नेपालमा एक सातामै ३५ जनामा कोरोना संक्रमण

नेपालमा एक सातामै ३५ जनामा कोरोना संक्रमण तरुण संवाददाता २० असार २०८२, शुक्रबार १५:२७
नेपालमा एक सातामै ३५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड संक्रमण पुष्टि भएको छ । हालसम्म दुई सय ४९ जनामा कोरोना संक्रमण देखा परेको छ ।

एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिडबाट एकजनाको मृत्युसमेत भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिडको निगरानीलाई थप प्रभावकारी बनाएको बताए। ‘सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ,’ उनले भने ।

कोभिडलगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ । उनले कोभिड प्रभावित क्षेत्रबाट आएका र कोभिडसँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइन÷आइसोलेसन’मा बस्न आग्रह गरे ।

पछिल्लो समय छिमेकी देश भारतमा कोभिड संक्रमण तीव्र रूपमा विस्तार भइरहेको छ । भारतबाट आउने नेपालीमा कोरोना देखिएको छ ।