१४,७२२ जनाको पीसीआर परीक्षण, उपत्यकामै केन्द्रीत
काडमाडौं । शुक्रबार पनि कोरोना संक्रमितको संख्या बिहीबारको भन्दा झण्डै दोब्बर देखिएको छ । शुक्रबार पनि देशभरका संक्रमितभन्दा राजधानीमा बढी संक्रमित देखिएका छन् । उपत्यकामा शुक्रबार थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २ सय ८०, ललितपुरका १ सय ६२ तथा भक्तपुरका १ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो । हिजो बिहीबार उपत्यकाका तीन जिल्लामा ९ सय ४३ भन्दा बढी कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८ सय १७ जना, भक्तपुरमा ५९ र ललितपुरमा ६८ जना कोरोना संक्रमित थपिएका हुन् ।
शुक्रबार २,७२२ संक्रमित थप भए
शुक्रबार एकै दिन २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको थियो । राजधानी बाहिर ६९ जिल्लामा १ हजार ८४ जना संक्रमित देखिएका छन् । देशभरका संक्रमितमध्ये यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३ हजार ३ सय ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६० हजार ९ सय ९६ पुगेको छ । हाल देशभर २१ हजार २ सय ३४ जना संक्रमित रहेका छन् भने ४ हजार ८ सय ८५ जना क्वारेन्टिनमा छन् । बिहीबार देशभर १ हजार ९ सय ११ जनामा कोरोना पुष्टि भएको छ । १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९११ संक्रमित थप भएका थिए ।
शुक्रबार ११ संक्रमितको निधन
कोरोना भाइरसको संक्रमणबाट शुक्रबार थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ महिला र ७ पुरुष छन् ।
मोरङका २७ वर्षीय पुरुष, ललितपुरका ३२ र ७० वर्षीय पुरुष, भक्तपुरकी ६१ र ५१ वर्षीया महिला, काठमाडौँकी ६७ वर्षीया महिला, मकवानपुरका ७८ वर्षीय पुरुष, रुपन्देहीका ६० वर्षीय पुरुष, बाँकेका ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय २० पुगेको छ । बिहीबार १५ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो ।