तरुण संवाददाता
२० पुष २०८२, आईतवार १६:२२
काराकास । अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास शनिबार शान्त र सुनसान देखिएको छ । बिहान सबेरै गरिएको सैन्य कारबाहीपछि विस्फोटको गन्ध अझै सहरभर फैलिएको थियो भने त्रसित बासिन्दाहरू घटनाको असर बुझ्ने प्रयासमा देखिन्थे ।
राष्ट्रपति निकोलस मादुरोका केही सय समर्थकहरू उनको रिहाइको माग गर्दै जम्मा भए पनि त्यसबाहेक सहरका अधिकांश सडकहरू अस्वाभाविक रूपमा खाली थिए । ६० लाख जनसङ्ख्या भएको सहरकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटले निद्राबाट उछिट्टिएको अनुभव सुनाउँदै आफू भावुक भएको बताइन् ।
स्थानीय समयअनुसार शनिबार बिहान करिब २ बजे दर्जनौँ विस्फोटका आवाज सुनिएको जनाइएको छ । सुरुमा केहीले आतसबाजी ठानेका ती आवाजले झ्यालहरू हल्लिएका थिए र सैनिक विमानहरू घरमाथि उडिरहेका देखिएका थिए । काराकासको प्रमुख सैनिक केन्द्र नजिकको कोचे क्षेत्रमा बस्ने एक बासिन्दाले विमानको आवाज अत्यन्त डरलाग्दो भएको बताए ।
सहरका विभिन्न भागबाट धुवाँका मुस्ला उठेको देखिएको थियो भने वातावरण कुहिरोजस्तै धुवाँले ढाकिएको थियो । प्रत्यक्षदर्शीहरूले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन् ।
आक्रमणपछि मादुरोलाई अमेरिकी विशेष फौजले नियन्त्रणमा लिई न्युयोर्क लगिएको खबर बाहिरिएपछि समर्थकहरू राजधानीमा भेला भएर नाराबाजी गर्न थाले । विश्वविद्यालय प्राध्यापक कातिया ब्रिसेञोले विदेशी सरकारले आएर राष्ट्रपति हटाउनु अस्वीकार्य भएको बताउँदै आक्रोश व्यक्त गरे । प्रदर्शनकारीबाहेक शहरमा सर्वसाधारणको आवतजावत निकै कम देखिन्थ्यो । कालो पोशाकधारी सुरक्षाकर्मीहरू हतियारसहित केन्द्रिय क्षेत्रमा गस्ती गरिरहेका थिए । धेरै पसलहरू बन्द थिए भने केही खुलेका पसलमा सीमित सङ्ख्यामा मात्र ग्राहकलाई प्रवेश दिइएको थियो ।
विस्फोटबाट भएको क्षति मुख्यतया सैनिक संरचनामा सीमित रहेको जनाइएको छ । रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले आवासीय क्षेत्रमा पनि आक्रमण भएको आरोप लगाएका छन् ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देश बाहिर लगिएको केही घन्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् । उनले शनिबार पत्रकारहरूसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको बताए ।
यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ । सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ । तर, कङ्ग्रेसको स्वीकृतिबिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानूनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् ।


