काठमाडौं । एमाले नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
चर्चित प्रगतिशील साहित्यकारसमेत रहेका नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई गोठाटार काँडाघारी निवासबाट नर्भिकस्थित आइसीयुमा उपचारका लागि ल्यााइएको थियो । प्रगतिशील लेखकसमेत रहेका नेता नेपालको थुप्रै पुस्तक प्रकाशित छन् । कोअर्डिनेशन केन्द्र, तत्कालीन नेकपा माले हुँदै पटकपटक एमाले स्थायी समिति सदस्य रहेका उनी नवौं महाधिवेशनमा उपाध्यक्ष पदका प्रत्यासी बनेका थिए । उनी पाँच दशकभन्दा बढी समय कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए ।
कुनै समय पत्रकारिता, साहित्य लेखनका साथै राजनीतिसमेत गर्ने नेपाल सञ्जय थापाका नामले चर्चित थिए । उनी जलस्रोत र सञ्चारमन्त्री भइसकेका छन् । पार्किसन्स जस्तो घातक रोगका कारण नेपाल लामो समयदेखि सार्वजनिक कार्यक्रममा उपस्थित हुन सकेका थिएनन् । विरामी भएदेखि उनी आफ्नै निवासमा बस्दै आएका थिए । प्रदीप नेपाल एमालेमा स्पष्टवक्ता नेताका रूपमा परिचित थिए । जीवनको उत्तराद्र्धमा उनी गुमनाम थिए ।
सोमबार साँझ उनको पशुपतिमा अन्त्येष्टि गरिएको छ । एमाले नेता भए पनि उनको अन्तिम इच्छा पार्टीको झन्डा पार्थीव शरीरमा नओडाउनु भन्ने रहेकाले त्यसै गरिएको थियो । उनको श्रीमती र छोरी छन् ।