डा.अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त

डा.अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त तरुण खबर ४ चैत्र २०८१, सोमबार २०:१४
डा.अच्युत वाग्ले काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त

काठमाडौं विश्व विद्यालयको उपकुलपतिमा डा. अच्युत वाग्ले नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन्।

भिसी छनोट समिति संयोजक सुरेशराज शर्मा र सदस्यद्वय डा. अर्जुन कार्की र जनार्दन नेपालबीच मतभेद भएपछि प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर वाग्लेलाई भिसी बनाएका हुन्। छनोट समिति अनिर्णयको बन्दी भएपछि ओलीले नै हस्तक्षेप गरेर सिनेट बैठकबाट निर्णय गराएर वाग्लेलाई भिसी नियुक्त गरेका हुन्।

उपकुलपतिको रुपमा रहेका भोला थापाको कार्यकाल सकिएपछि वाग्लेलाई नै कायममुकायमको जिम्मेवारी दिइएको थियो। काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार रहेका वाग्लेलाई ओलीले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरेका थिए।

उनी यसअघि काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा एसोसिएट डीन थिए। त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिंघम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका वाग्लेले भारतको कानपुरस्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीबाट अर्थशास्त्रमै विद्यावारिधि गरेका छन्।

उपकुलपतिका लागि २० जनाको आवेदन परेको थियो। उपकुलपति छनोट समितिले आवेदन दिएकामध्ये २० जनाबाट १० जनाको नाम सर्ट लिष्टको रुपमा सार्वजनिक गरेको थियो। सर्ट लिस्टमा परेकाहरूमा अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुइँटेल, विभूतिरञ्जन झा, वेदमणि दाहाल, भोला थापा, राजेन्द्रप्रसाद कोजु, श्यामनारायण लाभ र सुबोध शर्मा थिए।