माधव नेपालविरुद्ध अभिव्यक्ति दिएपछि रामकुमारी झाँक्रीलाई सोधियो स्पष्टीकरण, कारबाही गरिने

माधव नेपालविरुद्ध अभिव्यक्ति दिएपछि रामकुमारी झाँक्रीलाई सोधियो स्पष्टीकरण, कारबाही गरिने तरुण संवाददाता १८ असार २०८२, बुधबार १४:१८
माधव नेपालविरुद्ध अभिव्यक्ति दिएपछि रामकुमारी झाँक्रीलाई सोधियो स्पष्टीकरण, कारबाही गरिने

काठमाडौं । एकीकृत समाजवादीले पार्टीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई लिएर उनलाई तीन दिने स्पष्टीकरण सोधिएको हो ।

झाँक्रीले असार १५ गते बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा भनेकी थिइन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’ उनले अर्ली महाधिवेशन गरेर नयाँ अध्यक्ष चयन गर्नुपर्नेसमेत बताएकी थिइन् । त्यसपछि पार्टीमै यसले बबन्डर मच्चाएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल पतन्जली जग्गा प्रकरणमा मुछिएका थिए । उनलाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अध्यक्षमाथि अभिव्यक्ति दिएपछि एकीकृत समाजवादी अनुशासन आयोगले स्थायी समिति सदस्य झाक्रीमाथि स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण चित्त नबुझेमा उनलाई कारबाही गर्नेसम्मको तयारी छ ।

पार्टीले शीर्ष नेताहरूमाथि जथाभावी कमेन्ट गर्न र सामाजिक सञ्जालमा आलोचना नगर्न सर्कुलर नै जारी गरेको छ ।