काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति जानीजानी लम्ब्याएको देखिएको छ । कामु गभर्नर निलम ढुंगानालाई कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न नलगाएर गभर्नर नियुक्ति गिजोलिरहेका छन् । त्यसैले ओलीले हलो अड्काएर गोरु चुटेको भन्दै कांग्रेसमा असन्तुष्टि चुलिएको छ ।
केही दिनअघि ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बिहीबारसम्म गभर्नर नियुक्ति हुने आश्वासन दिएका थिए । ओलीले भनेको म्यान्डेट आज बिहीबार हो । ओलीले आज मन्त्रिपरिषद्को बैठकसमेत बोलाएका छन् । तर गभर्नर नियुक्तिको एजेन्डा तय छैन ।
कार्यकाल सकिनु एक महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्नसकेको छैन। ओली र देउवाको लगातारको छलफलपछि बुधबार राष्ट्र बैंककै कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत गराएर बिहीबार गभर्नर नियुक्त गर्ने निश्चित भएको थियो। तर, गभर्नर नियुक्ति प्रक्रिया अझै लम्बिने देखिएको छ।
किनकि गभर्नरका प्रत्याशी राष्ट्र बैंककै कार्यकारी निर्देशक भट्टको राजीनामा बुधबारसम्म स्वीकृत नभएपछि दुई दलको योजना सफल नहुने देखिएको हो। कामु गभर्नर ढुंगानाले आफूले भट्टको राजीनामा स्वीकृत नगर्ने अडान लिएकी छन् । उनी आफैँ गभर्नरको प्रत्याशी भएका कारण अन्तिम समयसम्म लड्ने मनस्थितिमा रहेको ढुंगाना नजिकको स्रोतको दाबी छ।
‘म अन्तिमसम्म लड्छु, केही नलागे आफै राजीनामा दिएर हिँड्छु तर भट्टको राजनीनामा मबाट कुनै हालतमा स्वीकृत हुँदैन,’ ढुंगानाले भन्न थालेकी छन् । चौतर्फी दबाब आइरहँदा पनि ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरी अडानमा बस्नुले उनको ब्याकफोर्स प्रधानमन्त्री ओली नै रहेको कांग्रेसवृत्तमा चर्चा छ।
राष्ट्र बैंकबाहिरबाट गभर्नर बन्ने रेसमा रहेका उम्मेदवार पनि यही बीचमा खेलिरहेका छन्। यदि प्रधानमन्त्री ओली र देउवाले डेपुटी गभर्नर ढुंगानाको चट्टानी अडान ब्रेक गर्न सकेनन् भने राष्ट्र बैंकबाहिरका उम्मेदवार गभर्नर बन्ने सम्भावना पनि देखिएको छ।