उपराष्ट्रपति पदका लागि मतदान जारी

उपराष्ट्रपति पदका लागि मतदान जारी तरुण खबर ३ चैत्र २०७९, शुक्रबार ११:४७
उपराष्ट्रपति पदका लागि मतदान जारी

काठमाडौं, ३ चैत । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ ।

सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गर्नुभयो । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार हुनुहुन्छ ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । मतदानका लागि मतदाता बिहान नौ बजेदेखि नै मतदान केन्द्र अगाडि पङ्क्तिबद्ध हुनुभएको थियो भने उम्मेदवारहरू पनि मतदान केन्द्रमा आइसक्नुभएको छ ।

मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।