काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय नेताहरुलाई नै प्रशिक्षण दिइरहेको छ । जसपाले संगठन विस्तार, पुनर्गठन र रुपान्तरणका साथै नेताहरुलाई प्रशिक्षीत गर्ने कामलाई भदौ महिनादेखि अभियानका रुपमा सञ्चालन गरेको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पालिकासमिति देखि प्रदेश समितिसम्मले अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने गरेका छन् । प्रशिक्षणमा केन्द्रीय समितिका सदस्यहरु, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा परिक्षण आयोगका सदस्य र संघीय परिषद् सदस्यहरु प्रशिक्षणमा सहभागी हुने गरेका छन् । यसका अतिरिक्त प्रदेश र स्थानिय तहका तोकिएका अगुवा कार्यकर्ताहरु पनि प्रशिक्षणमा सहभागी रहेका छन् ।
पार्टीको मार्गदर्शक सिद्धान्त संघीय समाजवाद र पार्टीको मूल नारा संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद लगायतका विषयमा प्रशिक्षण दिने गरिएको छ । काठमाडौंमा भाद्र २२ गते, भदौ २२ र २३ गते उदयपुरमा, बिराटनगरमा भाद्र २६ गते केन्द्रीय तहका नेताहरु सहितको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय भएका छन् ।
केही प्रदेश संगठन पुनर्गठन कार्य सम्पन्न भएलगत्तै प्रशिक्षण कार्यक्रम सार्वजनिक गर्ने तयारी गर्दै छन् । प्रशिक्षण, अभिमुखीकरण, संगठन पुनर्गठन र रुपान्तरण गरी कार्तिक मसान्तसम्म प्रदेश समिति र राष्ट्रिय समितिले सम्पूर्ण सदस्यहरुको अभिलेख केन्द्रमा पठाइसक्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।