समृद्धिको दिशामा ढुंखर्क, काठमाडौंबाट दैनिक ४० लाख भित्र्याउँछ

समृद्धिको दिशामा ढुंखर्क, काठमाडौंबाट दैनिक ४० लाख भित्र्याउँछ परशु घिमिरे २४ आश्विन २०७८, आईतवार १०:१७
समृद्धिको दिशामा ढुंखर्क, काठमाडौंबाट दैनिक ४० लाख भित्र्याउँछ

काठमाडौं । गाउँहरू सुक्दै जाने र शहरहरू फुक्दै जाने महारोग नेपालभरि व्याप्त छ । गाउँहरूलाई चुसेर शहर मोटाउने विश्वव्यापी विशेषता नै हो । तर काभ्रेपलान्चोक जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेको बेथाञ्चोक गाउँपालिका–२ को ढुंखर्क यस्तो गाउँ हो, जुन गाउँले शहरलाई चुस्दै आफू मोटाउँदै गएको छ । राजधानी काठमाडौंबाट करिब ४६ किलोमिटर, बनेपाबाट करिब २५ किलोमिटर र पनौतीबाट करिब १८ किलोमिटर दूरीमा रहेको ढुंखर्कले शहरबाट दैनिक करिब ४० लाख रूपैयाँ भित्र्याउने गरेको अनुमान गरिएको छ । करिब २१ हजार जनसंख्या रहेको बेथाञ्चोक गाउँपालिकाको ढुंखर्क क्षेत्रले मात्र शहरबाट दैनिक ४० लाख रूपैंया भित्र्याउनु भनेको सानोतिनो उपलब्धि होइन ।

स्थानीय पार्वती बहुमुखी क्याम्पसका शिक्षक राजेश तिमल्सिनाका अनुसार ढुंखर्कबाट दैनिक १५ हजार लिटर दूध काठमाडौं निर्यात हुन्छ । दैनिक पाँच सय किलो खुवा निर्यात हुन्छ । यसैगरी सिजनमा दैनिक १० मिनिट्रक र बेसिजनमा दैनिक दुई मिनिट्रक तरकारी निर्यात हुन्छ । गाउँमा कमाएको पैसा शहरमा ल्याएर घर घडेरी किन्न खर्च गर्ने, शहरका बोर्डिङहरूमा छोराछोरी राखेर पढाउने प्रचलनले मुलुक आक्रान्त छ । तर ढुंखर्क यस्तो गाउँ हो, जहाँका प्रायःजसोले आफूले कमाएको रकम आफ्नै थातथलोमा खर्च गरेका छन् । जसको प्रत्यक्ष नमुना बनेको छ बेथाञ्चोक–२ को ढुंखर्कको गेल्डुङ बजार ।

बेथाञ्चोक गाउँपालिका–२ का वडाध्यक्ष भगवान घिमिरेले दिएको जवाफ– २०४६ साल अघिसम्म वर्षमा दुई बाली मकै, गौँ वा तोरी खेती हुन्थ्यो । तोरी आफैंलाई ठिक्क हुन्थ्यो । थोरै परिवारले मकै बिक्री गरेर नुनतेल तथा लत्ताकपडाको गर्जो टार्थे । पशुपालनबाट केही आम्दानी हुन्थ्यो । छाकको दुई लिटरसम्म दूध दिने भैंसी त्यतिबेला अब्बल मानिन्थ्यो ।

२०४३ सालमा जन्मेका शिक्षक राजेश तिमल्सिना भन्छन्– ‘मैले थाहा पाउँदा गेल्डुङमा चारवटा स–साना घर थिए, ती घरमा खुद्रा पसलहरू थिए ।’ तर यतिबेला गेल्डुङ क्षेत्र नगरपालिका घोषणा गर्न मिल्ने बजारमा परिणत भएको छ । तीन सयको हाराहारीमा आरसीसी ढलान गरेका पक्की घरहरू छन् । घरहरू पाँच तलासम्मका छन् । सडकमा एक डेढ सय मोटरसाइकल पार्किङ गरेर राखिएको भेटिन्छ । बजार क्षेत्रमा प्रतिआना १७ लाख रूपैयाँसम्ममा घडेरी किनबेच भइरहेको छ । बन्द व्यापार त फस्टाएको छ नै, उद्योग व्यवसायसमेत फस्टाउन थालेको छ । सानाठूला गरी करिब दुई दर्जन उद्योगहरू सञ्चालनमा छन् । दुई वर्षअघिदेखि ग्लोबल बैंकको शाखा कार्यालय खुलेको छ । लघुवित्त सहकारीहरूको संख्या करिब आधा दर्जन छ । शिक्षाशास्त्र र व्यवस्थापन विषयको पढाइ हुने क्याम्पस छ । क्याम्पसमा ६० प्रतिशतभन्दा बढी छात्रा छन् । क्याम्पसका ६० प्रतिशतभन्दा बढी शिक्षक स्थानीय हुन् । राजधानी काठमाडौंबाट दैनिक आधा दर्जन बस चल्छन् ।

वडाअध्यक्ष भगवान घिमिरेको जवाफ
ज्यादै सुखद वर्तमान र उज्ज्वल भविष्य बोकेको ढुंखर्कको विगत भने धेरै नै कहालीलाग्दो थियो । धेरै टाढा जानुपर्दैन, २०४६ सालको परिवर्तनअघि कस्तो थियो त ढुंखर्क ? बेथाञ्चोक गाउँपालिका–२ का वडाध्यक्ष भगवान घिमिरेले दिएको जवाफ– वर्षमा दुई बाली मकै, गौँ वा तोरी खेती हुन्थ्यो । तोरी आफैंलाई ठिक्क हुन्थ्यो । थोरै परिवारले मकै बिक्री गरेर नुनतेल तथा लत्ताकपडाको गर्जो टार्थे । पशुपालनबाट केही आम्दानी हुन्थ्यो । छाकको दुई लिटरसम्म दूध दिने भैंसी त्यतिबेला अब्बल मानिन्थ्यो । दूध बिक्रीका लागि बजार थिएन । कसैकसैले तीन घन्टा लगाएर पनौतीसम्म पुगी घ्यू बिक्री गर्थे, धेरैपछि खुवा बनाएर बिक्री गर्न थालियो । धानको भात खाने चलन चाडपर्वमा मात्रै थियो । गाउँलेहरू मिलेर धान किन्न एकदिनको बाटो मकवानपुरको फापरबारी पुग्थे । राति २ बजे हिँडेपछि दिउँसो २ बजे फापरबारी पुगिन्थ्यो । त्यहाँबाट धानको भारी बोकेर फर्केपछि बीचमा बास बस्नुपथ्र्यो, अर्को दिन राति मात्रै घर आइपुगिन्थ्यो । नुनतेल तथा लत्ताकपडाका लागि तीन घन्टा हिँडेर खोपासी बजार पुग्नुपथ्र्यो । अरु बेला त खासै दुःखको अनुभव हुँदैनथ्यो, तर मर्दापर्दा कात्रो किन्नसमेत दुई घन्टा टाढा जानुपर्ने भएकाले लास उठाउन ढिला हुन्थ्यो ।

तरकारी खेतीको प्रचलन खासै थिएन । सिजनअनुसार सिमी, भटमास, घिरौंला, मुला, फर्सी, रायोको साग हुन्थ्यो । तरकारीको बिक्री सम्भव थिएन । आलु खेती गर्ने चलन थिएन । मकैबारीभित्र आफै आलु उम्रन्थ्यो, अलि अलि फल्थ्यो । मकै बेच्न भक्तपुर जाँदा हुनेखानेले बन्दा र काउली ल्याउँथे । वर्षमा एक–दुई छाक काउली र बन्दाको तरकारी चाख्ने चलन थियो । माध्यमिक पढाइ हुने विद्यालय नखुल्दासम्म खोपासी गएर पढ्नुपथ्र्यो । खोपासीको हाइस्कुल पनि भर्खर खुलेको थियो । पढ्न बस्दा मकैको पिठो र दाउरा घरबाटै लैजाने प्रचलन थियो । त्यसरी पढ्ने हैसियत प्रायःजसोको थिएन । २०४१ सालमा ढुंखर्कमै हाइस्कुल खुलेपछि अलि सहज भयो ।

समृद्धि यात्राको कथा
तीन दशकअघि त्यो हालतको बेथाञ्चोक गापा–२ को ढुंखर्क अहिले यो अवस्थामा पुग्नुमा स्थानीय जनता तथा अगुवाबाहेक कसैको भूमिका छैन । जब सडकको सुविधा पुग्यो, तब ढुंखर्कले काँचुली फेरेको हो । २०३९ सालको स्थनीय निर्वाचनका क्रममा प्रधानपञ्चका उम्मेदवार बिजुलीप्रसाद घिमिरेले ढुंखर्कसम्म सडक ल्याउने र हाइस्कुल खोल्ने घोषणा गरे । चुनाव जितेपछि उनी गाउँलेहरूलाई लिएर जिल्ला पञ्चायतमा डेलिगेसन गए । जिल्ला पञ्चायतले खोपासीदेखि गेल्डुङसम्मको सडकलाई एक लाख रूपैयाँ बजेट छुट्यायो । तर खोपासीबासीले बाटो दिएनन् । ढुंखर्कसम्म सडक पुग्यो भने आफ्नो व्यवसाय सुक्ने ठम्याइँमा खोपासीबासी देखिए । जहाँबाट सम्भव छ, त्यहीँबाट बाटो निर्माण गर्ने भन्दै डोजर अघि बढाइयो । तर डोजर प्रवेश गर्दा खोपासीको मुखको केही सिंढी भत्किन पुग्यो । जसको हर्जना १० हजार रूपैयाँ तोकियो । त्यही एक लाख बजेटबाट १० हजार रूपैयाँ हर्जना तिरियो । डोजरले दुई तीन किलोमिटर खनेपछि बजेट सकियो । पार्थली फेदी बगरसम्म स्थानीय जनताले श्रमदान गरी सडक निर्माण गरे । तर एकातिर खोपासीको मुखमै बन्द गरिएको थियो भने अर्कातिर खोलाको बगरमा खनिएको सडक वर्षायाम लाग्ना साथ बगायो ।

काभ्रेपलान्चोक जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेको बेथाञ्चोक गाउँपालिका–२ को ढुंखर्क यस्तो गाउँ हो, जुन गाउँले शहरलाई चुस्दै आफू मोटाउँदै गएको छ । राजधानी काठमाडौंबाट करिब ४६ किलोमिटर, बनेपाबाट करिब २५ किलोमिटर र पनौतीबाट करिब १८ किलोमिटर दूरीमा रहेको ढुंखर्कले शहरबाट दैनिक करिब ४० लाख रूपैयाँ भित्र्याउने गरेको अनुमान गरिएको छ । करिब १६ हजार जनसंख्या रहेको क्षेत्रले शहरबाट दैनिक ४० लाख रूपैंया भित्र्याउनु भनेको सानोतिनो उपलब्धि होइन ।

२०४६ सालको परिवर्तनपछि खोपासीबासीले पनि डाहा गर्न छाडे । बाटो दिन तयार भए । २०४९ सालमा जिल्ला विकास समितिले एक लाख रूपैयाँ बजेट छुट्यायो । स्थानीय विष्णु दाहालको अध्यक्षतामा सडक निर्माण समिति गठन गरियो, जसमा समाजसेवी एवं हालका गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, भीमप्रसाद तिमल्सिनासहितको सडक निर्माण समिति बन्यो । त्यो एक लाख रूपैयाँ बजेट तथा केही श्रमदानबाट पार्थली भञ्ज्याङसम्म सडकको ट्रयाक बन्यो । पार्थलीदेखि गेल्डुङ बजारसम्मको भिरालो क्षेत्रमा भने २०४२ सालमै ढुंखर्कबासीले एक महिना श्रमदान गरी सडक निर्माण गरिसकेका थिए । यसरी २०४९ सालमा ढुंखर्कमा पहिलोपटक ट्रक आयो । ट्रक मात्रै आएन, ट्रकसँगै विकास र समृद्धिको यात्रा पनि सुरु भयो ।

सडक यातायातको सेवा प्रारम्भ हुनासाथ ढुंखर्कका किसानको दूध सहज रूपमा गाडीबाट निकासी हुन थाल्यो । स्थानियले एउटा दुहुनो भैंसी पाल्ने गरेकोमा तीनवटासम्म पाले । छाकको दुई लिटर दूध दिने भैंसीको सट्टा छाकको चार लिटर दूध दिने भैंसी पाल्न थाले । मकैको धोक्रो बोकेर पनौतीसम्म पुग्नुपर्ने बाध्यता हरायो । चाडबाडमा भात खानका लागि फापरबारीसम्म धान किन्न जानुपर्ने बाध्यता हरायो । आवश्यक सबै वस्तुका पसलहरू गेल्डुङ बजारमै खुल्न थाले । खुवा उत्पादन व्यावसायिक रूपमै हुन थाल्यो । दूध तथा खुवा बेचेर किसानहरूले प्रशस्त आम्दानी गर्न थाले । अर्को सम्भावना व्यावसायिक तरकारी खेतीको पनि छ भन्ने चेतना किसानहरूमा जागृत हुँदै गयो । किसानले स्वतफूर्त रूपमा तरकारी खेती गर्न थाले । तर संगठित र व्यावसायिक नभएका कारण सोचेजति लाभ भएन ।

२०६२ सालमा स्थानीय केसरी तिमिल्सेनाको अध्यक्षतामा व्यावसायिक तरकारी खेतीका लागि महिला समिति गठन भयो । जिल्ला कृषि कार्यालयले एक सातासम्मको तालिम दियो । त्यो तालिमपछि महिलाहरूले व्यावसायिक तरकारी खेती प्रारम्भ गरे । यतिबेला ढुंखर्क क्षेत्रले व्यावसायिक तरकारी खेतीबाट औषतमा दैनिक करिब २० लाख रूपैयाँ भित्र्याउने गरेको छ । तर तरकारी खेतीको जति सम्भावना छ, त्यसको १० प्रतिशत पनि उपयोग भएको छैन । यतिबेला ढुंखर्कको कुल खेतीयोग्य जमिनमध्ये १० प्रतिशतमा मात्रै तरकारी खेती गरिएको छ । मुलुकका अरु ठाउँमा तरकारीका लागि बेमौसम हुँदा चिसो हावापानी भएकाले ढुंखर्कमा मौसम हुन्छ । अर्कोतिर राजधानी काठमाडौं उपत्यका र बनेपा–धुलिखेल–पनौती उपत्यकाबाट धेरै नै नजिक छ । त्यसैले शतप्रतिशत जग्गामा तरकारी खेती गरिए पनि बजारको समस्या छैन ।