नेपालमा मिचाह प्राणीको बढ्दो क्रम छ । यसले आर्थिक, सामाजिक, जैविक र भूउपयोगलगायतका क्षेत्रमा प्रभाव पारिरहेको छ । यसलाई तत्काल नियन्त्रण नगर्ने हो भने भोलिका दिनमा भावी पुस्ताका लागि यो एउटा समस्या हुनेछ । यो मिचाह प्राणी के हो ? यसले कसरी असर पु¥याइरहेको छ ? भन्ने विषयमा वनस्पति विज्ञ डा.चुडामणि जोशीसँग तरुण साप्ताहिकका लागि दिपकबाबु अर्यालले कुराकानी गरेका छन् । वनस्पति विभागमा लामो समय काम गरेका डा.जोशी हाल नेपालस्थित फिनल्यान्ड दूतावासमा विशेष सल्लाहकारको भूमिकामा छन् ।
० मिचाह प्राणी वा प्रजातिलाई कसरी बुझ्ने ?
– यो संसारमा भौगोलिक हिसाबले हामीले प्राणीलाई दुई भागमा बाँड्छौं । एउटा रैथाने वनस्पति वा प्राणीहरू हुन् । अर्को चाहिँ बाहिरबाट आएका इकोसिस्टम वा परिस्थितितन्त्रमा आएका प्राणी हुन् । ती प्राणी जो हाम्रो पारिस्थितिकतन्त्रमा बाहिरबाट आएका वा ल्याइएका हुन्छन् । समग्रमा हामी ती प्राणीलाई विभिन्न नामले चिन्छौं । अंगे्रजीमा नाम फरक छ, यसलाई एलियन, इनभेसिप, एक्जोटिक, नेचुरलाइज्ड, नननेटिभ, एडभेन्टिभ, निभोजुवा पनि भनिन्छ । यिनीहरूको स्थितिअनुसार नाम राखिएको हुन्छ । जस्तो, आलु वा खुर्सानी । यी हाम्रो आफ्नो बिरुवा होइनन् । पेरुबाट आएको आलुले हामीलाई आर्थिक रूपमा राम्रोसँग सहयोग गरिरहेको छ । यस्ता बिरुवा पनि छन्, जुन विदेशी भए पनि हामीलाई त्यसले खासै असर पारेको छैन । या, यस्ता बिरुवा छन् जुन यो हाम्रो धर्तीमा आएका छन्, तर उनीहरूले हाम्रो अन्य रैथाने वनस्पति वा प्राणीलाई असर नपारेको वा कम पारेको हुन्छ ।
० असर पार्ने प्राणी वा प्रजातिले भोलिका दिनमा कस्तो प्रभाव छाड्ला ?
– यसलाई मिचाह भन्दा प्रस्ट हुन्छ, जसले हाम्रो पारिस्थितिकतन्त्रमा कुनै न कुनै किसिमले नकारात्मक असर पारेको हुन्छ, ती बिरुवाहरूका लागि हामीले हेर्नुपर्ने हुन्छ । उदाहरणका लागि, चितवन राष्ट्रिय निकुञ्जमा एउटा मिचाह झार छ । यस्ता झार त्यहाँ थुप्रै छन्, एउटा झारलाई मात्र लिएको हुँ, त्यो झार यति फैलिएको छ कि जसले गंैडाको बासस्थानलाई संकुचित गर्दै लगेको छ । त्यस्तै, तराईतिर एउटा वनमारा भन्ने बिरुवा छ, त्यसले पारिस्थितिकतन्त्रमा यति घनत्व बढाइसकेको छ कि अरु बिरुवालाई त्यहाँ उम्रिन, हुर्कन, बढ्न, फल्न, फुल्न दिँदैन ।
० पोखराको फेवातालमा पनि त्यस्तो प्राणी छ नि होइन ?
– हो, त्यहाँ आइकोर्निया भन्ने छ ।
० देशैभरि यस्ता प्राणी छन् ?
– वनस्पतिको कुरा गर्ने हो भने नेपालमा झन्डै ११ सय यस्ता वनस्पति छन्, जसलाई हामीले मिचाहका रूपमा वर्गीकृत गरेका छौं । यी चाहिँ रेकर्डेड हुन् । यदि जनावरको जाति हेर्ने हो भने ढुसीदेखि लिएर स्तनधारी जन्तुसम्म हाम्रो सिस्टममा छन् ।
० जनावरहरू पनि भित्रिएका छन् ?
– सबैभन्दा ठूलो उदाहरणका रूपमा अस्ट्रिचलाई लिन सकिन्छ । यो हाम्रो आफ्नो होइन । यो अस्ट्रेलिया वा अरु देशबाट आएको हो । जस्तै, वाइल्ड बोर भन्छौं हामी, त्यो हाम्रो आफ्नो प्रजाति होइन । मकवानपुरमा पेरुबाट ल्याइएको जनावर पनि छन् । यी जनावरले हाम्रो रैथाने सिस्टममा बसेर पुनर्उत्पादन गरेर सिस्टमलाई नै बिगार्ने वा खल्बल्याउने काम यदि भयो भने मात्र हामी त्यसलाई मिचाह भन्छौं ।
० रैथाने जातको बीउ आफैंले राख्नुमा र बजारबाट किन्नुमा के फरक पर्छ ?
– यो पृथक् विषय हो, यी चाहिँ जिन मोडिफाई गरेको प्राणी वा वनस्पति हुन् । जिन मोडिफाई गर्नेवित्तिकै त्यसको उत्पादकत्व बढ्छ । उनीहरूको बजार मूल्य बढी हुन्छ, तर त्यो बिरुवाले पुनर्उत्पादन गर्न सक्दैन, जसलाई हामी वर्णशंकर भन्छौं । बजारमा पाइने जति पनि बीउहरू छन्, ती वर्णशंकर बीउहरू हुन् ।
० एकातिर हामी वर्णशंकर बीउ प्रयोग गर्छाैं, अर्कातिर मिचाह प्राणी बढिरहेका छन् । यसले भोलिका दिनमा कस्तो प्रभाव छोड्छ ?
– वनस्पति वा मिचाह प्राणीको प्रवृत्ति विचित्रको हुन्छ । उदाहरणका लागि, वनमारालाई लिऔं, सन् १९५० ताका यसलाई नेपालमा कम्युनिस्ट वा कांगे्रसी झार भन्ने गरिन्थ्यो । क्रोमोलानाओडोराता भन्छ, त्यसलाई अर्को एउटा वनमारा छ, त्यसलाई लान्टाना कामारा बिरुवा भनिन्छ । पश्चिमी र पहाडी क्षेत्रमा निक्कै ठूलो बिगबिगीको रूपमा देखिएको छ । खासगरी पहाडी भूभागमा हेरियो भने अब कुनै त्यस्तो बारी बाँकी छैन, जहाँ हाम्रो रैथान बिरुवा लगाउने, त्यसको उत्पादन बढाउने खालको कुनै किसिमको ठाउँ बाँकी छैन ।
यस्ता बिरुवाले अर्को पारिस्थितिकतन्त्रसँग प्रतिस्पर्धा गर्न थाल्छ । यो प्रतिस्पर्धाको प्रक्रिया पनि बडो बेजोडको छ । एउटा लान्टाना बिरुवाले झन्डै ११ हजारदेखि ५० हजारसम्म बीउ उत्पादन गर्छ । त्यतिले मात्र भएन भनेर बीउको टुप्पामा एक किसिमको प्यारासुट निर्माण गर्छ, अलि टाढा जानका लागि । प्यारासुटले मात्र भएन भनेर त्यसले हुक पनि निर्माण गरेको हुन्छ, ताकि त्यसले कुनै जनावरसँग वा गाडीमा टाँसिएर अझ टाढा जान सकोस् । यति मात्र होइन, बाँच्नका लागि उसले जरामा खाद्यपदार्थ सञ्चय गरेर राखेको हुन्छ । परिस्थिति अनुकूल भएन वा विपरीत परिस्थितमा पनि बाँच्न सक्ने गुण विकास गरेको हुन्छ । यति मात्र नभएर उसको चारैतिर आफ्नो फैलावट अगाडि बढाएर जंगलमा आगो लागेपछि सबै रैथाने बिरुवा मर्छन् अनि त्यसको जरामा रहेको खाद्यपदार्थबाट ऊ मात्रै माथि बढ्न थाल्छ । म यसलाई एक किसिमको तानाशाही प्रवृत्ति भएको बिरुवा भन्छु । तानाशाही प्रवृत्ति विकास भएपछि मात्र यसले असर देखाउन थाल्छ । यो असर यति गम्भीर छ कि, स्थानीय माटोमा भएको पोषण तत्व नष्ट गर्छ । जरा यति फैलिन्छ कि जसले आवश्यक न्युट्रेसन लिन सक्छ, बढ्ने, फुल्ने मौका पाउँछ । फैलिने र झाँगिने मौका पनि पाउँछ ।
० डेंगु सार्ने लामखुट्टे पनि मिचाह प्राणी हो ?
– प्लाजमोडियम भाइरस बोक्ने लामखुट्टे प्रजातिबाट डेंगु सर्छ । लामखुट्टेको माध्यमबाट यो डेंगु सर्छ । लामखुट्टेको सलाइभा वा ¥यालमा भाइरस विकसित हुन्छ । यी प्राणीहरू मिचाहअन्तर्गत नै पर्छ । यस्ता किरा फट्यांग्राहरू मिचाह नै हुन्छन्, ती हाम्रो रैथाने प्राणी होइन ।
० यसको आयु त्यति धेरै हुँदैन, तर पनि किन यति धेरै सताउँछ ?
– अहिले लामखुट्टे फैलिएको अवस्था हो, यसलाई काहीँ न काहीँ हामी वातावरण परिवर्तनसँग जोड्छौं । केही वर्षअघिसम्म काठमाडौंमा लामखुट्टे पाइँदैन थियो, अहिले काठमाडौंमा लामखुट्टेको प्रकोप धेरै छ । यसको दुईवटा पक्ष छ । एउटा चाहिँ लामखुट्टेले विस्तारै चिसो वातावरण पचाउन थाल्यो । दोस्रो कुरा, यातायातको चाप बढ्दै गयो, तराईबाट दैनिक हजारौं गाडी काठमाडौं आउन थाले । ती गाडीहरूले लामखुट्टेलाई पनि ओसर्न थाल्यो । यी लामखुट्टे हिमाली क्षेत्रसम्म पुग्न थाले । ३० दिनसम्म उनीहरू बाँच्न सक्ने हुनाले त्यसका लागि उनीहरूलाई खाना चाहियो । स्वस्थ मानिसबाट चुसेको रगत अर्को अस्वस्थ्य मान्छेमा सार्न थाल्यो । लामखुट्टेको जीवनचक्र यसरी पूरा हुन थाल्यो । यो जीवनचक्र पूरा गर्न उसलाई खाना चाहिन्छ । एउटा अस्वस्थ मान्छेबाट स्वस्थ मान्छेमा लामखुट्टेको माध्यमबाट यो भाइरस सर्दै जान्छ ।
० यस्ता कुरा हाम्रो कुन संयन्त्रले हेर्छ ?
– नेपालमा वन तथा वातावरण मन्त्रालय मुख्य हो । केही नीतिहरू मन्त्रालयसँग छ । तर, यी नीतिहरू त्यति प्रभावकारी भएजस्तो मलाई लाग्दैन । किनभने नेपालमा मिचाह प्राणीको प्रकोप निरन्तर बढिरहेको छ । डेंगु, मुसा, जंगली बदेलदेखि लिएर विभिन्न झार र रुख प्रजातिहरू छन् । कृषि क्षेत्रलाई नोक्सान पु¥याउने झारहरू छन् ।
० यसको कारणले कृषि उत्पादनमा ह्रास आएको छ ?
– उदाहरणका लागि मुसालाई लिन सकिन्छ । एउटा किसानको घरमा त्यसले कति अन्नको नोक्सानी गर्छ, अथवा त्यसले घरमा कति भौतिक क्षति पु¥याउँछ ? यो मुसा नियन्त्रणका लागि देशले कति किटनाशक औषधि किन्नुपर्छ ? एउटा सानो जीवले पु¥याउने असरको हामीले हिसाब किताब गर्ने हो भने भयावह हुन्छ । संसारमा यस्ता प्राणीको असर हेर्दै जाने हो भने यसको लेखाजोखा गर्न कठिन छ । एउटा वनस्पतिले चितवनको गंैडामा कति असर पु¥याएको छ भनेर लेखाजोखा गर्नु त्यो एउटा पाटो भयो । यसले हामीमाथि पार्ने सामाजिक असर बेग्लै छ ।
उदाहरणका लागि डेंगु । अहिले यो नियन्त्रण गर्न कति संयन्त्रको आवश्यकता छ । मुसाले सार्ने रोगले विश्वमा महामारीको रूपधारण गर्छ । यस्ता बिरुवा वा प्राणीले सार्ने रोग एउटा सामाजिक असर भयो भने आर्थिक असर बेग्लै छ । एउटा साधारण शंखेकिराले पानीजहाजलाई नै रोकिदिन्छ । खानेपानीको पाइपमा शंखेकिराले पानीमै अवरोध सिर्जना गर्छ । ठूला सहरमा त पाइपमा कहाँ ब्लक भयो भनेर पत्ता लगाउनै कठिन हुन्छ । त्यसकारण यसको लेखाजोखा गर्न नै धेरै कठिन छ ।
० नेपालमा चाहिँ कुन कुन क्षेत्र प्रभावित छन् ?
– एउटा संस्थाले भर्खर कृषि क्षेत्रको अध्ययन गरेको छ । १ दशमलब ४ बिलियन अमेरिकी डलरको कृषि क्षेत्रमा यी मिचाह वनस्पतिले असर पारेको भन्ने देखिन्छ । मलाई लाग्दैन सबै प्राणीले यो स्केलमा त्यो असर पु–याएका हुन् भन्ने ।
० नेपालमा मात्रै हो कि संसारभरि नै यस्तो हुन्छ ?
– संसारभरि नै यो मिचाह प्राणीको बिगबिगी विकराल छ । खासगरी विकसित देशहरूले यसको नियन्त्रणका प्रयास गरेका छन् । दक्षिण अफ्रिकाले मिचाह प्राणी नियन्त्रण गर्न प्रत्येक नागरिकको कर्तव्य हुनेछ भनेर उनीहरूले आफ्नो संविधानमा लेखेका छन् । त्यसबाट पनि बुझिन्छ, यसको असर कति भयावह होला ?
० आर्थिक पाटोमा पुगेको क्षति मापन गरिएको छैन ?
– विभिन्न वैज्ञानिकहरूले कुनै न कुनै रूपमा प्राणीले निश्चित समयमा निश्चित इकोसिस्टमभित्र पारेको असरका बारेमा अध्ययनहरू भेटिन्छ । तर समग्रमा यसले कति असर पा¥यो भन्न सकिन्न । हामीकहाँ कति मिचाह प्रवृत्तिका बिरुवा छन् भन्ने लेखाजोखा छैन भने त्यसको असरबारे भन्न सकिने अवस्था छैन । उदाहरणका लागि नाइल गोही छ, यो नाइल नदीमा पाइन्छ । एउटा अध्ययनले नाइल नदीमा गोहीको संख्या घटेर गएको देखायो । संख्या घटेपछि वैज्ञानिकहरूलाई विचित्र लाग्यो, जबकि तिनीहरूलाई खाना प्रचुर मात्रामा छ, बासस्थानमा कुनै समस्या छैन, अरु कुनै किसिमले समस्या नहुँदा पनि के भएर घट्यो भन्दा त्यहाँ पनि नाइल नदीको वरिपरि एक किसिमको वनस्पति हुर्केको भेटियो ।
गोहीको नदी किनारमा अण्डा पार्ने, बच्चा हुर्काउने र नदीमा जाने एउटा सिस्टम हुन्छ । शरीरस्रिप वर्गको प्राणीले अण्डा खाल्टोमा हाल्छ । त्यो अण्डा निश्चित तापक्रममा बस्नुपर्ने हुन्छ । नाइल गोहीको कुरा गर्दा ३० डिग्री सेन्टिगे्रडमा त्यो अण्डा बसेको छ भने त्यसमा सम्पूर्ण पोथी मात्रै निस्कन्छ । ३४ डिग्री तापक्रमको हाराहारी भयो भने त्यो सबै भाले मात्रै निस्कन्छ । भाले र पोथीको रेसियो मिलाउनका लागि त्यो अण्डा रहेको जमिनको तामक्रम ३१–३२ डिग्रीको हाराहारी हुनुपर्छ । भयो के भने नाइलको किनारामा झार प्रजाति उम्रिसकेपछि त्यहाँको तापक्रम घटाउने काम ग¥यो । तापक्रम घट्नेवित्तिकै नाइल गोहीको प्रजनन्मा भाले र पोथीको रेसियोमा असर मात्र पारेन कि २९ डिग्रीभन्दा कम तामक्रममा गएपछि अण्डाबाट बच्चा नै निस्कन छोड्यो । बच्चा निस्के पनि त्यसको भ्रुण मर्न थालेपछि त्यसको संख्या घटेर गयो । एउटा बिरुवाले ५ देखि १० डिग्रीसम्मको तापक्रम घटाउँछ ।
नेपालमा पाइने छेपारा प्रजातिको जीवनचक्रमा असर परेको छ । उनीहरूको अण्डाबाट निस्कने प्रजनन रेसियो यही सिस्टममा हुन्छ । तर हामीकहाँ कति प्रजातिको छेपारा छन् भन्ने नै थाहा छैन । थाहा भए पनि यी चाहिँ मिचाह प्राणीले तिनीहरूको बासस्थानको तापक्रममा कति असर पारेको छ, उनीहरूको जनसंख्या कसरी बढ्दैछ वा घट्दैछ भन्ने अध्ययन धेरै टाढाको विषय भयो हाम्रा लागि ।
(तिन वर्षअघि लिइएको वार्ता पुनः प्रकाशित गरिएको छ ।)