साना किसान लघुवित्तको सबल प्रगति

साना किसान लघुवित्तको सबल प्रगति तरुण खबर २७ पुष २०८२, आईतवार ११:१६
साना किसान लघुवित्तको सबल प्रगति

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौबीसौँ वार्षिक साधारणसभा पुस २५ गते सफलतापूर्वक सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। यसअनुसार १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा २०८२ आषाढ मसान्तसम्मका सम्पूर्ण वित्तीय विवरणहरू अनुमोदन गरिएको छ। कम्पनीले सो अवधिमा ८७ करोड ५० लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको जानकारी दिइयो।

लेखापरीक्षण गरिएको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाको जारी तथा चुक्ता पुँजी ४ अर्ब ३१ करोड २६ लाख २१ हजार रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ४१ अर्ब ५० करोड ४९ लाख ७३ हजार रुपैयाँ कायम भएको छ। सोही अवधिमा प्रति शेयर आम्दानी २०.२९ रुपैयाँ, प्रति शेयर बुक नेटवर्थ २३९.३८ रुपैयाँ, जम्मा पुँजीमा प्रतिफल ८.४८ प्रतिशत, मूल्य–आम्दानी अनुपात ४३.५९ तथा पर्याप्त पुँजी कोष कायम रहेको कम्पनीले जनाएको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष खेम बहादुर पाठकले ग्रामीण क्षेत्रका साना किसानलाई केन्द्रमा राखेर गरिँदै आएको लगानीलाई अझ प्रभावकारी बनाउँदै संस्थालाई साना किसानहरूका लागि अपरिहार्य वित्तीय संस्थाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले सबैभन्दा पहिले गरीब र किसानको जीवनस्तर उकास्न सके मात्र देशको समग्र अर्थतन्त्र मजबुत हुने धारणा राखे।

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बासु अधिकारीले स्वागत मन्तव्य राख्दै संस्थाले उद्यम तथा उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेको बताए। उनले युवा, महिला र गरीब किसानहरूको आर्थिक सशक्तीकरणका कार्यक्रम सरकार तथा दातृ निकायहरूसँग सहकार्य गर्दै निरन्तर अघि बढाइने प्रतिबद्धता जनाए।

कम्पनीका अनुसार हाल देशका ७७ जिल्लाका ५४६ स्थानीय तहमा फैलिएका १ हजार ४६३ साझेदार संस्थाहरू यस लघुवित्तसँग आबद्ध छन्। ती सहकारी संस्थाहरूले ८८ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको आन्तरिक पूँजी निर्माण तथा परिचालन गरेका छन्। आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा साना किसान विकास लघुवित्तले देशभर ९ लाख ४१ हजार ७३१ साना किसान परिवारलाई लघुवित्त सेवा पुर्‍याउन सफल भएको छ।