उत्तर कोरियाले कसैले पराजित गर्न नसक्ने अजेय सेना बनाउँदै

उत्तर कोरियाले कसैले पराजित गर्न नसक्ने अजेय सेना बनाउँदै तरुण खबर २७ आश्विन २०७८, बुधबार ०९:१३
उत्तर कोरियाले कसैले पराजित गर्न नसक्ने अजेय सेना बनाउँदै

काठमाडौं । उत्तर कोरियाली नेता किम जङ–उनले अमेरिकाको शत्रुतापूर्ण नीति विरुद्ध कसैले पराजित गर्न नसक्ने अजेय सेना बनाउने प्रण गरेको त्यहाँको राज्य सञ्चालित समाचार माध्यमले जनाएको छ । किम जङ–उनले हतियारको विकास युद्ध शुरू गर्नका लागि नभै आत्म सुरक्षाका लागि भएको बताएका छन् । थरीथरीका विशाल क्षेप्यास्त्रहरू राखेर आयोजना गरिएको दुर्लभ प्रकारको सुरक्षा प्रदर्शनीका बेला उनले त्यस्तो टिप्पणी गरेका हुन् । उत्तर कोरियाले हालै हाइपरसोनिक र विमानभेदी क्षेप्यास्त्र भएको दाबी गरिएका हतियार परीक्षण गरेको थियो । त्यसैगरी दक्षिण कोरियाले पनि हालै पनडुब्बीबाट हान्ने हतियार परीक्षण गरेको थियो । उत्तर कोरियाको सेना अझै पनि संसारमा सबैभन्दा बलियोमध्ये एक मानिन्छ । उत्तर कोरियाले आपूmलाई जुछे विचारधारा भन्ने गरेको छ ।

उत्तर कोरियाले ट्यांक, अर्मोरेड बाहन, रकेट, तोप, युद्धपोत, पनडुब्बी जहाजहरू, डुङ्गा, धेरै लन्च रकेट प्रणाली विकास गरेको छ । १७ वर्षका पुरुष र महिलालाई अनिवार्य सैनिक सेवा गर्न लगाइन्छ । महिला सैनिकले २३ वर्षसम्म सेवा गर्ने अबसर पाउँछन् । प्योङयाङमा भएको आत्म सुरक्षा सम्बन्धी २०२१ सैन्य प्रदर्शनीमा किमले दक्षिणको सैन्य विकासलाई सम्बोधन गर्दै उनले आफ्नो छिमेकीसँग लडाइँ गर्न नचाहेको बताएका थिए । उनले भने– हामी कसैसँग पनि युद्धबारे छलफल गरिरहेका छैनौँ बरु युद्ध रोक्न र राष्ट्रिय सार्वभौमसत्ता जोगाउनका लागि काम गरिरहेका छौँ । उत्तर र दक्षिण कोरियाबीच तनाव बढाउन भूमिका खेलेको भन्दै किमले अमेरिकाको आलोचना गरेका थिए । अमेरिकाको उत्तर कोरियाप्रति व्यवहार शत्रुतापूर्ण रहेको राष्ट्रपति किम जङ उनले बताए ।

जो बाइडन नेतृत्वको अमेरिकी सरकारले उत्तर कोरियासँग वार्ता गर्न चाहेको दोहो¥याउँदै आएको छ तर प्रतिबन्ध खुकुलो गरिनुअघि प्योङयाङले आणविक हतियार त्याग्नुपर्ने बताएको छ । तर उत्तर कोरियाले त्यो अस्वीकार गर्दै आएको छ । संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियामाथि ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले त्यो प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ, त्यसैकारण उ विरुद्ध विभिन्न किसिमका नाकाबन्दी लगाइएको छ । गत महिना राष्ट्र संघीय एटोमिक एजेन्सीले उत्तर कोरियाको एउटा आणविक हतियारमा प्रयोग हुने प्लुटोनियम उत्पादन गर्न सक्ने रियाक्टर पुनः शुरू गरेको जस्तो देखिएको भन्दै चिन्ता जाहेर गरेको थियो । उत्तर कोरियाले आफ्नो सुरक्षाका लागि हतियार विकास निरन्तर गर्न आवश्यक रहेको बताउँदै आएको छ । कोभिड–१९ का कारण चीनसँगको सीमा बन्द भएपछि उत्तर कोरियाले पछिल्ला दिनमा आर्थिक र अन्य सङ्कट भोग्दै आएको छ ।