एआईतर्फ एक्सपेङको ठूलो छलाङ

एआईतर्फ एक्सपेङको ठूलो छलाङ तरुण खबर २७ पुष २०८२, आईतवार ११:०४
एआईतर्फ एक्सपेङको ठूलो छलाङ

चीनको अग्रणी विद्युतीय सवारी निर्माता एक्सपेङले आफूलाई अब केवल कार उत्पादन गर्ने कम्पनीका रूपमा सीमित नराखी “फिजिकल आर्टिफिसियल इन्टेलिजेन्स (एआई)” कम्पनीका रूपमा स्थापित गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। कम्पनीले यसै वर्ष रोबोट्याक्सीको सडक परीक्षण सुरु गर्ने र मानवरूपी (ह्युमानोइड) रोबोटको ठूलो मात्रामा उत्पादनतर्फ अघि बढ्ने योजना बनाएको जनाएको छ।

ग्वाङझाउमा आयोजित एक कार्यक्रममा एक्सपेङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हे सियाओपेङले अटो उद्योगमा बढ्दो प्रतिस्पर्धाका बीच कृत्रिम बुद्धिमत्तासँग एकीकृत प्रविधि नै कम्पनीको प्रमुख शक्ति हुने बताए। उनले भने, “हामी अब सस्तो हार्डवेयर बेच्ने साधारण कार कम्पनी बन्न चाहँदैनौं। हाम्रो लक्ष्य विश्वव्यापी पहिचान बोकेको बलियो प्रविधि कम्पनी बन्ने हो।”

हे सियाओपेङका अनुसार एक्सपेङले आफैं विकास गरेको ‘ट्युरिङ’ एआई चिप कम्पनीको मुख्य रणनीतिक हतियार हो, जसले अटोमोबाइल र रोबोटिक्स दुवै क्षेत्रमा प्रतिस्पर्धात्मक अग्रता दिलाउनेछ। रोबोट र अटोमोबाइल दुवै फिजिकल एआईका मुख्य आधार भएकाले यी क्षेत्रमा प्रयोग हुने सेन्सर प्रविधि र हार्डवेयर धेरै हदसम्म समान रहेको उनले बताए। यही कारण अटो निर्माता कम्पनीहरू गोदाम र कारखानामा प्रयोग हुने रोबोट विकासतर्फ आकर्षित भइरहेको उनको भनाइ छ।

एक्सपेङको यो रणनीति टेस्लाका सीईओ एलन मस्कले अघि सारेको रोबोट्याक्सी र मानवरूपी रोबोट विस्तार योजनासँग मिल्दोजुल्दो देखिन्छ। विश्वभर एआईको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा अटो कम्पनीहरू प्रविधि कम्पनीमा रूपान्तरण हुने प्रक्रियामा प्रवेश गरिरहेका छन्।

यसै सन्दर्भमा, चिप निर्माता कम्पनी आर्म होल्डिङ्सले पनि रोबोटिक्स बजारमा आफ्नो उपस्थिति विस्तार गर्न छुट्टै फिजिकल एआई इकाइ स्थापना गरेको जनाएको छ। अर्का चिनियाँ अटो निर्माता ली अटोले सन् २०२३ मै एआई केन्द्रित रणनीति सार्वजनिक गर्दै वार्षिक रूपमा ६ अर्ब युआनभन्दा बढी लगानी गर्दै आएको बताएको थियो।

एक्सपेङको यो घोषणा चीनको अटो बजारमा लामो समयदेखि चलिरहेको मूल्य युद्धका बीच आएको हो, जसले उद्योगको नाफामा दबाब सिर्जना गरिरहेको छ। कार्यक्रममा कम्पनीले चार परिमार्जित कार मोडल सार्वजनिक गर्दै ३डी नेभिगेसन, दृष्टि सीमाभन्दा बाहिरका जोखिम चेतावनी प्रणाली र उन्नत स्वचालित ड्राइभिङ सफ्टवेयरजस्ता नयाँ सुविधामा जोड दिएको छ।

कम्पनीले स्वचालित ड्राइभिङ र मानवरूपी रोबोट विकासका लागि कर्मचारी भर्ना र लगानीसमेत बढाइरहेको जनाएको छ। योजना अनुसार, २०२६ को दोस्रो अर्धवार्षिकदेखि मानवरूपी रोबोटको ठूलो मात्रामा उत्पादन सुरु हुनेछ भने रोबोट्याक्सीको सडक परीक्षण छिट्टै थालिनेछ।

आर्थिक पक्षमा भने एक्सपेङले चालु वर्षको तेस्रो त्रैमासिकमा ५० मिलियन अमेरिकी डलर नोक्सानी बेहोरेको छ। यद्यपि, सीईओ हे सियाओपेङले सन् २०२५ को अन्त्यसम्म कम्पनी नाफा–नोक्सानी बराबरीमा पुग्नेमा आशावादी रहेको बताएका छन्।