तरुण खबर
१५ श्रावण २०८२, बिहीबार १६:४८
काठमाडाैं, १५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाका रूपमा राख्नुपर्ने बताएका छन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाबारे गरेको छलफलमा बोल्दै मन्त्री पाण्डेले यस्तो धारणा राखेका हुन्।
उनले मन्त्रालयअन्तर्गत पाँचवटा राष्ट्रिय गौरवका आयोजना रहे पनि भैरहवा र पोखरा विमानस्थलको निर्माण सम्पन्न भइसकेकाले अब यी दुई आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्नुपर्ने बताए। “देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै यी आयोजनाबाट फाइदा लिनुपर्छ,” मन्त्री पाण्डेले भने।
पशुपति र लुम्बिनीको गुरुयोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध
मन्त्री पाण्डेका अनुसार पशुपति र लुम्बिनीको गुरुयोजनाअनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध छ। यद्यपि, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाका रूपमा राखिएको भए पनि यसको निर्माणमा अन्योल रहेको उनले स्वीकार गरे। निजगढ विमानस्थल देशका लागि अपरिहार्य रहेकाले यसको निर्माण र सञ्चालन मोडालिटी बनाएर अगाडि बढ्ने जानकारी पनि मन्त्री पाण्डेले दिए।
भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा चुनौती र नेपाल एयरलाइन्सको अवस्था
भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउन नसक्नुमा रुटको समस्या मात्र नभएको र सरकारका कतिपय निकायले नै सरकारले तयार पारेको कार्ययोजना लागू नगर्दा समस्या आएको उनको भनाइ थियो।
मन्त्री पाण्डेले लामो समयपछि अहिले नेपाल एयरलाइन्सका सबै जहाज सञ्चालनमा रहेको जानकारी दिँदै नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषयमा समेत छलफल जारी रहेको बताए।


