काभ्रे, बेथाञ्चोक गाउँपालिकाको फेरी पनि भवनकै कुरा

काभ्रे, बेथाञ्चोक गाउँपालिकाको फेरी पनि भवनकै कुरा तरुण खबर १२ कार्तिक २०७८, शुक्रबार ०९:५४
काभ्रे, बेथाञ्चोक गाउँपालिकाको फेरी पनि भवनकै कुरा

मैले केही समय अघि फेसबुक वालमा काभ्रे जिल्लाको बेथाञ्चोक गाउँपालिकाको भवनबारे आपूलाई लागेको विचार राखेको थिएँ । त्यतिबेला करिब ६६ जनाले वालमा भएको सामग्रीलाई जस्ताको त्यस्तै सेयर गर्नुभयो । धेरैजनाले मननयोग्य प्रतिक्रिया पनि जनाउनुभएको थियो । महत्वपूर्ण प्रतिक्रियाका लागि सबै शुभचिन्तकलाई धन्यवाद दिन्छु । उहाँहरूको प्रतिक्रियापछि म एउटा निष्कर्षमा पुगेको छु– बेथाञ्चोकका युवाहरू हामीभन्दा अगाडि छन्, विकल्पसहितको योजना अगाडि सार्न सक्छन् । जसले जे भन्छ, त्यसलाई स्वीकार्नु अगाडि दशपटक सोच्छन्, विचार मन्थन गर्छन् र कार्यान्वयनमा लैजान सक्षम छन् ।’

मैले तिनै विषयलाई आज विस्तारको रूप दिएको छु । नयाँ विषय खासै थप गरेको छैन । अर्कोपटक गाउँपालिकाले बनाउन सक्ने केही योजनासहितको विषयमा केन्द्रीत रहेर चर्चा गर्नेछु ।

यतिखेर गाउँपालिकाको प्रशासकीय भवन कहाँ बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा चर्को बहस चलिरहेको छ । धेरै मान्छेका बीचमा बहस गराउँदा उपयुक्त सल्लाह, सुझाव आउँछ नै । गाउँपालिकाले नै यो विषयलाई छलफलमा ल्याएको भए हामीले यो विषयलाई सार्वजनिक रूपमा उठाउनुपर्ने थिएन । संघीय शासन भएको हाम्रो जस्तो मुलुकमा गाउँपालिका अधिकार सम्पन्न हाम्रो अभिभावक पनि हो । त्यसैले मैले भनेको थिएँ– भवन निर्माणको विषय जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण विषय हो चुनावी प्रतिबद्धता । प्रतिबद्धता भनेको वचन दिनु हो । प्रतिबद्धताको अर्थ, विश्वास कायम राख्नु हो । कामप्रतिको प्रतिबद्धताको अर्थ, निष्ठावान हुनु हो । शिष्टतामा प्रतिबद्धताको अर्थ, अशिष्ट नबन्नु हो, जुन कुरामा हामी असफल हुँदै गएका छौं ।

अहिले गाउँपालिकाको भवन निर्माण गर्दा कम्तीमा आगामी एक सय वर्षका लागि सोचेर बनाउनुपर्छ । सामरिक सुरक्षा, भौगोलिक सुरक्षा, सामाजिक दृष्टिकोणबाट उपयुक्त ठाउँ छनोट गर्नु चुनौतीपूर्ण काम हो । तर राज्यको करोडौं रकम खर्चिएर बनाइने संरचनामा हेलचेत्र्mयाई गरियो भने हामीसँग पछुताउनुको विकल्प हुने छैन । त्यसैले मैले यो कुरालाई अत्यधिक जोड दिइरहेको हुँ ।

समुदायप्रति प्रतिबद्धताको अर्थ, जिम्मेवार बन्न सक्नु हो । हामीले गाउँपालिकाको नेतृत्वबाट यही अपेक्षा गरेका छौं, थियौं । दक्षिणमा रहेका वडा नम्बर १ च्याम्राङबेशीदेखि पूर्वमा रहेको वडा नम्बर ६ भुग्देऊसम्मका जनतालाई पायक पर्ने ठाउँको गाउँपालिकाको भवन निर्माणका लागि जग्गा छनोट गर्नुपर्नेछ । अहिले गाउँपालिकाको भवन निर्माण गर्दा कम्तीमा आगामी एक सय वर्षका लागि सोचेर बनाउनुपर्छ । सामरिक सुरक्षा, भौगोलिक सुरक्षा, सामाजिक दृष्टिकोणबाट उपयुक्त ठाउँ छनोट गर्नु चुनौतीपूर्ण काम हो । तर राज्यको करोडौं रकम खर्चिएर बनाइने संरचनामा हेलचेत्र्mयाई गरियो भने हामीसँग पछुताउनुको विकल्प हुने छैन ।

त्यसैले मैले यो कुरालाई अत्यधिक जोड दिइरहेको हुँ । प्रहरी चौकी खोलामा बनाएर हामीले गम्भीर गल्ती गरिसकेका छौं, यो मैले भन्नै पर्दैन । तपाईहरू नै साक्षी हुनुहुन्छ, केही वर्षअघि आएको सामान्य बाढीले चौकी भवनमै क्षति पु-याएको थियो । भवनको संरक्षण गर्न राज्यकै सम्पत्ति खर्च भएको हो नि, हैन र ? जनप्रतिनिधिले निर्वाचनको समयमा बोलेका कुरालाई विश्वास गरेर मत दिएका हुन्, त्यो कुरालाई हिजोआज महत्वहीन विषय ठान्न थालिएको छ । यो सरासर गलत हो ।

जनप्रतिनिधि भनेको गाउँपालिका वा नगरपालिकाको अगुवा हो । उनीहरूको बोलीमा विश्वसनीयता रहेन भने राजनीतिप्रति नै विश्वास घटेर जान्छ, जनतामा वितृष्णा जागृत हुन्छ भन्ने मेरो मात्र होइन, हामी सबैको मान्यता हो । र, राजनीतिकर्मीप्रति विश्वास रहेन भने त्यसको परिणाम विद्रोह हुन्छ नै । प्रतिबद्धता अक्षरसः पालना गर्दा वर्तमानमा इज्जतदार काम त हुन्छ नै, भविष्यमा पनि राम्रो कामको अनुशरण गर्ने गरिन्छ । समाजले व्यक्तिको सैद्धान्तिक पक्ष मात्र हेर्दैन व्यवहार, आचरण र चरित्र पनि हेरिरहेको हुन्छ । भविष्यमा व्यक्ति हैन, व्यक्तिले प्रतिनिधित्व गरेको दललाई पनि इंगित गरेर भन्ने गरिन्छ– सिद्धान्त राम्रो भएर के गर्नु व्यवहार रम्रो छैन, हो, नि मुखमा रामराम बगलीमा छुरा भन्ने त उखानै छ ।

म पनि बेथानचोक–२ को बासिन्दा हुँ । जहाँसम्म बेथानचोक–२ को कुरा छ । प्रशासनिक भवन बन्दा वडा नम्बर २ निवासीलाई क्षणिक फाइदा हुन्छ नै, तर कालान्तरका लागि भने यो उपयुक्त स्थान हुन सक्दैन । यो निर्णयले वडा नं २ निवासीलाई जहिले पनि दुःखी बनाउने छ । उदाहरणका लागि बाग्मती प्रदेशको राजधानीका लागि विभिन्न ठाउँको चर्चा हुँदा भक्तपुर जिल्लाको नाम पनि चर्चामा थियो । तर भक्तपुर नगरपालिकाले तुरुन्तै जवाफ दियो र भन्यो झक्तपुरमा प्रदेशको राजधानी बनाउन आवश्यक छैन ।

जे पनि आफैंले मुठ्याएर राख्नुभन्दा जे प्राप्त हुन्छ, त्यसलाई व्यवस्थित र संरक्षण गरिनु पर्छ । विकास–निर्माण विकेन्द्रीकरणका लागि पनि र च्याम्राङबेशीदेखि भुग्देऊसम्मका जनतालाई पायक पर्ने ठाउँ वडा नम्बर ३ नै हुन सक्छ । केही साथीहरूले वडा नम्बर ४ को पार्थलीको प्रस्ताव पनि ल्याएका छन् । सामरिक हिसाबले पार्थली पनि उपयुक्त छ, जहाँबाट बेथानचोकका चारवटा वडा सजिलै देख्न सकिन्छ । पनौती नगरपालिकासँग जोडिएको वडा नम्बर ४ चलाल गणेशथान भुग्देऊ–६ र ५ नम्बर च्यासिंखर्कका लागि अपायक पर्छ । धुलिखेल हस्पिटलको शाखा रहेको स्थानबाट दक्षिण वा पूर्व महाकालथान वरिपरिको जग्गा खोजी गर्नु उपयुक्त हुने देखिन्छ भन्ने अधिकांश युवाको मत छ । गाउँपालिकाले आप्mनो ध्यान यतै केन्द्रित गरोस् भन्ने मेरो आग्रह छ ।

अर्को महत्वपूर्ण विषय हो पानी । शहरी विकासको कारणले मात्र होइन, ग्लोबल वार्मिङका कारण पनि पानीको स्रोतहरू सुक्दै गइरहेको छ । यो हाम्रो मात्र समस्या होइन, आजको विश्वकै समस्या हो । आज वडा नम्बर २ को बजारमा यथेष्ट पानी छैन । कल्पना गर्नुहोस्, अबको ८–१० वा ५० वर्षपछि बजारको के अवस्था होला ? २०२८ सालको जनगणना अनुसार ढुंखर्क बाह्रविसेको जनसंख्या ३ हजार ८ सय ६२ थियो भने आजभन्दा १० वर्षअघि ४ हजार ९ सय ९६ भन्दा बढी थियो । जनसंख्याको बृद्धि, बसाई सराईप्रतिको आकर्षणले अव्यवस्थित शहरीकरणलाई अराजकतामा बदली दिन्छ । किनभने हाम्रो बजार अव्यवस्थित छ । कंक्रिटको जंगलमा रूपान्तरण हुने सम्भावना मैले झल्झल्ती देखिरहेको छु । वरिपरि डाँडाहरूले घेरिएको ढुंखर्क सानो उपत्यका नै हो । १७–१८ सय मिटरदेखि २४ सयको उचाइमा रहेको ढुंखर्कबाट आधा किलोमिटरमै महाभारतको घना जंगल चारैतिर भेटिन्छ । हालका प्रधानमन्त्री शेरबहादुर देउवा ढुंखर्क आउँदा पार्थली भज्यांगबाट हेर्दा भन्नु भएको थियो रे– क्या सुन्दर भ्याली रहेछ ।

पूर्वदेखि पश्चिम लमतन्न तेर्सिएको महाभारत हाम्रो लागि बरदान हो । वडा नम्बर २ ले एक वर्ष अगाडि प्रकाशित गरेको बेथानचोक नारायणलाई कान्छी हिमल अर्थात किङ अफ हिल भनी परिभाषित गरिएको छ । समुन्द्री सतहबाट नारायणथान ३०१८ मिटरको उक्त थुम्को र तीन हजार १२ मिटरको गजराज थुम्का समेटेर विकास समिति पनि अझै बनाउन सकिएको छैन । यी र यस्ता धेरै योजनाले नै हामीलाई समृद्धशाली बनाउने हो । काठमाडौंबाट करिब ४६ किलोमिटर पूर्व–दक्षिणमा रहेको बेथानचोक गाउँपालिकको केन्द्रमा पुग्न काठमाडौंबाट सिधै सार्वजनिक गाडीको व्यवस्था छ भने आप्mनै सवारीसाधन हुनेहरूका लागि डेढ घन्टामा काठमाडौंबाट ढुंखर्क पुग्न सकिन्छ ।

धुलिखेल हस्पिटलको शाखा रहेको स्थानबाट दक्षिण वा पूर्व महाकालथान वरिपरिको गाउँपालिकाको भवन बनाउँन जग्गा खोजी गर्नु उपयुक्त हुने देखिन्छ भन्ने अधिकांश युवाको मत छ । गाउँपालिकाले आप्mनो ध्यान यतै केन्द्रित गरोस् भन्ने मेरो आग्रह छ ।

फुल्चोकीमा सुरुङमार्ग बनाउने हो भने त ३० मिनेटभन्दा बढी समय लाग्दैन ढुंखर्क पुग्न । अबको युग भनेकै सुरुङमार्ग हो । यो वर्ष मात्र एक दर्जन बढी सुरुङ मार्गका योजना पर्नुले पनि सुरुङमार्गको युग सुरु भएको संकेत गर्छ । हावापनी र कम दूरीका कारण काठमाडांैको पहिलो गन्तव्य ढुंखर्क हुने भएकाले मात्र होइन, मकवानपुरको फापरबारीबाट काठमाडौं आउने राजमार्ग बन्ने सम्भावना भएकाले पनि ढुंखर्कमा घना शहरीकरणको सम्भावना छ । त्यसलाई रोक्न सक्ने हामीसँग क्षमता हुने छैन । त्यसैले गाउँपालिका भवनाका लागि कम्तीमा २५–३० रोपनी जग्गा वडा नम्बर ३ मै लिनुपर्छ भन्ने मेरो राय हो । मैले माथि पनि चर्चा गरेको छु । बजार क्षेत्रमा खानेपानी, सडक र ढलको कुनै व्यवस्था छैन ।

हालसम्म सेफ्टीट्यांकीले नै थेग्नुपरेको अवस्था छ । ढलको व्यवस्थापन गर्न हतार भइसकेको छ, भएको पिच भत्काउँदा राज्यको ढुकुटीको रकम कति नोक्सान होला ? यसतर्फ पनि हामीले विचार गर्नै पर्छ । हिउँदयाममा खोलामा पानीको बहाव नहुनु मात्र होइन, बहाव बढाउने योजना नहुनु पनि हाम्रो ठूलो समस्या हो । र, हामीले खोलाको छेउमा प्रहरी चौकी, स्वास्थ्य चौकी, पार्वती बहुमुखी क्याम्पस, श्रीपार्वती माध्यमिक विद्यालयलगायत ठूला र पक्की भवन बनाइरहेका छौं । सार्वजनिक महत्वका मठमन्दिर भएको र खोलाको नजिकै बजार–बस्ती भएको हुनाले अबको १०–२० वर्षमा पूरै बजार दुर्गन्धित हुने कुरामा कुनै शंका छैन । त्यसैबाट उत्पन्न हुने हो, विभिन्न खालका सरूवा रोग र संक्रमणहरू । अतः विकासको साथसाथै जनजनको स्वास्थ्यको पनि ख्याल गर्नु नेतृत्वको महत्वपूर्ण जिम्मेवारी हो । भनिन्छ नि, रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो ।

बाग्मती प्रदेशका व्यक्तिको प्रतिव्यक्ति आय वार्षिक १५ सय ३४ डलर छ । नेपाल राष्ट्र बैंकले दुई वर्ष अगाडि निकालेको यो तथ्यांकलाई आधार मानेर हामीले १० वर्षमा कम्तीमा पाँच हजार डलर आम्दानी गर्ने विभिन्न आयोजना सञ्चालनमा ल्याउनुपर्छ । उदाहरणका लागि सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले दुई वर्षअघि मिनी ग्रेटवालको अवधारणा ल्यायो । र, नमुना बनायो । फागुन दोस्रो साता नेपाल आएकी मिस वल्र्ड टोनी एन हेलिकोप्टर लिएर एक दर्जन साथीहरूसहित हेर्न हेलम्बु नै पुगिन्, जुन दृश्य संसारको प्रसिद्ध टेलिभिजन सिएनएनले समेत देखायो । हामीले नाम कमाउने कुनै काम गर्न सकेनौं, हामी अहिलेसम्म पनि खुद्रा–मसिना काममै अल्मलिरहेका छौं ।

के धुलिखेल सदरमुकाम भएर बनेपाको चहलपहलमा वा व्यापार व्यवसायमा कमि आएको छ र ? पहिले पहिले लुगाफाटो, मरमसला किन्न असन इन्द्रचोक नै पुग्नुपथ्र्यो, अहिले त सबैतिर असन इन्द्रचोक भएको छ । किनमेलका लागि हाम्रो पुस्ता नै बनेपा, पनौती र भक्तपुरसम्म पुगेका हौं, आज घरघरैमा बजार पुगेको छ । यो अर्थशास्त्रको सामान्य नियम हो । हामीले यसलाई समयमै व्यवस्थित गर्न सक्यौं भने सुखी र समृद्धशाली हुन्छौं, गर्न सकेनौं भने पुर्पुरोमा हात राखेर पछुताउनेमा पर्छौं, बेथानचोवासीको भविष्य हाम्रै हातमा छ । भनिन्छ नि– हजार माइल हिँड्नु छ भने अहिले एक पाइला चाल । आजै त्यो पाइला किन नचाल्ने त ?