एमालेको सडकमा शक्ति प्रदर्शनले चिढिँदै कांग्रेस, शीर्ष नेतृत्व नै असन्तुष्ट

एमालेको सडकमा शक्ति प्रदर्शनले चिढिँदै कांग्रेस, शीर्ष नेतृत्व नै असन्तुष्ट तरुण सम्वाददाता ३१ चैत्र २०८१, आईतवार १०:२१
एमालेको सडकमा शक्ति प्रदर्शनले चिढिँदै कांग्रेस, शीर्ष नेतृत्व नै असन्तुष्ट

काठमाडौं । सरकारको नेतृत्व गरेको दल एमालेको सडक प्रदर्शनले प्रमुख सहयात्री कांग्रेसमा तीव्र मतभेद देखिन थालेको छ । सरकारको नेतृत्व पनि गर्ने अनि सडकमा पनि कार्यकर्ता उतार्ने गर्दा सरकारको छविमा आँच आउन थालेको र जनस्तरबाट आलोचित हुन थालेपछि कांग्रेस नेतृत्व नै प्रधानमन्त्री केपी ओलीप्रति सशंकित बन्न थालेको छ ।

एमालेले पार्टी अध्यक्ष ओलीविरुद्ध संगठित रुपमा हमला हुन थालेको भन्दै जागरण सभा गरिरहेको छ । बुटवलबाट सुरु भएको सभा शनिबार झापाको दमक पुगेको छ । एमालेले देशका प्रमुख सहरमा जागरण सभा गर्ने भन्दै गाउँगाउँबाट बसमा मान्छे उतार्दै आएको छ । जसकारण सरकारको काममा व्यवधान भएको कांग्रेसको ठम्याइँ छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । शनिबार अलग–अलग कार्यक्रमलाई सम्बोधन गरेका उनीहरूले सरकारको कार्यसम्पादन र प्रधानमन्त्रीको कार्यशैली एवं प्राथमिकता चयनमाथि प्रश्न उठाएका छन् । सभापति शेरबहादुर देउवासँग पछिल्लो समय नजिक रहेका महामन्त्री थापाले शनिबार धनकुटामा आयोजित कार्यक्रममा नाम नलिई ऊर्जामन्त्री दीपक खड्काको आलोचना गरे । राजधानीमा आयोजित अर्को कार्यक्रममा नेता कोइरालाले कांग्रेस सत्तामा रहेको, तर सरकारमा नरहेको टिप्पणी गरेका छन् ।

महामन्त्री थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने सरकारी निर्णयको विरोध गरे । ‘केही दिनअघि सरकारले एउटा कर्मचारीबारे, जुन निर्णय गर्नुपर्ने थिएन, त्यो निर्णयका कारण साथीहरूले उत्तर दिँदै हिँड्नुपरेको छ । त्यो अनावश्यक निर्णय गरेको कारणले हो,’ थापाले भने, ‘हाम्रा साथीहरूले अनावश्यक रूपमा सामाजिक सञ्जालमा मात्र नभएर टोलमा हप्की खानुपरेको छ ।’ महामन्त्री थापाले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई गर्नुपर्ने काम मात्रै गर्न सुझाव दिए ।

महामन्त्री शर्माले प्रधानमन्त्री केपी ओलीले कामको प्राथमिकता छुट्याउन नसकेको भन्दै आलोचना गरेका छन् । कांग्रेस बाँकेको नेपालगन्जमा शनिबार भएको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सरकारको गति बढाउन एवं प्रदर्शन सुधार गर्नतर्फ प्रधानमन्त्रीले ध्यान दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यान केन्द्रित गर्न जरुरी छ । प्रधानमन्त्रीज्यू, सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्नतर्फ लाग्नुस्,’ उनले भने, ‘आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपथ्र्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नुभो ।’

कांग्रेस नेता कोइरालाले प्रतिस्पर्धी एमालेसँग सरकारमा रहेको भन्दै असन्तुष्टि जनाए । बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औँ साधारणसभामा शनिबार उनले भने, ‘यो कांग्रेस सम्मिलित सरकार हो । तर, हामी सत्तामा छौँ, सरकारमा छैनौँ ।’ उनले हरेक ठाउँमा एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने कांग्रेस सरकारमा सँगै रहेकोमा असन्तोष व्यक्त गरेका थिए । कोइरालाले एमालेसँगको सहकार्यमा खबरदारी आवश्यक रहेको पनि बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नौ महिनापछि पहिलोपल्ट प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको आलोचना गरेका छन् । कांग्रेसमा प्रायः सबै नेता सरकारको कार्यशैलीको विपक्षमा रहे पनि देउवाले भने अहिलेसम्म मुख खोलेका थिएनन् । तर शनिबार आयोजित एक कार्यक्रममा देउवाले सरकारको कडा आलोचना गरे ।

अलि अगाडिसम्म देउवाले प्रधानमन्त्री ओलीप्रति आफू ढुक्क रहेको र सरकारलाई कांग्रेसको पूर्ण समर्थन रहेको विचार व्यक्त गरेका थिए । तर अहिले उनी केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्नेमा आफू कन्भिन्स रहेको बताएका छन् ।

शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभामा कांग्रेस नेता शेखर कोइरालाले ओली सरकारको काम कारबाहीप्रति सन्तुष्ट हुन नसकेको र जसकारण कांग्रेसलाई समेत अप्ठयारोमा परिरहेको बताएका थिए । कोइरालाका कुरा सुनेका देउवाले ओली सरकारको प्रफमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नुभयो,’ देउवाले भने ।