कृषि विकास बैंकद्वारा जीवन बचाउने पहल

कृषि विकास बैंकद्वारा जीवन बचाउने पहल तरुण खबर २७ पुष २०८२, आईतवार ११:०७
कृषि विकास बैंकद्वारा जीवन बचाउने पहल

कृषि विकास बैंक लिमिटेडको ५९औँ वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितीले आज बैंकको मुख्य कार्यालय परिसरमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। सामाजिक सेवामार्फत मानव जीवनको संरक्षण गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो।

रगतको अभावका कारण हुने मानव जीवनको क्षतिलाई न्यूनिकरण गर्नु तथा समाजमा सेवा भाव विस्तार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कर्मचारी संघले जनाएको छ। मुख्य कार्यालय समिती अन्तर्गत आयोजित रक्तदान कार्यक्रममा कुल १२१ युनिट रगत संकलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा संकलित रगत देशभरका विभिन्न अस्पताल तथा बिरामीहरूको रगत अभाव पूर्ति गर्न प्रयोग गरिनेछ।

कार्यक्रम कृषि विकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितीका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बैंक, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनाली प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष छगेन्द्र आचार्य, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारी, ग्राहक तथा शुभचिन्तकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि धर्मराज मैनालीले रक्तदान जस्तो मानवीय तथा जीवनदायी कार्यमा सहभागी सबैलाई उच्च प्रशंसा व्यक्त गरे। उनले बैंक र कर्मचारी संघले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

कृषि विकास बैंक कर्मचारी संघ नेपालका अध्यक्ष छगेन्द्र आचार्यले अस्पतालमा रगतको अभावमा पीडामा रहेका बिरामीका लागि यस्तो कार्यक्रम अत्यन्त राहतदायी हुने बताए। उनले ट्रेड युनियनद्वारा सञ्चालन गरिने यस्ता सामाजिक कार्यले समाजमा बैंक तथा ट्रेड युनियनको गरिमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

कर्मचारी संघका अनुसार मुख्य कार्यालय समितीले सुरु गरेको यस अभियानलाई देशव्यापी बनाउने लक्ष्यका साथ कृषि विकास बैंक कर्मचारी संघ नेपालका अन्य प्रदेश समितीहरूले समेत माघ महिनाभित्र विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्नेछन्। बैंकको वार्षिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै गरिएको यो पहलले मानवता र सहकार्यको सन्देश फैलाएको छ।