काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरस्थित क्रिकेट रंगशालामा तीन सय दिनभित्र फ्लडलाइट राख्ने काम पूरा हुन नसकेकोमा कर्मचारी र ठेकेदार कम्पनीसँग स्पष्टीकरण साेधेका छन् ।
सोमबार सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई बोलाएर स्पष्टीकरण लिँदै ओलीले तोकिएकै समयमा काम पूरा नभएकोमा असन्तुष्टि व्यक्त गरे । जवाफमा कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिले त्रिविको जग्गा प्राप्तिमा ढिलाइ, रुख पन्छाउने प्रक्रियाको कानुनी समयसीमाले स्पेकमा गर्नुपरेको परिवर्तन र निर्माण थालेपछि पानी परेकोले कालो माटो पन्छाउन परेको अप्ठेरोले तीन सिफ्टमा काम गर्दा पनि समयसीमामा काम सम्पन्न गर्न नसकेको बताएका थिए ।
ओली सरकार बनेपछिको क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानलाई ३०० दिनभित्र फ्लडलाइटसहितको रंगशाला बनाउने निर्णय गरेको थियो। वैशाख २४ गते ३०० दिन पुग्दै छ।
प्रधानमन्त्री ओलीले थप दुई महिनाभित्र प्यारापिट निर्माण र फ़्लडलाइट जडानको काम पूरा गरिसक्ने वाचा गरेको जानकारी दिएका छन् । ‘आफूले थालेका कामलाई समयमै सक्न जवाफदेही हुनेगरी काम गर्नु पर्छ भन्ने सरकारको प्राथमिकता छ। कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनु पर्थ्यो । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सैह्य नहुने जानकारी गराएको छु। असारको अन्तिम सातासम्म पक्कै हामीले कीर्तिपुरमा क्रिकेट रंगशाला पाउने छौं,’ ओलीले भनेका छन् ।