थानकोट अस्पतालमा १ अर्ब सहयोग: जर्मन राजदूत र चन्द्रागिरी मेयरबीच छलफल

थानकोट अस्पतालमा १ अर्ब सहयोग: जर्मन राजदूत र चन्द्रागिरी मेयरबीच छलफल तरुण खबर २२ कार्तिक २०८२, शनिबार १०:५६
थानकोट अस्पतालमा १ अर्ब सहयोग: जर्मन राजदूत र चन्द्रागिरी मेयरबीच छलफल

काठमाडाैं, २२ कार्तिक । चन्द्रागिरी नगरपालिका–४, थानकोटमा निर्माण हुन लागेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पतालको विषयमा शुक्रबार चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरी र नेपालका लागि जर्मन राजदूत उडो युगेन भोल्ज बीच भेटवार्ता भएको छ।

भेटमा नगर प्रमुख गिरीले जर्मन विकास बैंक (KFW) को सहयोगमा बन्न लागेको यस अस्पतालका लागि नगरपालिकाले आवश्यक सहजीकरण र समन्वय गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी रहने आश्वासन दिए।

१ अर्बको सहयोग, २५ शय्याको अस्पताल

जर्मन विकास बैंक (KFW) को करिब १ अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा यो अस्पताल निर्माण हुन लागेको हो। यो २५ शय्याको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालको रूपमा सञ्चालन गरिनेछ।

अस्पताल निर्माणका मुख्य प्रगति:

  • जग्गा स्वीकृति: मन्त्रिपरिषद्ले थानकोट प्राथमिक अस्पतालको परिसरमा अस्पताल स्थापनाका लागि २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ।
  • प्राविधिक तयारी: KFW ले अस्पतालको प्रारम्भिक डिजाइन स्वीकृत गरिसकेको छ।
  • बोलपत्र तयारी: विस्तृत परियोजना प्रतिवेदन (DPR) नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नगरपालिका र KFW को समन्वयमा तयार भइसकेको छ र अब भवन निर्माणका लागि ‘ग्लोबल टेन्डर’ प्रक्रिया अगाडि बढाउने तयारी छ।
  • स्थलगत अध्ययन: डिजाइन तथा ग्लोबल टेन्डर प्रक्रिया अगाडि बढाउन आवश्यक प्रतिवेदन तयारीका लागि यस वर्ष (चालु आर्थिक वर्ष) स्थलगत अध्ययन समेत सम्पन्न भएको छ।

यो अस्पताल सञ्चालनमा आएपछि काठमाडौँको दक्षिण–पश्चिम भेग र धादिङ, मकवानपुर, नुवाकोट लगायतका छिमेकी जिल्लाका बासिन्दाले पनि प्रसूति तथा स्त्रीरोगको विशेषज्ञ सेवा सहजै पाउने अपेक्षा गरिएको छ।