काठमाडौं । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्का र सिन्धुपाल्चोकका महासमिति सदस्य राजेन्द्रकुमार श्रेष्ठकै कारण कांग्रेस बदनाम हुन पुगेको छ । खड्का र श्रेष्ठले सेटिङमा चितवनको ११ कट्ठा जग्गा बिक्री गर्ने भन्दै काठमाडौंका दुई व्यक्तिलाई घरको न घाटको बनाएका छन् ।
कांंग्रेसका प्रदेश सांसद खड्काले सिन्धु विकास बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसँग सेटिङ मिलाएर जग्गा किन्नेहरू सानुराज फुयाँल र प्रवेशराजभक्त मुलिकको साढे सात करोड रुपैयाँ बैना पच गरिदिएपछि उनीहरू बाँच्नु न मर्नुको अवस्थामा पुगेका छन् । यो विषयले अहिले कांग्रेसभित्र सनसनी मच्चिएको छ । तर जग्गा दलालसमेत रहेका खड्कालाई मिलेर ठगीधन्धाको साम्राज्य चलाएका श्रेष्ठले यस्तो घटना सामान्य भएको र मिडियामा आउँदैमा आफूलाई केही फरक नपर्ने भन्दै हिँडेका छन् । बैना दिएका व्यक्तिसँग बैंकको स्टेटमेन्ट र अन्य लिखित कागज पनि रहेका श्रेष्ठ र खड्का दुवै संगठित ठगी अपराधमा तानिन सक्छन् ।
प्राप्त कागजातअनुसार चितवनको रत्ननगर नगरपालिकामा रहेको ११ कट्ठा जग्गा विभिन्न व्यक्तिलाई बिक्री गर्ने नाममा बैना रकम नै हजम गरिदिएका हुन् । यसरी बिचल्लीमा पर्नेमा काठमाडौंका सानुराज फुयाँल र प्रवेशराजभक्त मुलिक छन् । फुयाँल र मुलिकको बैनाबापतको साढे सात करोड रुपैयाँ खाइदिएपछि उनीहरूको यतिबेला उठिबास लागेको छ ।
मन्त्री खड्का निर्देशक रहेको साइसा ल्यान्ड डेभलपर्स एन्ड हाउजिङ कम्पनीले चितवन देवाली गापा वडा नम्बर २ को कित्ता नम्बर १७५२ को ०–४–११ र ऐ.ऐ. कित्ता नम्बर ५४३५ को क्षेत्रफल २२८५.८५ वर्गमिटर जग्गा २०७८ फागुन ११ गते फुयाँल र मुलिकलाई १२ करोड रुपैयाँ बेच्ने गरी एक करोड ५० लाख रुपैयाँ बैना लिएको थियो । बैना लिएको कागजको मञ्जुरी करारनामा कागज काठमाडौं महानगरपालिका–१० वडा कार्यालयमा गरिएको थियो । पछि सोही जग्गा २०८० जेठ १ गते १३ करोड ८६ लाख रुपैयाँमा बिक्री गर्ने भनी बुढानिलकण्ठ नगरपालिका–४ वडा कार्यालयमा समेत कागज गरिएको थियो । तर खड्काले सो जग्गा फुयाँल र मुलिकलाई दिएनन् ।
खड्काले फँुयाल र मुलिकको नाममा बैना गरिएको जग्गा प्लटिङ गरेर विभिन्न व्यक्तिलाई बेचेको रहस्य खुलेको छ । स्रोतका अनुसार खड्काले नारायण राउत, युवराज शर्मा, रश्मि श्रीष र मिरा थापालाई कित्ताकाट गरेर जग्गा बेचेका छन् । अहिले भरतपुरस्थित मालपोत कार्यालयमा कित्ता नम्बर १७५२ को ०–४–११ जग्गा मालपोतको ढड्डामा भेटिन्न । आफूले गरेको बैना रकम फिर्ता माग्न जाने फुयाँल र मुलिकलाई खड्काले जग्गा बेचेर दिने भन्दै झुलाउने गरेका छन् ।
चितवनको रत्ननगर नगरपालिकामा पर्ने सो जग्गा सिन्धु विकास बैंकको स्वामित्वमा थियो । कुनै व्यक्तिले बैंकसँग लिएको ऋण तिर्न नसकेपछि बैंकले लिलाम गरेको थियो । लिलामीको सो जग्गा बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आफ्नो भाइ रमेश श्रेष्ठको नाममा नामसारी गरिदिएका थिए । सोही जग्गा बागमती प्रदेशका मन्त्री खड्काले बिक्री गर्ने भन्दै बैना रकम लिएर पचाइदिएका हुन् । सो जग्गाका लागि काठमाडौंका मुलिकले खड्कालाई साढे पाँच करोड बैना दिएका थिए । सो रकमसमेत फिर्ता भएको छैन । न त जग्गा नै नामसारी गरिदिएका छन् । खड्काले आफ्नो आर्थिक कारोबार गर्ने जिम्मा नुर दोर्जे शेर्पालाई दिएका छन् । फुयाँल र मुलिकलाई जग्गा बिक्री गर्दा वडा कार्यालयमा गरेको बैना कागजको साक्षीमध्ये शेर्पा पनि एकजना हुन् ।
कांग्रेस महासमिति सदस्यसमेत रहेका पिपुल्स प्लाजाका मालिक श्रेष्ठले आफू श्याम खड्काको प्रतिनिधि भनेर पटकपटक गरी फुयाँलसँग एक करोड ४० लाख रुपैयाँ लिएका छन् । श्रेष्ठले फुयाँलसँग सुरुमा एक करोड २० लाख, त्यसपछि दुईपटक नौ लाख ९० हजारका दरले १९ लाख ८० हजार रुपैयाँ खड्कालाई दिन्छु भनी बुझेका थिए । तर हालसम्म उक्त रकम श्रेष्ठले खडकालाई नदिएको स्रोतको दाबी छ । फुयाँलले श्रेष्ठलाई नबिल र प्राइम कर्मसियल बैकमार्फत र नगदै दिएका थिए । अहिले श्रेष्ठले बैनाबापत लिएको कागजात नै गायब बनाइदिएका छन् ।
श्रेष्ठले सिन्धु विकास बैंकमा अध्यक्ष हुँदा विभिन्न जिल्लामा ऋणीको जग्गा लिलामी गर्ने र भूमाफियालाई बिक्री गर्दै आएको पीडितहरू बताउँछन् । उनकै कारण यतिबेला बैंक टाट पल्टिएको छ । अध्यक्षको भूमिकामा रहेर बैंक डुबाउन भूमिका खेलेको भन्दै श्रेष्ठलाई नेपाल राष्ट्र बैंकले व्यक्तिगत रूपमा पाँच लाख जरिवानासमेत गरेको थियो । छेपाराले रङ फेरेझैँ राजनीतिक चरित्र फेर्न माहिर श्रेष्ठ कांग्रेस, माओवादी हुँदै पुनः कांग्रेस बनेका छन् । उनले विगतमा माओवादी हुँदा रक्तचन्दन तस्करीमा संलग्न रहेर अकूत सम्पत्ति आर्जन गरेको उनका समकक्षीहरूले बताउने गरेका छन् । प्रदेशमन्त्री खड्का र रक्तचन्दन तस्कर श्रेष्ठ मिलेर आफूहरूको बैना रकम नै पच गरिदिएपछि फुयाँल र मुलिक अहिले विभिन्न निकायमा हारगुहार गर्दै दौडिरहेका छन् ।