रेसको पार्टी राजनीतिमा प्रवेश गर्नुभएको हो ?
नेविसंघको राजनीतिमा केन्द्रीय सह–महामन्त्री भइयो । पछिल्लो समय पार्टीका भ्रातृ, मातृ र शुभेच्छुक संस्थाहरुको अधिवेशन पनि ढिलाढिला हुन थाल्यो । अब पार्टी राजनीतिमा प्रवेश गरियो । विद्यार्थी राजनीति पनि पहिला हाम्रो पालामा जस्तो चुस्तदुरुस्त ढंगले अगाडि आउन सकेको छैन ।

महाधिवेशन जितिसकेपछि पनि नेविसंघमा आउनुहुन्छ ?
केन्द्रीय महाधिवेशन प्रतिनिधि जितेर पार्टी राजनीतिमा प्रवेश गरिसकेपछि नेविसंघमा फकिन्न । पार्टी राजनीतिबाटै अगाडि बढ्ने विचारले महाधिवेशन प्रतिनिधि लडेकी हुँ । अब विद्यार्थी राजनीतिमा फर्किने कुरै हुँदैन ।

तपाईंको उम्मेदवारी महिला कोटाबाट हो ?
काँग्रेसमा विभिन्न जातजाति, समुदायलाई समेटेर महिलाको कोटाको व्यवस्था गरिएको छ । खुल्ला महिला र खस आर्य पनि छ । तिनैमध्येबाट मेरो उम्मेदवारी रहन्छ । साथीभाइहरुसँग सरसल्ला हुँदै छ । मेरो उम्मेदवारी खुल्ला महिलाबाट हुन सक्छ ।

पढाइलाई कहाँ पु-याएर छोड्नुभयो ?
पढाइको कुरा गर्नुपर्दा मैले राजनीतिशास्त्र र समाजशास्त्र गरी दुईवटा विषयमा डिग्री सकिसकेकी छु । त्यसपछि पीएडी गर्ने विचारमा छ ु। त्यसको लागि समय मिलिराखेको छैन ।

तपाईंंहरुले गर्नुभएको लगानीको प्रतिफल काँग्रेसबाट पाउनुहुन्छ ?
पाउनुपर्छ । त्यो शीर्ष नेताहरुको जिम्मेवारी र दायित्व हो । हामीले पनि पाउनुपर्छ भनेर आवाज उठाउनुपर्छ । पार्टीमा लागि परेका कसैको पनि राजनीति हत्या हुनुहुँदैन । म लगायत धेरै साथीहरुले विभिन्न तहतप्कामा बसेर भूमिका निर्वाह गर्नुभएको छ । त्यसको पार्टीबाट उचित मूल्यांकन हुनुपर्छ ।

भनेको बेलामा भ्रातृ, शुभेच्छुक संस्थाको अधिवेशन हुँदैन अनि नयाँ पुस्ता यो पार्टीमा के पाउँछु भनेर लाग्छ ?
सशस्त्र विद्रोह, २०६२÷६३ आन्दोलनले गर्दा ती संस्थाहरुको अधिवेशन अलमलिन गयो । त्यसैले महाधिवेशन हुन समय लाग्यो । अहिले पनि माउ पार्टीको अधिवेशन हुन लागेको छ । भ्रातृ, शुभेच्छेक संस्थाहरुको अधिवेशन हुन सकेको छैन । तर, ढिला हुँदैमा नयाँ पुस्ताले केही नपाउने भन्ने हुँदैन ।

काँग्रेसमा युवाको कुरा उठिरहँदा नेताहरु पुरानै सोच र शैली देखिन्छ नि ?
समय अनुसार परिवर्तन स्वीकार्न नसक्नु अग्रजहरुको कमजोरी हो । उहाँहरु हिजो निरंकुश राणा शासन अथवा एकदलीय पञ्चायती शासनसँग जसरी लडेर आउनुभयो । आज पनि त्यहिं सोच र शैलीमा रुमलिई रहनुभएको छ । उहाँहरुले एक्कासौं शताब्दीका युवाको भावना, चाहना र सोच, विचार बुझेर परिवर्तन हुन जरुरी छ । उहाँहरुले ‘म पहिला लडभीड गरेको सिनियर नेता हुँ’ भनेर पार्टीलाई पुरानो शैलीमा खुम्च्याएर राख्नुहुँदैन । उहाँहरुले आपूmअनुकूल चल्नेलाई मात्रै प्रवेश दिने बाउन्ड्री बनाउनुभएको छ । गलत हो, त्यसरी पार्टी चलायमान हुँदैन । पार्टीलाई युवाहरुको आकर्षणको केन्द्र बनाउन पुराना शैलीलाई नेतृत्वले परिवर्तन गर्नुपर्छ ।

त्यो खाले सोच कांग्रेस नेताहरुमा छ त ?
त्यस्तो सोच र भावना भएका नेताहरु हुनुहुन्छ । तर, उहाँहरुले व्यवहारमा कसरी हेर्नुहुन्छ भन्ने दृष्टिकोण मात्रै फरक हो । पार्टीलाई सबैको आशा, भरोस र विश्वासको केन्द्र बनाउनुपर्छ भन्ने नेताहरुमा छ । व्यक्तिगत रुपमा स्वीकार्न नसक्नु समस्याको विषय हो ।

काँग्रेसमा युवा नेतृत्वको सम्भावना कत्तिको छ जस्तो लाग्छ ?
नेपाली काँग्रेसमा युवा आगमनको मार्ग प्रशस्त भइसकेको छ । पार्टीको महामन्त्रीमा त धेरै जना युवा नेताहरुबाट उम्मेदवारी घोषणै भइसक्यो । सभापतिमा पनि दोस्रो पुस्ताका नेताहरुले घोषणा गरिरहनुभएको छ । यसले पनि युवाहरुको सम्भाव छ भन्ने देखाउँछ । त्यसैले राजनीतिमा सम्भावनै छैन भन्न मिल्दैन ।

काँग्रेसमा क्रियाशील सदस्यताको नाममा विवाद हुनुको कारण के जस्तो लाग्छ ?
नेपाली काँग्रेस अथाह सम्भावना बोकेको डेमोक्रेसीको सागर हो । त्यो सागरमा धेरै नदी, खोला, झरना र मूलको संगम हुन्छ । यहाँ विभिन्न जातजाति, वर्ग, समुदायहरुलाई समेट्नुपर्ने छ । त्यसमा जनजाति, दलित, उत्पीडित, अल्पसंख्यक, मधेसी, मुस्लिम, थारुलगायत तमाम जाति, वर्ग, समुदायलाई समेट्नुपर्ने भएकाले पनि केही जिल्लामा विवादहरु आएका छन् । ठूलो परिवार भएपछि अलिअलि विवाद स्वभाविक हो । फेरि हामी स्थानीय, प्रदेश र संघीय निर्वाचनको संघारमा आइपुगेका छौं । त्यसलाई मध्येनजर गरेर सबै वर्ग, समुदायलाई पार्टीमा समेटेर लानुपर्ने छ । त्यो भएर पनि केही ढिलासुस्ती भएको हुन सक्छ ।

यतिलामो विवादको चुरो चाहीं के होला ?
यसको ठ्याक्कै चुरो कुरा चाहीं अहिले नेपाली काँग्रेसमा राप्रपालगायत अन्य पार्टीहरु पनि मर्ज भएर आएका छन् । त्यसरी पार्टी मिलाएर नेताहरु प्रवेश गरेर आउँदा अन्य सदस्यहरुलाई कसरी समायोजन गर्ने भन्ने विषयमा बढी विवाद देखिएको जस्तो लाग्छ । सिंगै पार्टी मर्ज भएर आउँदा त्यहाँका सदस्यहरुलाई कुन तहमा मिलाउने भन्नेमा अलिकति विवाद देखिएको छ । जस्तो ५८ जिल्लामा त निर्विवाद सम्पन्न भएको छ । मर्ज भएर आएका केही जिल्लाका केही ठाउँमा देखिएको हो । त्यो पनि अब विस्तारै समाधान हुँदै गएको छ ।

नेपाली काँग्रेसप्रति जनआकर्षण किन बढेरको हो ?
अहिलेको अवस्थामा नेपाली काँग्रेसप्रति आकर्षण बढ्नु स्वाभाविक हो । जहिले पनि देशलाई अप्ठ्यारो परेको बेला काँग्रेसले अभिभावकको भूमिका निर्वाह गर्दै आएको छ । त्यो चाहे माओवादी द्वन्द्वबाट मुलुकलाई शान्ति प्रक्रियामा ल्याउँदा होस् अथवा संविधान निर्माण र घोषणा गर्दा होस् । ती कामहरु नेपाली काँग्रेसको नेतृत्वमा सफल भए । संविधान निर्माणपछि देशमा कम्युनिष्ट सरकार बन्यो । त्यसबेला जनताले धेरै दुःख र हण्डर खेप्नुप¥यो । उनीहरुको दुई तिहाई हाराहारीको बहुमत थियो । तर, उनीहरुले जनचाहना अनुसार काम गर्न सकेनन् । सरकार पनि पुरा समय चलाउन सकेनन् । घुमिफिरी काँग्रेसकै नेतृत्वमा देश आइपुपुग्यो । त्यसकारण काँग्रेसप्रति आकर्षण बढेको हो ।

काँग्रेस नेताहरुमा जनताको आकर्षण थेग्न सक्ने क्षमता देखिएन नि ?
नेताहरुमा क्षमतै नभएको भन्न त मिल्दैन । उहाँहरुले त्यो क्षमता राख्नुहुन्छ । तर, धेरै जनाको विचार, भावनालाई एकठाउँमा ल्याउन खोज्दा विवाद जस्तो देखिएको छ । सबैका सोच, विचार, भावनालाई समेन्ट खोज्दा थोरै ढिलासुस्ती भएको हो । लोकतान्त्रिक पार्टीमा त्यसलाई ठूलो ठान्नु हुँदैन ।

तपार्इंसँग महिलाहरुको लागि कस्तो योजना छ ?
म महिलातर्पmबाट उम्मेदवार बनिरहँदा पक्कै पनि जिल्लावासी महिलाको चाहना, भावना र आवश्यकताको सम्वोधन गर्नुपर्छ । त्यसको लागि उहाँहरुलाई सीपमुलक तालिमद्वारा अभिप्रेरित गरेर उद्यमशीलता बनाउन पहल गर्ने छु । अधिकारका लागि चेतनामूल कार्यक्रममार्फत शुसुचित गर्ने छु । विभिन्न क्षेत्रमा महिला सहभागिताको लागि जातिजाति, वर्ग, समुदायलाई समावेसी सहभागिताको आवाज बुलान्द गर्ने छु । रोजगारीका लागि विदेशिन वाध्य युवाहरुको सीप, क्षमता अभिवृद्धि गरी स्वदेशमै स्वरोजगार बन्न अभिप्रेरित गर्ने भूमिका रहने छ ।
कमला न्यौपाने स्याङ्जा क्षेत्रं नं. २ की महाधिवेशन प्रतिनिधि हुन्