भारत र पाकिस्तानबीच जुनबेला जे पनि हुनसक्ने

भारत र पाकिस्तानबीच जुनबेला जे पनि हुनसक्ने तरुण संवाददाता १२ बैशाख २०८२, शुक्रबार ०९:५६
भारत र पाकिस्तानबीच जुनबेला जे पनि हुनसक्ने

काठमाडौं । जम्मु कश्मीरको पहलगाममा मंगलबार २६ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणले भारत र पाकिस्तानबीच जुनबेला जे पनि हुनसक्ने देखिएको छ । यो घटनाले दुई देशमा तीव्र ढंगले घटना विकासक्रम बढिरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाका जिम्मेवारलाई कठोर सजाय दिइछाड्ने प्रतिज्ञा गरेका छन् । ‘म सारा विश्वलाई भन्छु– भारतले हरेक आतंकवादी र तिनका समर्थकलाई पहिचान गर्नेछ, पछ्याउनेछ र दण्डित गर्नेछ । हामी तिनीहरूलाई पृथ्वीको जुनसुकै कुनामा भए पनि खोज्नेछौँ ,’ बिहीबार बिहारको मधुवनीमा मोदीले भने ।

भारतले इस्लामाबादलाई ‘सीमापार आतंकवाद’लाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक उपायहरूको शृंखलासहित आफ्नो छिमेकीसँगको सम्बन्ध घटाएको थियो । पाकिस्तानले भने पहलगाम आक्रमणमा आफ्नो कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ । सन् १९४७ मा बेलायतले भारतीय उपमहाद्वीप छाडेदेखि कस्मिर भारत र पाकिस्तानबिच विभाजित छ ।

भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको एक दिनपछि पाकिस्तान सरकारले बिहीबार भारतको कदमको कडा प्रतिवाद गरेको छ । नयाँ उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री सहबाज सरिफले राष्ट्रिय सुरक्षा समितिको विशेष बैठक बोलाएका थिए । सेना प्रमुख जनरल आसिम मुनिरसहित सुरक्षा निकायका उच्च अधिकारी सहभागी थिए ।

‘पाकिस्तानको सार्वभौमिकता र जनताको सुरक्षालाई असर पुग्ने कुनै पनि कदमको जवाफ दृढ र समुचित ढंगले दिइनेछ,’ पाकिस्तानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । भारतले कस्मिरमा भएको एक आक्रमणपछि पाकिस्तानसँगको पानी बाँडफाँट सन्धि निलम्बन गर्ने, प्रमुख सीमा नाका बन्द गर्ने, कूटनीतिक सम्बन्ध घटाउने र पाकिस्तानी नागरिकको भिसा खारेज गर्ने निर्णय लिएको छ ।

त्यस्तै पाकिस्तानले आफ्ना आकाशमार्ग भारतीय विमान कम्पनीका लागि तत्काल प्रभावबाट बन्द गरेको छ । पाकिस्तानमा बसिरहेका भारतीय नागरिकको भिसा रद्द गरिएको छ । इस्लामाबादले सिन्धु नदीको पानी रोक्ने प्रयासलाई ‘एक्ट अफ वार (युद्ध कदम) भन्दै आवश्यक परे सम्पूर्ण राष्ट्रिय क्षमता प्रयोग गरेर प्रतिक्रिया दिने चेतावनी दिएको छ । याे घटनाले भारत र पाकिस्तानबीच जुनबेला जे पनि हुनसक्ने देखिएकाे छ ।