तरुण संवाददाता
१ पुष २०८२, मंगलवार १५:५२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनीलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
थापाले राष्ट्रपति कार्यालय, शीतल निवासलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा २०७९ चैत १४ गतेदेखि राष्ट्रपतिको कार्यालयमा राजनीतिक सल्लाहकारका रूपमा कार्यरत रहँदा प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको उल्लेख गरेका छन्। उनले आफ्नो राजीनामा स्वीकृत गरिदिन अनुरोध गरेका छन्। थापा पूर्वमन्त्री तथा संविधानसभा सदस्यसमेत हुन्।
हालको राजनीतिक परिस्थितिमा आउँदै गरेको प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गर्दै तथा कांग्रेसको महाधिवेशनलाई ध्यानमा राखी यस्तो निर्णय लिनुपरेको थापाले जनाएका छन्। उनी कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन् ।
थापाले पार्टी र राष्ट्रको हितका लागि सक्रिय राजनीतिक गतिविधिमा प्रत्यक्ष रूपमा संलग्न हुनु नै आफूले योगदान दिन सक्ने सबैभन्दा प्रभावकारी माध्यम ठानेको उल्लेख गरेका छन्।
थापाले राजनीतिक मूलधारमै रहेर आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न चाहेकाले राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएको स्पष्ट पारेका छन्। थापा फागुनको निर्वाचनमा लागि धनकुटाबाट सिफारिस भएका छन् । उनी राप्रपा संस्थापक सूर्यबहादुर थापाका छोरा हुन् ।


