तरुण संवाददाता
२४ पुष २०८२, बिहीबार १७:०३
काठमाडौँ । अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताएका छन् ।
चलचित्रको विषयमा जानकारी दिँदै अभिनेता मल्लले सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने बताए ।
‘चलचित्रको विषयवस्तु केवल टिकटकसँग जोडिएको भए सायद म अभिनय गर्थिन होला, तर त्यहाँ समाज र परिवेश जोडिएको छ । एउटा सामान्य व्यक्तिको भाइरल हुने लालस र त्यसले निम्त्याउने आरोहअबरोह चलचित्रमा समेटिएको छ । भाइरल हुन जति मेहनत गर्नुपर्छ, त्यति नै त्यहाँ टिकिरहन मेहनत गर्नुपर्छ । विद्यमान परिवेशमा दर्शकलाई आकर्षित गर्न चलचित्र सफल हुनेछ,’ उनले भने ।
‘भाइरल गोर्खे’ चलचित्रको पटकथा पढेपछि सबै अभिनेता लोभिने बताउँदै मनोरञ्जन प्रदान गर्ने समयसान्दर्भिक विषयवस्तु समेटिएको पाएपछि प्रस्ताव स्वीकार गरी चलचित्रमा जोडिएको उनले उल्लेख गरे ।
‘भाइरल पनि भन्न नआउने, भाइरस–भाइरस भन्ने एक पात्र भाइरल हुँदासम्मको उसको यात्रा हो । त्यसपछि पनि दर्शकलाई मज्जा आउँछ, मन छुने खालको छ । यसले अहिलेको केही प्रवृतिलाई व्यङ्ग्य पनि गरेको छ’, मल्लले भने ।
अभिनेत्री सृष्टि श्रेष्ठले चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएपछि पटकथा पढ्दा नै यो विषय किन सोचिएन भन्ने लागेको प्रतिक्रिया दिइन् । ‘सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभाव, भाइरल हुन मानिसले के–के गर्छ भन्ने विषयवस्तु कथामा समेटिएका छन् । समय सान्दर्भिक छ, सबै कुरालाई व्याङ्ग्यात्मक रुपमा देखाइएको छ’, उनले भनिन् ।
निगम श्रेष्ठको निर्देशनमा तयार भएको उक्त चलचित्रमा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गरेका छन् ।


