तरुण खबर
१६ कार्तिक २०८२, आईतवार ०९:५१
काठमाडाैं, १६ कार्तिक । बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सञ्चालन तथा मर्मतका लागि सरकारले अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर) आह्वान गरेको छ। नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मार्फत अनुभवी तथा सक्षम सेवा प्रदायक छनोट गर्न टेण्डर खुला गरेको हो।
सुरुङ मार्ग सवारी सञ्चालन गर्न तयार भइसके पनि दक्ष जनशक्ति र सुरक्षा प्रबन्धका कारण सञ्चालनमा आउन सकेको छैन। यसैलाई मध्यनजर गर्दै सडक विभागको सीमित अनुभव र हालको कार्यबोझले अत्याधुनिक प्रणाली जडित सुरुङको सञ्चालन र मर्मत कठिन हुने ठहर गर्दै विशेष तालिम प्राप्त जनशक्तिबाट काम गराउन सेवा प्रदायक खोजिएको हो।
मुख्य विवरणहरू:
कर्मचारी व्यवस्थापन:
सुरुङ मार्गको सञ्चालन र मर्मतका लागि १५० जना कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको छ। सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउने र आपत्कालीन टोली स्थापना गर्नेछ।
| युनिट/जिम्मेवारी | कर्मचारी संख्या |
| सुरक्षा व्यवस्थापन युनिट | ६४ जना |
| टोल (सडक उपभोग दस्तुर) उठाउने | ५४ जना |
| ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रण | १४ जना |
| सिभिल संरचना मर्मत | ८ जना |
| अन्य संरचना मर्मत | ८ जना |
| जम्मा | १५० जना |
सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा कर्मचारी रहनेछन्। सरकारले सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) समेत तोकिसकेको छ।



