तरुण संवाददाता
१ बैशाख २०८२, सोमबार ०९:३३
काठमाडौं । सोमबारदेखि नयाँ वर्ष २०८२ प्रारम्भ भएको छ । नेपालमा गएको वर्ष २०८१ निकै उथलपुथल खालको रह्यो । वर्षको सुरुदेखि नै राजनीतिक घटनाक्रम तीव्र ढंगले अगाडि बढ्यो । वर्षको मध्यसम्म आइपुग्दा दल र तिनका नेताप्रति नै चरम आक्रोश पैदा भयो । कम्युनिस्ट गठबन्धनको सरकार टुटेर कांग्रेस एमालेको शक्तिशाली सरकार बन्यो ।
असार अन्त्यमा एमाले अध्यक्ष केपी ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने । नयाँ सरकार गठन भएसँगै माओवादीलगायतका दल र नागरिक समाज आन्दोलित बन्यो । यही बीचमा सहकारी ठगीको विषयले राजनीति पूरै ततायो । रास्वपा सभापति रवि लामिछानेदेखि राजावादी दुर्गा प्रसाईसमेत यतिबेला जेलमा पुगेका छन् । वर्षको अन्त्यमा राजावादीको आन्दोलनले मुलुकको राजनीतिमा छुट्टै बहस सिर्जना गरेको छ ।
नयाँ वर्ष लागेसँगै ठूला दल र तिनका नेतासामु ठूलो चुनौती आइलागेको छ । शिक्षक, कर्मचारी, भूमिहीन सबै सडकमा ओर्लिएका छन् ।
जनताका असन्तुष्टि र अपेक्षा चुलिँदै गएको छ । तर त्यसलाई पूरा गर्ने गरी राजनीतिक नेतृत्व अघि बढ्न सकेको छैन । संविधान संशोधनको बहस तीव्र ढंगले अघि बढे पनि दलहरु अझै नतातेकाले जनतामा वितृष्णा बढ्दो छ । विगतमा सरकार बन्ने र ढल्ने खेल हुने गरे पनि १० महिनायता त्यसमा रोक लागेको छ । तर पनि जसरी तीनै तहका सरकार सञ्चालन हुनुपर्ने हो त्यो भएको देखिएको छैन ।
२०८२ मा पनि पुरानो वर्षले नै निरन्तरता पाउने हो कि भन्ने संशय कायमै छ । जनतालाई सरकारले सही ढंगले डेलिभरी दिन नसक्दा फेरि पनि राजनीतिक अस्थिर हुने हो कि भन्ने चिन्ता देखिएको छ । राजावादी समूह सक्रिय बन्दा लोकतान्त्रिक शक्तिहरु रक्षात्मक अवस्थामा पुगेका छन् । व्यवस्थाप्रति नै चरम असन्तुष्टि बढ्नुले मुलुकमा जुनसुकै बेला अस्थिरता फैलने जोखिम कायमै छ । त्यसैले प्रधानमन्त्री केपी ओलीले निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना वक्तव्य दिँदै युवाहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेकोसमेत जनाएका छन्।
‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौं । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । अनेकौं कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं भन्ने विश्वास लिएको छुु,’ ओलीले भनेका छन् ।


