तरुण खबर
१५ श्रावण २०८२, बिहीबार १२:४१
काठमाडाैं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान ११:३० बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता हुने तय भएको छ।
दुई नेताबीचको यो छलफल हालका जटिल राजनीतिक परिस्थितिहरू, विशेषतः मन्त्रिपरिषद् पुनर्गठन र संसद्मा अड्किएका विधेयकहरूलाई प्राथमिकता दिइनेगरी तय गरिएको हो।
मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुट्न बाँकी
प्रधानमन्त्री ओलीले सरकारको कार्यदक्षता सुधार्न तुरुन्त मन्त्रिपरिषद् पुनर्गठन आवश्यक रहेको बताउँदै आएका छन्। तर, सत्तारूढ गठबन्धन साझेदार नेपाली कांग्रेसका सभापति देउवाले यस विषयमा अझै स्पष्ट सहमति नदिएकाले फेरबदल प्रक्रिया रोकिएको स्रोतको भनाइ छ।
आजको भेटमा ओलीले देउवालाई फेरबदलको विषयमा सहमत गराउने प्रयास गर्ने बताइएको छ। एमालेभित्र पनि केही मन्त्रीको कार्यसम्पादनप्रति असन्तुष्टि बढ्दै गएको सन्दर्भमा ओलीले “दबाबको नीति” अवलम्बन गरिरहेका छन्।
संसद् अवरोध हटाउने उपायमा पनि छलफल हुने
भेटमा संघीय संसद्मा अड्किएका महत्वपूर्ण विधेयकहरू अगाडि बढाउने विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ। विशेष गरी विधायन प्रक्रियामा दुवै पार्टीबीच समन्वय बढाउने विषयमा सहमति जुटाउने प्रयास हुनेछ।
स्रोतका अनुसार, सरकार र प्रमुख प्रतिपक्षबीच विधेयक पारित गर्ने सहमति नहुँदा संसद्को कार्यसम्पादन प्रभावहीन बनेको छ। आजको भेटवार्तालाई सरकारले आन्तरिक पुनर्संरचना र सत्तारूढ गठबन्धनबीचको विश्वास कायम राख्न एउटा निर्णायक प्रयासका रूपमा हेरिएको छ।


