तरुण खबर
४ चैत्र २०८१, सोमबार ०९:३९
काठमाडौं । नौ महिना सरकारबाट बाहिर रहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा बेचैनी बढेको छ । कांग्रेस र एमालेलाई फनफनी घुमाएर सरकारको नेतृत्व गर्दै आएका प्रचण्डले सोचेका पनि थिएनन् होला यति चाँडै सत्ता बाहिर रहनुपर्ला भन्ने कुरा । किनकि संविधान निर्माणपछिका झन्डै साढे ३३ सय दिनमध्ये माओवादी ३१ सयभन्दा बढी सत्तामै रहेको छ ।
तर अहिले कांग्रेस र एमालेबीच गठबन्धन भएपछि नेपालको राजनीतिमा माओवादी र प्रचण्डको कुनै स्पेस नै बाँकी छैन । प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई भाउ दिनै छाडेका छन् । त्यसकारण प्रचण्ड अहिले जतिसुकै जोखिम मोलेर भए पनि ओली फाल्ने अभियानमा केन्द्रित भएको देखिन्छ ।
पछिल्लो समय माओवादीले सुरु गरेको अभियान र प्रचण्डले दिने अभिव्यक्ति त्यसतर्फ केन्द्रित भएको सहजै अनुमान गर्न सकिन्छ । माओवादीले सुरु गरेको तराई मधेश अभियान पनि सत्ताकै लागि बार्गेनिङ भएको नेताहरुको अभिव्यक्तिले पुष्टि गर्छ । अभियानमा प्रचण्ड जहाँजहाँ पुगेका छन्, त्यहाँत्यहाँ उनले ओलीविरुद्ध कडा भाषण दिएका छन् । तर सत्ताकै प्रमुख घटक कांग्रेसप्रति भने लचिलो देखिएका छन् । अझै पनि कांग्रेसलाई फकाएर ओलीलाई फाल्न सकिन्छ भन्ने जोडबलमा उनी लागेका छन् ।
यसका लागि आइतबारदेखि प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय सरकारको नयाँ नारा अघि सारेका छन् । प्रचण्डले आफ्ना विश्वासपात्र लेखनाथ दाहालमार्फत यो फन्डा अघि सारेका हुन् । सिन्धुलीका सांसद दाहालले राष्ट्रिय सरकार बनाउने विषयमा कांग्रेस र माओवादीका शीर्षनेताबीच कुराकानी भइरहेको मिडियामार्फत सार्वजनिक गरेका छन् । प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेकोसमेत उनले रहस्य खोलेका छन् ।
तर कांग्रेसको उच्च स्रोतले अहिले त्यस्तो कुनै संकेत नदेखिएको बताएको छ । कांग्रेस सभापति देउवा तत्काल एमालेसँगको गठबन्धन तोड्ने मनस्थितिमा छैनन् । हिजो माओवादीसँग गठबन्धन हुँदा पनि एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देउवालाई नयाँ समीकरण बनाउन प्रयास गर्दा देउवाले अनिच्छा व्यक्त गरेका थिए । ओलीले प्रतिनिधिसभामार्फत नै कांग्रेस कुराकानी गर्न हच्किएको बताएका थिए ।
त्यही भएर अहिले देउवाले ओलीसँगको समीकरण टुटाउन तयार होलान् भन्नेमा स्वयं माओवादीका नेताहरु पनि विश्वस्त छैनन् ।
ओलीले अबको एक वर्षपछि देउवालाई सत्ता हस्तान्तरण गर्ने बताउँदै आएका छन् । त्यसैले पनि तत्काल सरकारमा जान खुट्टा उचालिरहेको माओवादीलाई निराशा मात्र हात पर्ने नेताहरुको भनाइ छ ।


