गभर्नर विश्व पौडेलविरुद्ध सर्वोच्चमा फेरि रिट

गभर्नर विश्व पौडेलविरुद्ध सर्वोच्चमा फेरि रिट तरुण संवाददाता १० जेष्ठ २०८२, शुक्रबार १२:२३
गभर्नर विश्व पौडेलविरुद्ध सर्वोच्चमा फेरि रिट

काठमाडौं । नेपालमा एउटा कानुन व्यवसायीको समूह छ जो सरकारले गरेका हरेक निर्णयविरुद्ध अदालतमा रिट हालिहाल्छ । आफूलाई पत्रकारसमेत भनेर चिनाउने त्यो ग्याङकै कारण राज्यका विभिन्न निकायले स्वतन्त्र ढंगले काम गर्न सकेका छैनन् । त्यो ग्याङमा अधिवक्ताहरु अनन्तराज लुइँटेल, विशाल थापा, प्रतिभा उप्रेती मुख्य छन् । विगतमा ओमप्रकाश अर्याल पनि थिए । श्रीमतीलाई न्यायाधीश बनाउने लाइनमा राखेपछि उनी अहिले काठमाडौं मेयरका कानुनी सल्लाहकार छन् ।

लुइँटेल, थापा र उप्रेतीले गभर्नर विश्व पौडेलको नियुक्ति बदर गर्न माग गर्दै पुनः सर्वोच्च अदालतमा शुक्रबार निवेदन हालेका छन् । उनीहरुको निवेदन अध्ययनकै क्रममा रहेको सर्वोच्च प्रशासनले जनाएको छ। यसअघि पनि नियुक्ति नै रोक्न माग गर्दै उनीहरुले रिट दिएका थिए। तर त्यो रिट अपरिपक्व भन्दै सर्वोच्चले दर्ता गर्न अस्वीकार गरेको थियो भने त्यसविरुद्धको अर्को निवेदनमा पनि इजलासले दरपीठलाई सदर गर्दै रिट दर्ता अस्वीकार गरिएको थियो।

सर्वोच्चमा पेस भएको निवेदनमा पौडेल राजनीतिक व्यक्ति भएको, मौद्रिक क्षेत्रमा काम गरेको अनुभव नभएको र संस्थागत कार्यानुभवसमेत नभएको दाबी गरिएको छ। पौडेललाई मन्त्रिपरिषद् बैठकबाट ६ जेठमा गभर्नर नियुक्त गरिएको थियो। ७ गते उनले गभर्नरको शपथ तथा कार्यभार सम्हालिसकेका छन्। तर उनलाई मु्द्दाको भाउतोले छाडेको छैन ।