काठमाडौं । सरकारले चैत मसान्तसम्म फेसबुकको माउ कम्पनी मेटालाई नेपालमा दर्ता गर्न आह्वान गरेको थियो । यदि चैत मसान्तसम्म कम्पनी दर्ता नभए वैशाख १ गतेदेखि नेपालमा फेसबुक नचल्ने सूचना नै जारी गरेको थियो । जसअनुसार आज मध्यराति १२ बजेसम्म मेटालाई नेपालमा दर्ता गर्न समय बाँकी छ ।
सञ्चार मन्त्रालयले भने अहिलेसम्म मेटाले कुनै पत्र नपठाएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन्। ‘मेटालाई दर्ताको सूचना दिएको दुई महिना भइसक्यो, तर अझै जवाफ आएको छैन। चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौं,’ उनले भने ।
नेपालमा युट्युब, टिकटक जस्ता सामाजिक सञ्जाल दर्ता भइसकेका छन् । तर संसारभर नै लोकप्रिय फेसबुक भने दर्ता हुन सकेको छैन । यदि फेसबुक दर्ता नभए नेपालीले अर्बौंको कमाई गुमाउने भएका छन् । युट्युब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालसहित अडियो–भिडियो सर्भिसबाट चालू आर्थिक वर्ष ०८१–८२ को पहिलो आठ महिनामा नेपालमा सवा दुई अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले चालू आवबाट सामाजिक सञ्जाल, अडियो भिडियो सर्भिसलगायतबाट नेपाल भित्रिएको रकमको पनि अभिलेख राख्न सुरु गरेको हो ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकले साउनदेखि फागुनसम्म दुई अर्ब २३ करोड ७५ लाख रुपैयाँ यस्तो माध्यमबाट नेपाल भित्रिएको देखिएको छ । नेपालमा पहिलादेखि नै यस्तो माध्यमबाट विदेशी मुद्रा भित्रिने गरेको भए पनि त्यससम्बन्धी छुट्टै अभिलेख नभएका कारण यकिन तथ्यांक हुने गरेको थिएन ।
नेपालमा फेसबुक बतोकिएका विभिन्न मापदण्ड पुगेपछि युट्युब च्यानल, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालका खाता ‘मोनिटाइज’ हुन्छन् । त्यसपछि सम्बन्धित खातामा राखिने अडियो–भिडियोमा देखिने विज्ञापन र त्यसको भ्युजका आधारमा निश्चित रकम आम्दानी हुन्छ ।
यसैगरी फेसबुक, टिकटकमा एक प्रयोगकर्ताले अर्को प्रयोगकर्तालाई दिइने गिफ्ट तथा स्टारका आधारमा पैसा पनि आउँछ । युट्युबजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीले विज्ञापन परिचालन गरिरहेका हुन्छन् । त्यो विज्ञापन परिचालन गरिदिएबापत खातावाला उनीहरूले निश्चित रकम दिन्छन् । त्यसरी कमाइने पैसा बैंकिङ च्यानलमार्फत भित्रिन्छ । हरेक महिना यसबापतको रकम खातावालाको बैंक खातामा आउँछ ।
Post Views:
486