काठमाडौं । प्रधानमन्त्री केपी ओलीले दुई दुईपटक मिर्गौला प्रत्यारोपण गरेका छन् । पहिले प्रत्यारोपण गरेको १२ वर्षपछि ओलीले अर्कोपटक मिर्गौला प्रत्यारोपण गरेका हुन् । दुई दुईपटक मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री चलाउने ओली सम्भवतः संसारकै पहिलो नेता हुन सक्छन् ।
ओलीको मिर्गौला फेल भएपछि दोस्रोपटक २०७६ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई त्यसबेला संग्रौला थरकी भान्जी नाता पर्ने एक युवतीनले मृगौला दिएकी थिइन् । त्यसअघि पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा बुहारी अन्जनाले मिर्गौला दिएकी थिइन् ।
ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल कुष्ठरोग राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् । तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए ।
‘‘मलाई क्षयरोग लाग्यो । अल्सर भयो, दुखेर असैह्य हुन्छ । पेटभरि घाउ भएर, भतभत पोल्छ । रगत आउँछ घाउबाट, अनि पेन किलर दिन्छ,’ उनले विगत स्मरण गर्दै भने, ‘पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ ? मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।’