विराटनगर । सुनसरीमा एउटा समूहले सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर हतियार र गोली लुटेको छ ।
चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरीमाथि बर्जु गाउँपालिका–१ मा शुक्रबार राति आक्रमण भएको हो । घटनास्थल बर्जु–१ शुक्रबारे र विराटनगर महानगरपालिका–५ को सिमानास्थित सुनसरीतर्फ पर्छ । घटनास्थल आसपासका स्थानमा अत्यधिक चोरी र लुटपाट भइरहेको विशेष सूचना प्रहरीले प्राप्त गरेको थियो ।
उक्त क्षेत्रमा मोटरसाइकलमा यात्रा गर्नेलाई नियन्त्रणमा लिने र हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको प्रहरीको भनाइ छ । त्यससम्बन्धी सूचना संकलन गर्न र घटना नियन्त्रणका लागि प्रहरी जवान विमन परियार र प्रेम चौधरीलाई सादा पोसाकमा खटाइएको थियो । परियार र चौधरी पुग्नासाथ अन्दाजी चार जनाको संख्यामा रहेको समूहले आक्रमण गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।
उनकाअनुसार सुरुमा काठको चिर्पटले प्रहार गरेर प्रहरीलाई घाइते बनाइएको थियो । ‘पछाडिबाट टाउकोमा चिर्पट प्रहार गरियो । त्यस क्रममा दुई पक्षबीच केहीबेर घम्साघम्सीसमेत भयो,’ एसपी रेग्मीले भने, ‘आक्रमणकारीको समूह ठूलो थियो । प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्न सक्ने अवस्था भएन ।’ उनले आक्रमण गरेर प्रहरीलाई घाइते बनाएपछि हतियार र गोलीसमेत लुटेर उक्त समूह फरार भएको जनाए ।
आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको एसपी रेग्मीले बताए । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको जानकारी उनले दिए ।
घटनाको जानकारी पाउनसाथ उक्त गिरोहको खोजीका लागि विभिन्न प्रहरी युनिटबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो । आपराधिक गिरोहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक गजेन्द्र राया, इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरी निरीक्षक मोहन पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी निरीक्षक कैलाश चौधरीको नेतृत्वमा अलगअलग टोली परिचालन गरिएको छ ।
प्रहरीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ । पेस्तोल भने अहिलेसम्म फेला परेको छैन । घटनाको अनुसन्धान एवं सोधपुछका लागि शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेकाहरुको विवरण भने सार्वजनिक गरिएको छैन । उक्त घटनामा विगतमा विभिन्न अपराधमा संलग्न समूहको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनालगत्तै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले हतियारसहित सादा पोसाकमा एक्लै–दोक्लै प्रहरी परिचालन नगर्न निर्देशन दिएका छन् । साथै, ड्युटीमा खटाइएको समयमा टोली छाडेर एक्लै नबस्न, खटिएको टोली एकअर्कासँग समन्वय एवं सम्पर्कमा बस्न र प्रहरी परिचालनलाई मजबुत बनाउन पनि उनले निर्देशन दिएका छन् ।