१९% बढ्यो वीरगञ्जको आयात: तीन महिनामै २ खर्ब १८ अर्बको वस्तु भित्रियो

१९% बढ्यो वीरगञ्जको आयात: तीन महिनामै २ खर्ब १८ अर्बको वस्तु भित्रियो तरुण खबर २२ कार्तिक २०८२, शनिबार १०:५८
१९% बढ्यो वीरगञ्जको आयात: तीन महिनामै २ खर्ब १८ अर्बको वस्तु भित्रियो

 

काठमाडाैं, २२ कार्तिक । चालु आर्थिक वर्षको पहिलो तीन महिना (प्रथम त्रैमास) मा वीरगञ्ज भन्सार नाका हुँदै हुने वस्तु आयातमा उल्लेख्य वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार समीक्षा अवधिमा २ खर्ब १८ अर्ब १० करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ।

यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशत अर्थात् ३४ अर्ब २३ करोड रुपैयाँले बढी हो। गत वर्षको पहिलो त्रैमासमा वीरगञ्ज भन्सारबाट १ खर्ब ८३ अर्ब ८७ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका थिए।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामा वीरगञ्ज नाकाबाट आयात ह्वात्तै बढेको बताए।

सर्वाधिक आयात भएका मुख्य वस्तु

पहिलो त्रैमासमा वीरगञ्ज भन्सारबाट ठूलो परिमाणमा आयात भएका मुख्य वस्तुहरू र तिनको मूल्य तल उल्लेख गरिएको छ:

वस्तुको विवरण आयात मूल्य (रू. अर्बमा)
पेट्रोलियम पदार्थ ३८.०९
फलाम तथा फलामजन्य वस्तुहरू १९.८४
मेसिनरी तथा पार्टपुर्जाहरू १५.५७
कच्चा भटमासको तेल १४.८०
रासायनिक मल १२.८१
सबै प्रकारका तयारी कपडा (गार्मेन्ट) १२.१६
विद्युतीय मेसिनरी, उपकरण र पार्टपुर्जा १२.०६
यातायातका साधन तथा पार्टपुर्जाहरू १०.१२

तथ्याङ्कअनुसार इन्धन, औद्योगिक कच्चा पदार्थ (फलाम, मेसिनरी, कच्चा तेल) र अत्यावश्यक वस्तु (मल) को आयातमा वीरगञ्ज नाकाको महत्त्वपूर्ण हिस्सा रहेको देखिन्छ।