३१औं प्रहरी महानिरीक्षक बने भक्तपुरका दिपक थापा

३१औं प्रहरी महानिरीक्षक बने भक्तपुरका दिपक थापा तरुण खबर ४ चैत्र २०८१, सोमबार १९:४४
३१औं प्रहरी महानिरीक्षक बने भक्तपुरका दिपक थापा

काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षकमा दीपक थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले एआइजी थापालाई आईजी नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी मंगलवारबाट अवकाशमा जाने भएपछि मन्त्रिपरिषद्ले सोमबार नै नयाँ आइजी नियुक्त गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) प्रमुखका रुपमा कार्यरत एआईजी थापाले मंगलवारबाटै कार्यभार सम्हाल्ने भएका छन् । गृह सचिव गोकर्णमणि दुवाडीबाट फुली लगाएपछि उनले महानिरीक्षकको कार्यभार सम्हाल्ने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । २०२८ मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका थापाले कानुनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।

आईजीपी बन्न एआईजी थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ प्रतिस्पर्धामा थिए। उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। थापा एआईजी बनेको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए। आईजीपी थापा २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन्।